उद्योग र कृषिका लागि लकडाउन खुकुलो, ठूला आयोजनाले काम सुरु गर्ने
काठमाडौं। सरकारले लकडाउनका प्रावधान खुकुलो बनाउने निर्णय गरेसँगै ठूला आयोजनाहरुको काम सुरु गर्ने भएका छन्।
बिहीबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाइ ठूला आयोजनाहरुको काम अघि बढाउने निर्णय गरेको थियो।
आयोजनाहरुले बाहिरबाट कामदार लैजान भने पाउँदैन। कम्पनीभित्रै बसेका कामदारबाट आयोजनाहरुले काम अघि बढाउन सक्छन्।
निर्माणाधिन ठूला आयोजनाहरुले आयोजनास्थलमा रहेका क्वाटरमा बसेका कामदारमार्फत काम सुरु गर्ने जनाएका छन्।
माथिल्लो तामाकोसी आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठका अनुसार आयोजनास्थलमा रहेका एक हजार स्वदेशी तथा विदेशी कामदारमार्फत काम सुरु गर्न सकिने जानकारी दिए। काम अघि बढाउनका लागि डिजिललगायत अत्याश्यक निर्माण सामाग्री व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने उनले बताए।
यसैगरी मेलम्ची खानेपानी आयोजनामा पनि एक सय हाराहारीमा कामदार रहेकाले उनीहरुमार्फत काम अघि बढाउने तयारी गरिएको छ।
आयोजनाहरुले बाहिरका कामदार आयोजनास्थल जान नदिने र आयोजनास्थलमै भएका कामदारलाई स्वास्थ्य जाँचको व्यवस्था गरी काम सुरु गर्ने सकिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
खाद्य सामाग्री, स्वास्थ्य सामाग्री उत्पादन गर्ने कम्पनीहरुले पनि कामदारको स्वाथ्य सतर्कता अपनाई उद्योग संचालन गर्न सक्छन्।
यसैगरी ग्रामीण क्षेत्रमा कृषिको काम समेत गर्न सकिने गरी लकडाउन खुल्ला गरिएको छ। अहिल ग्रामीण क्षेत्रमा चैते धान रोप्ने र गहुँ लगायतका हिउदे बाँली उत्पादन गर्ने समय भएको छ। कृषिका लागि किसानहरुले स्थानिय कामदारको मात्र उपयोग गर्नुपर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment