नेप्सेले सिडिएससीबाट किन फिर्ता बोलायो प्रविन पन्दाकलाई ?

डिसी नेपाल
१२ वैशाख २०८३ ८:३२

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को सञ्चालक पदबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपछि यस निर्णयको कारणबारे चासो बढेको छ।

वैशाख ११ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो। निर्णयअनुसार नेप्सेले सिडिएससीलाई औपचारिक पत्रसमेत पठाइसकेको जनाएको छ।

नेप्सेको सहायक कम्पनी सिडिएससीमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं अध्यक्षका रूपमा रहेका छन् भने पन्दाक सञ्चालकको रूपमा कार्यरत थिइन् । तर, पन्दाक २०८१ पुसमा सिडिएससीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार वर्षका लागि नियुक्त भइसकेकी छन्।

यही दोहोरो भूमिकाले विवाद सिर्जना गरेको स्रोतहरू बताउँछन्। विशेषगरी संस्थापक र सर्वसाधारण शेयरका लागि फरक-फरक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) लागू गर्ने विषयमा नेप्से र सिडिएससीबीच मतभेद बढ्दै गएको थियो। पन्दाकले उक्त व्यवस्थालाई अघि बढाउँदै धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ नेपाल धितोपत्र बोर्डमा पेश गरेकी थिइन्।

तर हालसम्म स्वीकृति नपाएको अवस्था छ। दुई फरक आईएसआईएनको विषयमा देखिएको असहमति र नीतिगत मतभेदनै पन्दाकलाई फिर्ता बोलाउने मुख्य कारण हुनसक्ने जानकारहरूको विश्लेषण छ।

यसबीच, सिडिएससीमा फिर्ता बोलाउने निर्णयको पत्र पाउँदा पनि पन्दाकले उक्त पत्र बुझ्न अस्वीकार गरेको बताइएको छ। स्रोतका अनुसार उनले आफूमाथि भएको निर्णयलाई ‘अनुचित’ भन्दै कानूनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छन्।

नेप्सेको यस निर्णयसँगै सिडिएससीको नेतृत्व र नीतिगत दिशाबारे थप अन्योल सिर्जना भएको छ। अब पन्दाकको सीईओ पदमा निरन्तरता रहने वा नहुने भन्ने प्रश्न पनि उठेको छ, जसले पूँजीबजारका सरोकारवालामा थप चासो बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *