आमा मरेको भन्दै ढाँटेर सवारी पास लिई ३० जनाभन्दा बढी बस लिएर हिँड्न खोजेपछि…

डिसी नेपाल
२५ चैत २०७६ ८:४२

काठमाडौं। लकडाउनका कारण अत्यावश्यक बाहेक सवारी साधन संचालन बन्द भएको समयमा आफ्नै आमा मरेको झुटो विवरण पेश गरी सवारी पास लिएर बस नै रिजर्भ गरी ३० जनाभन्दा बढी हिँड्न खोज्दा ट्राफिक प्रहरीले रोकेको छ । यसरी झुटो विवरण पेश गरी सवारी पास लिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आमाको मृत्यु भएको झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरी, ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुटो विवरण पेश गरेर बसकै लागि सवारी पास हात पारेका थिए । तर, प्रहरीको जाँचको क्रममा उनीहरुको झुटको पोल खुल्यो । सवारी पास लिइएको बसमा ३० जनाभन्दा धेरै जान लागेका थिए ।

सप्तरीको सुरुङ.गा नगरपालिका ६ का शुभनारायण चौधरी ललितपुरको पुल्चोकमा बस्दै आएका छन् । उनैले आफ्नै आमाको मृत्यु भएको झुटो विवरण पेश गरी जिल्ला प्रशासनका कर्मचारीलाई झुक्याएर सवारी पास हात पारेका थिए । ठूलो संख्यामा मानिसहरु जान लागेको थाहा पाएपछि प्रहरीलाई शंका लाग्यो ।

प्रहरीले आमाको मृत्यु भएकै भए त्यसको पुष्टि गर्नका लागि गाउँमा भएका दाजु र पिताको नम्बर माग्यो । तर, उनीहरु झुटो बोलेको हुँदा यति सोध्नेबित्तिकै उनीहरु अनेक बहाना बनाउन थाले । उनीहरुले कुरा घुमाउन थालेपछि प्रहरीले कडाइका साथ सोधपुछ गर्दा उनीहरुको पोल खुलेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *