दिल्लीको छोटो यात्रा (भाग-१)

कपिल लोहनी
१२ वैशाख २०८३ ७:५२

नयाँ वर्ष २०८३ को शुरुवातसँगै भारतको राजधानी नयाँ दिल्लीको भ्रमण गर्ने अवसर मिल्यो।

योभन्दा पहिले यानी सन् २०२३ को भारत भ्रमणमा दिल्लीका धेरै क्षेत्र घुम्ने मौका मिलेको थियो। यस पटक मुख्यतयाः एक जना नजिकका नातेदारको स्वास्थ्योपचारको निम्ति दिल्लीको भ्रमणमा निस्केकोले घुमघाम भन्दा पनि अस्पतालतिर ज्यादा समय बिताइयो।

नेपाल वायुसेवा निगमको बिहानको उडानको टिकट खरिद गरेकोले ५ बजे नै तयार भएर विमानस्थल गयौँ। विमानस्थल पुगेपछि विरामीलाई ह्वील चेयरमा भित्र लग्ने बन्दोवस्ती भएकोले आफ्नो चेक इन प्रकृया पनि केही हदसम्म छोट्टिन पुग्यो।

तर अचम्मको कुरा त्यसरी ह्वील चेयरको बन्दोवस्ती निशुल्क हुनु पर्नेमा सोको निम्ति पनि विमानस्थलले राम्रै रकम अशुल्दो रहेछ। शनिबार एकाबिहानै त्यति धेरै अन्तर्राष्ट्रिय उडानहरू नभएकाले होला विमानस्थलको चेक इन, अध्यागमन तथा सुरक्षा इलाकामा पनि नगण्य यात्रुहरू थिए। निकै सजिलोसँग यात्रु प्रतिक्षा हलमा पुग्यौं हामी।

त्रिभुवन विमानस्थल सार्कका अन्य मुलुकका राजधानीमा अवस्थित विमानस्थलहरू (भुटान वाहेक) भन्दा निकै सानो छ, तर पनि हालका दिनमा यो विमानस्थल सुविधाजनक नै हुँदै गएको छ। सफा शौचालय, चौडा यात्रु प्रतिक्षा हल, विश्राम गर्ने ठाउँहरू र निकै गतिशील वाइफाइले गर्दा यात्रुहरूलाई पहिलेको दाँजोमा धेरै सुविधा प्राप्त भएको छ। तर अधिक उडान हुने समयमा भने त्यहाँ खुट्टा राख्ने ठाउँ पनि हुँदैन।

वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या बढी हुने भएकोले यस्तो भीडभाड हुने गरेको हो। नत्र पर्यटक र अन्य यात्रुले मात्र विमानस्थलमा त्यत्तिको भीड हुने थिएन। नेपालमा सेवा सञ्चालन गर्ने अधिकांश विमानसेवाका मुख्य ग्राहक वैदेशिक रोजगारीमा जाने नेपाली नै हुन्।

ठीक समयमा नै नेवानीको दिल्ली उडानको लागि यात्रुहरूलाई विमानतर्फ जाने उद्घोषण भयो। त्यतिबेला पनि हामीसँग ह्वील चेयरमा सवार आफन्त भएकाले विशेष ग्राह्यताका साथ विमानतर्फ जाने सुविधा प्राप्त भयो। ह्वील चेयरको कारण बसको साटो हामी हिँड्दै हवाइजहाजको नजिक पुग्यौँ।

चिसो हावा र खुला ठाउँमा एकछिन त्यसरी हिँड्दा पनि निकै ताजगीको महसुस भयो। उता भारतीय वायुसेवाबाट भारत जान लामो लाम लागेर बसेका यात्रुहरूको सुरक्षा जाँच भने हवाइजहाज चढ्नु भन्दा अघि पनि भारतीय सुरक्षाकर्मीबाटै एक सानो फलामे कक्षमा भइरहेको थियो।

नेपाल वायुसेवा निगमको सन् २०१५ तिर भित्राइएको न्यारो बडी एयरबस ए ३२०। सफा र भव्य नै थियो। केही समय अघिसम्म भनसुनको आधारमा रकम नै नतिरी बिजनेस क्लासमा यात्रा गर्ने राजनीतिक झोलेहरूले गर्दा सो क्लासको रकम भुक्तानी गरेर यात्रा गर्ने यात्रुहरूले निकै असहजता भोग्नु पर्ने अवस्था थियो।

तर हिजोआज त्यो प्रथाको अन्त भएको रहेछ। त्यसैले खाली भए पनि बिजनेस क्लासको सिटमा इकोनोमी क्लासका यात्रुलाई राखिँदैन रहेछ। त्यो राम्रो चलन हो। अन्य ठूला वायुसेवामा यदा कदा इकोनोमी क्लासमा नअटाएर वैकल्पिक रूपमा सिट बुक गर्नेहरूको हितको निम्ति कुनै कुनै भद्र यात्रुलाई इकोनोमी क्लासबाट अपग्रेड गरेर प्रिमियम इकोनोमी वा बिजनेस क्लासमा यात्रा गर्न दिने प्रावधान हुन्छ।

हामी यात्रा गर्ने हवाइजहाजमा अधिकांश यात्रु नेपाली र भारतीय नै थिए भने केही भने युरोप-अमेरिकातिरका जस्ता देखिने गोराहरू पनि थिए। भारतमा अध्ययन गर्ने विद्यार्थी र स्वास्थ्योपचारमा जानेहरू तथा पशुपतिनाथको दर्शन गर्न आउने भारतीयहरू नै धेरै थिए।

तोकिएकै समयमा विमानले साँढे आठ बजे धर्ती छोडेर आकाशिन शुरु ग¥यो। यात्रा अवधिभर नै निकै राम्रो उडान। बिहानीको नास्ता पनि मिठो र स्वस्थकर थियो। न्यारो बडी विमानमा शौचालय चाहिँ सबैभन्दा पछाडि हुने भएकोले अलिक असहजताको सामना गर्नु पर्ने।

हाम्रो यात्राको अघिल्लो दिन भारतको नयाँ दिल्ली लगायत नेपालको पश्चिमी सिमा पारीसम्म भारी वर्षा भएको रहेछ। त्यसैको फलस्वरुप होला आज आकाश निकै खुला थियो। दिल्लीको विमानस्थलमा पुग्दा पनि प्रदूषणरहित घमाइलो वातावरण। मेरो बगलमा बस्ने एकजना परिचित व्यक्तिसँग विभिन्न विषयमा कुरा गर्दा एक घण्टाको समय बितेको पत्तै भएन।

दिल्लीमा बिहानीको तापक्रम ३८ डिग्री सेल्सियस थियो। करिव करिव विराटनगरको गर्मीको औसत तापक्रम जति। तर एक महिना पछि त दिल्लीको तापक्रम हालको भन्दा ५ देखि १० डिग्रीसम्म बढेर निकै गर्मी हुन थाल्दछ।

विमानबाट निस्केर टर्मिनल भवनसम्म जाने हवाई पुल (एरो ब्रिज) को झ्यालबाट बाहिर हेर्दा धेरै कम्पनीका हवाइजहाजहरू पार्क गरेर राखिएका देखियो। हालै निजीकरण गरिएको एयर इन्डियाका विमान पनि थिए त्यहाँ।

दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थल विश्व कै उत्कृष्ठ र अति व्यस्त विमानस्थल मध्येको एक हो। यो विमानस्थल यो क्षेत्रको सबैभन्दा व्यस्त ट्रान्जिट विमानस्थल पनि हो। यहाँबाट वर्षेनी लाखौँ यात्रुहरू विश्वका विभिन्न मुलुकमा आवतजावत गर्दछन्।

भारतको जीएमआर समूहबाट सञ्चालित यो विमानस्थलले धेरै पटक दक्षिण एशियाको उत्कृष्ट विमानस्थलको रूपमा पुरस्किृत हुने मौका पाएको छ। पूर्वाधार र भवनको आधुनिकताले मात्र पुग्दैन। त्यहाँ काम गर्ने कर्मचारीमा पनि उत्तिकै लगतशीलताको आवश्यकता पर्दछ।

यो भन्दा पहिलेको भ्रमणमा त्यहाँका केही कर्मचारीको व्यवहार निकै रुखो हुनुका साथै ढिलासुस्ती हावी भएको पाइएको थियो भने यसपाली भने त्यहाँको मानव संसाधनको व्यवस्थापनमा निकै बदलाव आएको महसुस भयो।

अध्यागमन कार्ड भरिरहने झञ्झटबाट बच्न त्यहाँ निशुल्क वाइफाइमार्फत क्यूआर कोडबाट अध्यागमनको इ-कार्ड भर्ने र त्यहीँको कियोस्क मेसिनबाट त्यसको विवरण प्रिन्ट हुने व्यवस्था गरिएको रहेछ। सहयोगको निम्ति कर्मचारीहरू पनि खटाइएको थियो।

ह्वील चेयरमा बस्ने विरामीसँगको यात्राले गर्दा त्यहाँ पनि एकजना सहयोगी सो विमानस्थल प्रशासनले निशुल्क उपलब्ध गराएर हाम्रो अध्यागमन र सामान बटुल्ने काम सहज रूपमा हुन गयो र हामी छिटै विमानस्थल बाहिर पुग्न सक्यौं।

विमानस्थल बाहिर विभिन्न अनलाइन सेवाका व्यवस्थित ट्याक्सी, बस र मेट्रो रेलबाट शहर जाने विकल्पहरू थिए। हिजोआज पहिले जस्तो यात्रुहरूलाई तान्नै आउने सवारी चालक र यातायात व्यवसायीहरू देखिँदैन रहेछन्।

यो परिवर्तन वास्तवमा दक्षिण एशियाभर नै देखिन थालेको छ। हामीलाई लिन हाम्रो परिवारकी एक सदस्यले आफ्नो सवारीको साधन लिएर आएको भएर हामीलाई निकै सजिलो भयो। उसको निवास विमानस्थलबाट निकै नजिकको वसन्त विहार क्षेत्रको वसन्त कोलोनीमा भएकोले हामी छिटै हाम्रो दिल्लीको वासस्थानमा पुग्यौँ।

यसरी त्यहाँ आफन्त भएकोले हामीले होटेल र ट्याक्सी तथा अन्य धेरै झञ्झटबाट मुक्ति पायौं। आफ्नै घर जसरी आराम गर्न, फ्रिजबाट चिसो पानी झिकेर पिउन र भान्सामा भएका खानाहरू निर्धक्कसँग चाखेर अप्लकालीन रूपमा भोक र प्यास मेटाउन पायौँ तथा एकछिन विछौनामा र सोफामा ढल्किएर टीभी हेर्दै र गफ गर्दै बस्न पनि पायौं।

विमानस्थल तथा राजधानीका मुख्य स्थानहरू सफा भए पनि दिल्लीका अधिकांश भागका सडकमा निकै फोहर र खाल्टाखुल्टी छन्। जताततै फोहरको डङ्गुर देखिन्छ। वातावरणीय प्रदूषण र धुलो पनि अधिक मात्रामा छ। यसो हुनुमा यो शहरको विशाल जनसंख्या र क्षेत्रफल पनि प्रमुख कारक तत्व हुन्।

झण्डै ३ करोड जनसंख्या भएको वृहत् दिल्लीको भित्री भागमा मात्र १ करोड ५० लाख जनसंख्या छ। झनै भारतको राष्ट्रिय राजधानी क्षेत्र (नेशनल क्यापिटल रिजन, एनसीआर) ले चर्चेको करिव ५५,००० वर्ग किलोमिटर क्षेत्र (भुटान ३८,३९४ वर्ग किलोमिटर) को जनसंख्या त ५ करोड भन्दा पनि बढी छ।

यो क्षेत्रभित्र हरियाणा, उत्तर प्रदेश र राजस्थानका केही भाग पनि पर्दछन्। यत्तिका मानिसको दैनिक आवश्यकता परिपुर्तिबाट निस्कने फोहरको परिमाण पनि विशाल नै हुने भयो।

तर पनि राजधानी जस्तो महत्वपूर्ण स्थानलाई जसरी भए पनि सफा र व्यवस्थित राख्नै पर्दछ। यहाँको सरकारले यो दिशामा निकै काम गरेको कुरा विभिन्न सञ्चार माध्यमबाट सुन्नमा भने आइ नै रहन्छ र पहिलेको दाँजोमा व्यापक सुधार पनि भएको छ।

दिउँसोको खाना खाएर सबैजना एकछिन सुस्ताउन थाले। काठमाडौं भन्दा निकै गर्मी यो शहरमा दिउँसोको समयमा त अहिले पनि घामले पोल्ने नै गर्मी हुन्छ। त्यसैले यथेष्ट पानी पिएर पङ्खा र एयर कण्डिशनरको चिसोमा एकछिन सुस्ताए पछि सबै जनाले चनाखो भएको महसुस गर्‍यौं।

आजको हाम्रो प्रमुख काम इन्द्रप्रस्थमा अवस्थित एपोलो अस्पतालमा हाम्रा विरामी आफन्तलाई लगेर प्रारम्भिक जाँच गराउनु थियो। त्यसैले हामी आफ्नो गन्तव्यको लागि निस्कियौँ। गन्तव्य सरिता विहार, दिल्ली-मथुरा रोड, नयाँ दिल्ली। नीजि गाडीमा नै एक घण्टा जतिको बाटो रहेछ।

बसन्त विहार, जहाँ धेरैजसा मुलुकका राजदूतावासहरू छन्, सो क्षेत्र छिचोल्दै हाम्रो मोटरगाडी अगाडि बढ्यो। बाटोमा अनावश्यक रूपमा नै बस, मोटर, अटोरिक्सा र मोटरसाइकल चालकहरूले हर्न बजाई राख्ने, जेब्रा क्रसिङमा पनि बटुवाहरूलाई बाटो नछोड्ने र सकेसम्म रातो बत्ती बल्दा पनि गाडी हुइँक्याउन खोज्ने र कुनै पनि ट्राफिक नियमको पालना नगर्ने अचम्मको चलन देखियो।

दिल्लीका सडकमा काठमाडौँमा जस्तो ट्राफिक प्रहरी पनि बस्दैनन् रहेछ। त्यति विशाल शहरमा यो सम्भव पनि हुँदैन। सायद सीसीटीभीबाट निगरानी राख्छन् होला र सोही प्रविधि मार्फत गलत हँकाईका सवारीसाधनलाई दण्ड र जरिवाना पनि हुन्छ होला। सवारी साधनको संख्या पनि ज्यादै धेरै। कार्यालय समयमा त हाँकी नसक्नुको अस्तव्यस्तता हुँदो रहेछ सडकमा।

एउटा राम्रो कुरा भने हाल दिल्ली परिवहन निगम (डीटीसी) का नयाँ बसहरू अधिकांश विद्युतीय बस रहेछन्। त्यस्तै त्यहाँ सडकमा चल्ने धेरै नीजि गाडीहरू विद्युतीय शक्तिबाट चल्ने खालका रहेछन्। यो कुराले मनमा अति नै आनन्द दिलायो। भारत पनि विस्तारै विद्युतीय परिवहनलाई बढावा दिँदै अघि बढिरहेको छ।

सन् २०३० सम्ममा ३० प्रतिशत जति सबै प्रकारका सवारीका साधन विद्युतीय हुने आंकडा र लक्ष्य भारतको छ। यातायातका साधनको उत्पादन स्वदेशमा नै हुने भएकोले भारतलाई विद्युतीय परिवहन उत्पादन गर्न र भएका पुरानालाई विद्युतीय परिवहनमा परिणत गर्दै जान गाह्रो पर्दैन होला।

दिल्लीमा २०२८ अप्रिल १ देखि पेट्रोलबाट चल्ने नयाँ गाडीको दर्ता नै नहुने र सन् २०२७ जनवरी १ देखि नै विद्युतीय ट्याम्पो मात्र दर्ता हुने नियम बनिसकेको रहेछ। मुलुकभरको ८० लाख विद्युतीय सवारी साधन मध्ये दिल्लीमा हाल करिव ५ लाख यानी कुल सवारी साधनको ६ प्रतिशत विद्युतीय परिवहन गुड्ने गरेका रहेछन्।

दिल्ली सरकारले त आफ्नो विद्युतीय परिवहन नीति २०२६-३० मा ३० लाख रुपैयाँ सम्मका विद्युतीय परिवहनमा शत प्रतिशत दर्ता शुल्क र सडक कर मिनाहाको प्रस्ताव गरेको रहेछ। पुराना गाडीको दर्ता खारेज गरेर नयाँ विद्युतीय गाडी खरिद गर्न चाहनेलाई पनि १ लाख रुपैयाँ कम गर्ने नीति दिल्ली सरकारको रहेछ।

अस्पतालमा बोलाएको समयभन्दा केही अगाडि नै हामी अस्पताल परिसरमा पुग्यौँ। तर त्यहाँ गाडी पार्क गर्न पनि निकै हम्मे पर्‍यो। पार्किङ स्थल ठूलै भए पनि त्यहाँ आउने मानिसहरूको चाप बढी हुने भएर नै होला झण्डै आधा घण्टाको पर्खाई पछि मात्र हामीले पार्किङ स्थल पायौँ।

सन् १९८३ मा स्थापना भएको यो अस्पतालको हाल ७५ वटा शाखाहरू भारतभर छन्। यहाँ भारतीय वाहेक विश्वभरबाट विरामीहरू विभिन्न रोगको उपचारको निम्ति आउँदा रहेछन्।

यो अस्पतालको खासगरी मुटु रोगको विशेषज्ञता रहेछ। तर मिर्गौला, कलेजो रोग र क्यान्सरको उपचारमा पनि यो अस्पतालको ठूलै लोकप्रियता रहेछ। त्यसैले होला अस्पतालको भित्री लब्बीमा पुग्दा नै ठूलो भीडको सामना गर्नु परेको।

हामी थोरै जनघनत्व भएको मुलुकबाट आएका मानिसलाई त सो अस्पतालमा पुग्दा पनि कहाली लागेर आउँदो रहेछ। कहाँ जाने, कसलाई सम्पर्क गर्ने, कुन काउन्टरमा गएर नाम लेखाउने र कता गएर कुर्ने। मानिसहरूको भीडले एकछिन त नर्भस नै बनायो।

हामीले काठमाडौंबाट सम्पर्क गरेको व्यक्तिलाई फोन गरे पछि उ बल्ल हाम्रो मद्दतको निम्ति आइपुग्यो। उसैले हामीलाई विदेशीहरूको निम्ति बनाइएको वातानुकुलित प्रतिक्षा स्थलमा लगेर राख्यो। त्यहाँ रहेका अधिकांश विरामी र उनका मानिसहरू अफ्रिकी मुलुकबाट आएका रहेछन्।

त्यहाँ एकछिन बस्दा आफु कुनै अफ्रिकी मुलुकमा पुगे जस्तो भान भयो। तर तिनीहरूको वर्ण र मुहार मिले जस्तो भए पनि पहिरन भने भिन्दा भिन्दै प्रकारको थियो- आआफ्नो मुलुक र परिवेश मुताविकको। मानिसहरू भने निकै भद्र स्वभावका थिए। त्यस्तै पूर्वी युरोप, दक्षिण पूर्वी एसिया र नेपालका मानिसहरू पनि धेरै थिए।

निकै बेरको प्रतिक्षा पछि हाम्रो पालो आयो। नजिकै रहेको विरामी जाँच्ने हलमा हामी गयौँ। त्यहाँ पनि प्रतिक्षामा बसिरहेका धेरै मानिस। छेउ छेउमा डाक्टरहरूको कक्ष र बीचमा प्रतिक्षा गर्ने ठाउँ। डाक्टरसँगको जाँच र सल्लाह (कन्सल्टेशन) को शुल्क एउटा निकै भीड र अव्यवस्थित काउन्टरमा बुझायौँ।

हाँस्नै नजान्ने जस्ता रुखा कर्मचारी। एक पटक डाक्टरलाई भेटेको शुल्क ३ हजार रुपैयाँ जम्मा ग¥यौँ। तर हाम्रो पालो झण्डै ३५ जना अन्य विरामी पछि मात्र आउने कुरा त्यहाँको कर्मचारीले बतायो।

हामीले नेपालबाट नै समय मिलाएर आएको, विरामीलाई धेरै बेरसम्म कुर्न गाह्रो पर्छ भन्यौँ र हाम्रो सहयोगको निम्ति खटिएको कर्मचारीले पनि विशेष आग्रह गरे पछि भने करिव एक घण्टा पछि हाम्रो पालो आयो। निकै अनुभवी चिकित्सकहरू रहेछन् त्यहाँ।

धेरै चलेकोले भारत र विभिन्न मुलुकबाट आएका बिरामीको विशाल भीड लाग्नाले अस्पतालले थेग्न नसकेको जस्तो अनुभूति हुँदो रहेछ। तर विमारीको उपचार चाहिँ त्यहाँ ज्यादै राम्रो हुन्छ रे। विदेशीहरूलाई त्यहीँ रहेका अतिथि गृहहरूमा बस्ने बन्दोवस्ती पनि रहेछ। अस्पतालको लब्बी इलाकामा नै औषधी पसल, प्याथोलोजी ल्याब र विभिन्न प्रकारका रेष्टुरेन्ट र अन्य आवश्यक सुविधा पनि।

वास्तवमा नेपालका निजी अस्पतालहरूले भारतका यस्तै प्रख्यात अस्पतालहरूबाट सिकेर उस्तै प्रकारको सुविधा प्रदान गर्दै आएका रहेछन्। खासगरी काठमाडौँमा रहेका ठूला नीजि अस्पतालहरूमा पनि रकम तिरे अनुसार राम्रै सेवा उपलब्ध हुन्छ भने नेपालका चिकित्सकहरू पनि निकै अनुभवी छन्।

त्यसैले सानातिना विमारी पर्दा काठमाडौँका अस्पतालमा नै उपचार गर्दा राम्रो हुने देखियो। कुनै ठूलै रोगको उपचार जुन नेपालमा त्यति सम्भव छैन, त्यस्तोको लागि मात्र नेपालका चिकित्सकहरूसँगको परामर्शको आधारमा भारतका ठूला अस्पताल वा अन्य नजिकका मुलुकमा जानु बेस हुन्छ।

हिजोआज क्यान्सर, मिर्गौला र कलेजोको प्रत्यारोपणदेखि मुटु सम्बन्धी जटील रोग र आँखाको उपचार पनि नेपालमा नै राम्ररी हुने गरेकोले नेपाल नजानिँदो तवरले स्वास्थ्योपचारको हबको रूपमा पनि विकसित हुँदै गएको छ।

त्यस्ता उपचारको निम्ति भारतबाट विशेषज्ञ चिकित्सकहरू बरोबर बोलाइरहेका हुन्छन् नेपालका अस्पतालहरूले। विभिन्न विकसित मुलुकले आफ्ना नागरिकहरूको निम्ति नेपाल भ्रमणको एड्भाइजरी जारी गर्दा नेपालमा स्वास्थ्योपचारको राम्रो व्यवस्था रहेको कुरा उल्लेख गर्ने गरेका छन्।

करिव ६ घण्टा अस्पतालमा बिताए पछि हामी घर फर्किने क्रममा निकै भोकाएकोले वसन्त विहार क्षेत्रको एउटा मलमा अवस्थित हल्दीरामको ठूलो दोकान (रेष्टुरेन्ट)मा बसेर चाट, समोसा, दही भल्ला, पानी पुरी, दुधबरी र चिया–कफीको आनन्द लियौँ। अनि घर फर्किएर आजलाई विश्राम पाइयो।

क्रमशः

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *