फ्रान्समा धारिलो हतियारद्वारा एक व्यक्तिले अन्धाधुन्ध गरेको आक्रमणमा दुईको मृत्यु

डिसी नेपाल
२२ चैत २०७६ २०:३२

पेरिस । फ्रान्सको दक्षिणपूर्वमा रहेको सहरमा एक व्यक्तिले शनिबार धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य चार जना गम्भिर घाइते बनेका छन् ।

प्रहरीले आक्रमणका पछाडि आतङ्कवादी समूहको संलग्नतालाई खारेज गरेको छ । आक्रमण किन र कसले गराएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणकारीले ग्रेनोबल नजिकैको सहर रोमान्स सरआइजरस्थित एक सुर्तीजन्य उत्पादन विक्री गर्ने खुद्रा पसलमा प्रवेश गरी पसल धनी र त्यहाँ भएका उनका ग्राहकमाथि धारीलो हतियारद्वारा आक्रमण गरेको बुझिएको छ । आक्रमणकारीले उक्तस्थानपछि फेरि एक मासु पसलमा पुगी थप व्यक्तिमाथि आक्रमण गरेको प्रहरीले प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएको छ । आक्रमणको उद्देश्य अझै थाहा हुन सकेको छैन ।

आक्रमणकारी सुडानमा जन्मिएका ३३ वर्षीय युवक रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसैबीच राष्ट्रपति इम्यानुयल म्याक्रोँले आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका, “यतिवेला म आक्रमण भएको रोमान्स सरआइजरवासीहरूसँग पीडा व्यक्त गर्न चाहन्छु । मृतकप्रति सम्मान व्यक्तगर्दै उनीहरूका परिवारजनलाई समवेदना व्यक्त गर्दछु । घाइतेहरूको उपचारको सहज व्यवस्थाका लागि पनि स्थानीय प्रशासनलाई आग्रह गर्दछु ।”

राष्ट्रपतिले घटनाबारे छानविन गरी छिट्टै तथ्य बाहिर आउनेमा उनले मृतकका परिवार तथा घाइतेजनलाई विश्वस्त पारे ।

विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणका कारण फ्रान्समा अहिले लकडाउन भैरहेको छ भने अति आवश्यकीय कामबाहेक अन्यथा घरबाहिर ननिस्कन यहाँको प्रशासनले नागरिकलाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *