पुस्तक दिवसमा अक्षरसँग मेरो जीवन-यात्रा

ज्ञानेन्द्र विवश
१२ वैशाख २०८३ ७:३६

मानव सभ्यताको विकासक्रममा विचार र अनुभवलाई जीवन्त राख्ने सबैभन्दा शक्तिशाली माध्यम भनेको ‘पुस्तक’ हो। भनिन्छ- ‘एउटा राम्रो पुस्तक सयौँ असल साथीहरू बराबर हुन्छ।’ यो भनाइ मात्र होइन, एउटा गहिरो सत्य हो। साथीहरू समय र परिस्थितिसँगै फेरिन सक्छन्, तर पुस्तकमा सँगालिएका अक्षर र विचारहरू सधैँ अटल रहन्छन्, जसले पाठकलाई हरपल मार्गनिर्देश गरिरहन्छ।

ज्ञानको उपहार दिनु भन्नु मेरो विचारमा शिक्षा-दीक्षासँगै ‘पुस्तक उपहार’ सबैभन्दा ‘उत्तम उपहार’ हो। जसलाई कसैले चोर्न, लुट्न सक्दैन। आफूसँगै जीवनभरि रहिरहन्छ। त्यसले जीवनलाई सधैँ सत्मार्गमा लागिरहन निर्देशित गरिरहन्छ।

हामी प्रायः उत्सव र विशेष अवसरहरूमा भौतिक वस्तुहरू उपहार दिने गर्छौं। तर, पुस्तकको उपहार ती सबैभन्दा भिन्न र मूल्यवान् हुन्छन्। भौतिक उपहारहरू समयसँगै पुरानो भएर जान्छन् वा नासिन्छन्, तर एउटा पुस्तक उपहार दिनु भनेको कसैलाई ज्ञानको नयाँ संसार र सोच्ने नयाँ दृष्टिकोण उपहार दिनु हो। पुस्तकले मानिसको मस्तिष्कलाई मात्र होइन, हृदयलाई पनि सुसंस्कृत बनाउँछ।

त्यसैले, आफ्नो जन्म दिनमा नयाँ पुस्तक प्रकाशन गर्नु तथा कसैको जन्म दिनमा पुस्तक उपहार दिनु आफैँमा पुस्तक प्रेमको जीवन्त नमूना हो। यही क्रममा विश्व पुस्तक दिवसको सन्दर्भलाई लिएर गरिएका पुस्तकको महत्व, आवश्यकताका विविध पक्षमा गरिएका चर्चा-परिचर्चाहरू पनि वस्तुतः पुस्तक प्रेमकै उदाहरण हुन्। साथै यसै अवसरमा आफ्ना शुभचिन्तकहरूलाई अर्पण गरिने पुस्तक उपहार पनि पुस्तक प्रेमको अर्को ताजा उदाहरण हो।

अन्ततः पुस्तक उपहार दिने बानी एउटा सुन्दर सन्देश प्रवाहको प्रारम्भ हो। ‘ज्ञान बाँडेर नै बढ्छ’ भन्ने चिन्तन यसमा समाहित भएको हुन्छ। एउटा पुस्तक, सयौँ मित्र बराबर हुन्छ।

एक असल मित्रले संकटमा सही सल्लाह दिन्छ र एक्लोपनमा साथ दिन्छ, एउटा राम्रो पुस्तकले पनि पाठकलाई त्यसरी नै डोर्‍याउँछ। पुस्तकले हामीलाई भूगोलका सीमाहरूभन्दा माथि उठाएर नयाँ ठाउँको भ्रमण गराउँछ, इतिहासका पानाहरू पल्टाएर बितेका कुरा सिकाउँछ र भविष्यको उज्ज्वल चित्र कोर्न प्रेरित गर्छ। जब मानिस एक्लो हुन्छ, पुस्तकले उसलाई कहिल्यै एक्लो हुन दिँदैन। यसले मौनतामा पनि संवाद गर्छ र अज्ञानताको अँध्यारोलाई चिरेर चेतनाको प्रकाश छर्छ।

यही कारण पनि पठन संस्कृतिको महत्व र आवश्यकता निकै हुन्छ। हिजोआज प्रविधिको विकासले त्यसप्रति मानवीय झुकाव धेरै हुँदा पठन प्रवृत्तिमा ह्रास आएको छ। यो निकै दुखद पाटो हो।

यी पंक्तिकारको अनुभवमा पनि चालीस र पचासको दशक पठन-संकृतिको उर्बर समय थिए। प्रकाशित कृतिहरू पाठकसम्म पुग्न कुनै कठिनाइ थिएन। हुलाक सेवाले पाठकसम्म पुस्तक पुर्‍याइदिन्थ्यो। स्वयं पाठक नै खोजी-खोजी पुस्तक पढ्थे।

अहिलेको प्रविधि र सामाजिक सञ्जालको युगमा मानिसहरू छिटो र सतही जानकारीका पछि दौडिरहेका छन्। यस्तो समयमा पुस्तकसँगको सामिप्यता झन् बढ्नुपर्ने देखिन्छ।

पुस्तकले हामीलाई गहिरिएर सोच्न र धैर्यवान् बन्न सिकाउँछ। अस्तिमात्रै विश्व पुस्तक दिवसको सन्दर्भमा उपहार स्वरूप पुस्तक आदान–प्रदान गरियो। यसरी पुस्तक भनेको समाजमा हराउँदै गएको ‘पठन संस्कृति’ लाई पुनर्जीवित गर्नु पनि हो।

अन्ततः, पुस्तक उपहार दिनु भनेको विचारको बिउ रोप्नु पनि हो। यस किसिमको औकातअनुसार सौगात हस्तान्तरणमा झल्किएको हार्दिकताले प्रमाणित गर्छ, हामीले एकअर्कालाई भौतिक सुखका साधन मात्र होइन, बौद्धिक विकासका आधारहरू पनि दिनुपर्छ। एउटा राम्रो पुस्तकले व्यक्तिको चरित्र निर्माण मात्र गर्दैन, एउटा सभ्य समाजको जग पनि बसाल्छ।

‘पुरानो कोट लगाउ। नयाँ पुस्तक किन।’ भनेर उहिल्यै दार्शनिक थोरोले त्यत्तिकै कहाँ भनेका हुन् र ?

वस्तवमा पुस्तक भन्नु ज्ञानको जीवन्त उपहार र शाश्वत मित्र पनि हो। त्यसैले, म मेरा सिर्जना-सन्तान आफ्ना प्रियजनलाई ‘पुस्तक उपहार’ दिने परम्परालाई अझ सुदृढ बनाउँछु। अक्षरहरूसँगको नाता कहिल्यै टुट्न दिने छैन। अक्षरहरूसँगको मेरो जीवन-यात्रा यसरी नै बाँचिरहोस्।

मेरो विनम्र निवेदन छ- ‘अक्षरहरू बाँचिरहुन्, विचारहरू नाचिरहुन् !’

कसैको घरमा पुस्तकको संग्रह हुनु उसको बौद्धिकताको मापन हो। पुस्तक भएको घर ज्ञानले भरिएकाु हुन्छ भन्ने मान्यता छ। त्यसैले घरमै छ गर्ने काम। घरमै किताबका चाङ। पढन्तेलाई पालैपालो पर्खिबसेका पुस्तकका चाङ पुस्तकालयहरू !

तर कसले किताब छुने, कसले पाना पल्टाउने ? पढ्ने बानी हराइसक्यो, लेख्ने बानी पनि मरिसक्यो। म कहिलेकाहीँ सोच्छु- यी किताब कति रुँदा हुन कसैले नपढिदिँदा ! पुराना पुस्तकालयहरू ति त बन्दै भइसके।

रहेका पुस्तकालयभित्र पुग्दा पुस्तकहरू माकुराको जालोले जेलिएर रहेको देख्दा धेरै दुःख लाग्छ। पुस्तक दिवसका अवसरमा पुस्तकालय व्यवस्थापनमा पनि ध्यान गए विचरा पुस्तकले निन्याउरो मुहारमा उज्यालो लाली भर्न पाउँथे।

कापीकलमको दुखेसो पनि यस्तै। उहिले कति पढियो, कति लेखियो। कतिपय किताब कण्ठैसम्म पारियो। आज कसले किताब किन्ने, कसले पढ्ने ? आफ्नै पनि पढ्ने बानी घटिसक्यो। किताब नै भरपर्दाे साथी हो तर ‘पठन संस्कृति’ नै पलायन भएर गइसक्यो। अहिले त कापीकलम, मसी केही नचाहिने समय आयो।

बोल्यो कि खरर टाइप भयो। केही सोध्नु परे कसले पुस्तकका ठेली पल्टाओस्। कसले शब्दकोशका पानामा आँखा डुबाओस्। छिनभरमै प्रविधिले खोजेको भन्दा बढी जानकारी दिन्छ।

यद्यपि मैले लेख्ने अक्षर मेरा भावनाका भाव हुन्। तर तिनमा मैले देख्ने दृश्यहरूकै प्रभावका प्रतिविम्बिहरू हुन्। यिनै प्रभाव, प्रेरणा र प्रकारान्तरले तिनकै प्रतिविम्बहरू नै वास्तवमा अभिव्यक्तिका हरफहरू हुन्। ती हरफमा मैले मलाई भेट्छु। समाज, समय र प्रकृतिलाई देख्छु।

पुस्तक दिवसको यस विशेष दिनमा आफ्नै सिर्जनाका थुङ्गाहरू अगाडि राखेर हेर्दै गर्दा मनमा एक असीम शान्ति र सन्तोषको लहर पैदा भएको छ। एउटा लेखकका लागि आफ्ना पुस्तकहरू केवल मसी र कागजको सँगालो मात्र कहाँ हुन् र ! यी त जीवनका भोगाइ, कलाप्रतिको अनुराग र ‘आँखा पछ्याउँदै’ हिँडेका पाइलाहरूले कोरेका सजीव डोबहरू हुन्।

यी आवरणहरूभित्र मैले जीवन र जगत्लाई जसरी बुझेँ, त्यसैलाई उतार्ने इमानदार प्रयत्न गरेको छु। कहिले नेपाली कला र वास्तुकलाको ‘इन्द्रेणी सौन्दर्य’ लाई उन्न खोजेको छु, त कहिले अग्रज कलाकारहरूका साधनालाई अक्षरको स्वरूप दिएको छु।

नियात्राकारका रूपमा उकाली-ओराली गर्दैगर्दा, सगरमाथाको फेदी अनि तेङ्बोचेको त्यो मनोरम सन्ध्यामा प्रकृतिको जुन विराट रूपलाई मैले आत्मसात् गरेँ, ती अनुभूतिहरू पनि कतै न कतै यिनै पानाहरूमा श्वास फेरिरहेका छन्।

सिर्जनाको यो लामो यात्रा पक्कै पनि एक्लै तय गरिएको होइन। अग्रज साहित्यकार तथा मूर्धन्य व्यक्तित्वहरूको त्यो स्नेहपूर्ण मार्गदर्शन, सान्निध्य र पाठकहरूले दिनुभएको अगाध मायाले नै मलाई निरन्तर लेखिरहने ऊर्जा दिएको छ। आज मेरा अगाडि सजिएका यी पुस्तकहरू तिनै प्रेरणा र आशीर्वादका मूर्त रूप हुन्।
पु

स्तकले हामीलाई संसार चिनाउँछ, समाजको ऐना देखाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा-आफैंलाई चिन्न सिकाउँछ। अक्षरहरूको यो यात्रा अनवरत चलिरहोस्। हामी सबैमा अध्ययन गर्ने बानीको विकास होस् र साहित्यले हाम्रो समाजलाई सधैँ उज्यालोतिर डोर्‍याइरहोस्।

यति हुँदाहुँदै विश्व पुस्तक दिवसको अवसरमा सम्पूर्ण आदरणीय पाठक, सहयात्री स्रष्टा, समालोचक तथा साहित्यानुरागीहरूमा हार्दिक शुभकामना !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *