भ्रमपूर्ण समाचारको पछि नलाग्न काउन्सिलको आग्रह

डिसी नेपाल
१८ चैत २०७६ २३:३४

काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण समाचारको पछि नलाग्न सम्पूर्णमा अनुरोध गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण सम्बन्धि समाचार प्रकाशन÷प्रशारण गरेकै भरमा अनलाईन सञ्चारमाध्यामलाई नेपाल भित्र बन्द गराएको भन्ने भ्रमपूर्ण समाचार प्रति ध्यानाकार्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिल नेपालले राष्ट्रिय संकटको यस घडीमा मिडिया मोनिटरिङ्गको कामलाई थप गति दिएको छ । २०७६ चैत १० देखि १७ गतेसम्मको अवधिमा बिश्वलाई नै आतंकित बनाइरहेको कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ्ग क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्चारमाध्यमसङ्ग स्पष्टीकरण सोधिएको छ भने अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता÷सूचीकरण नभएका १७ वटा वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो,उजुरी आउनुका साथै स्वअनुगमनबाट समेत सो को पुष्टि भएको हुँदा त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन÷प्रशारण हुन नसक्ने व्यवस्था मिलाइएको छ ।’

नेपालमा दर्ता भएका अनलाईन सञ्चारमाध्यामलाई कुनै पनि रोक नलगाएको काउन्सिलको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा दर्ता वा सूचिकृत भएका २१ सय ७९ वटा अनलाइनहरुको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको तथ्य घाम जत्तिकै छर्लङ्ग छ भने यसबीच काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन,दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गर्दै आइरहेको व्यहोरा पनि सर्वविदितै छ ।’
काउन्सिलले सोलोडोलो सम्पूर्ण अन्लाइन सञ्चारमाध्यामलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएकोले हल्लाको पछि नलाग्न आग्रह समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *