चितवनमा कोभिड–१९ को प्रयोगशाला सञ्चालनमा

डिसी नेपाल
२४ चैत २०७६ ११:१९

भरतपुर । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा स्थापना गरिएको कोभिड–१९ को प्रयोगशाला आइतबारबाट सञ्चालनमा आएको छ।

प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरेकी हुन् ।

पहिलो दिन भएकाले एउटा नमूनामात्र प्रयोगशालामा परीक्षण गरिएको छ । सो नमूना प्रदेश परीक्षण कार्यालय हेटौँडाको प्रयोगशालामा समेत पठाइएको छ । प्रयोगशाला शुभारम्भको अवसरमा प्रतिनिधि सभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला सञ्चालनमा आएको बताए । उनले चितवन र आसपासका बिरामीको नमूना परीक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताए ।

भरतपुर महानगरपालिका प्रमुख दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्चस्तरको प्रयोगशाला सञ्चालनमा आएको बताए । कोरोना अस्थायी अस्पताल निर्माणपछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताए। यहीँ प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने उनको भनाइ थियो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आएसँगै रोग नियन्त्रणमा प्रभावकारी हुने बताए । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको हो।

प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा. कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिक तयारी अवस्थामा रहेका छन् । एक ‘सिफ्ट’मा ९० वटा नमूना परीक्षण गर्न सकिने उनले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको भन्दै उहाँले क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्ने गरी प्रयोगशाला स्थापना गरिएको बताए ।

प्रयोगशालामा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेजअफ मेडिकल साइन्सेस र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकरण ल्याइएको छ।

त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फतका निकायबाट उपलब्ध भएका उपकरण र रसायन प्रयोगमा ल्याइएको छ।

राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा भएका उपकरणलाई उच्चतम प्रयोग गरी कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सो अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक विमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रूपमा उच्चस्तरको प्रयोगशाला तयार भएको बताए ।

कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजले नमूना टेकु पठाउँदै आएकामा केही दिनअघिबाट हेटौँडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेर गएको थियो।

प्रतिपक्षी नेपाली काँग्रेस चितवनले विज्ञप्तिनै जारी गरेर सरोकारपक्षलाई दवाब दिएको थियो। यो प्रयोगशालापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *