आफ्नै नागरिकसरह उपचार गर्छु भनेको यूएईले अस्पतालमा ठाउँ नभएको भन्दै भर्ना लिएन

बिनेश खनाल
२६ चैत २०७६ १३:२८

काठमाडौँ । मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरे।

टेलिफोन वार्तामा युवराज शेख मोहम्मदलले नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीले ट्वीट गर्दै जानकारी गराए । प्रधानमन्त्रीले यस विषयमा यूएई सरकारको प्रशंसा गर्दै धन्यवाद पनि दिएका थिए ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि युवराजबाट नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको आफ्नो फेसबुकमा लेखे। उनले कोरोना संक्रमित नेपालीहरुको उपचार यूएई सरकारले नै निःशुल्क रुपमा गरिरहेको बताएका थिए ।

तर, त्यही यूएईमा कोरोना संक्रमित ६ जना नेपाली भने उपचार नपाएर कोठा भित्रै छट्पटाएर बसिरहेका छन् । यतिसम्म कि उनीहरुसँगै अहिलेसम्म संक्रमित नदेखिएका नेपाली पनि छन् तर उनीहरुलाई छुट्याएर राख्नेतर्फ समेत कुनै पहल भएको छैन । बरु पहिले संक्रमित नभएकाहरु क्रमशः संक्रमित हुँदै गएका छन् ।

आफ्नो देशका नागरिकसरह नै व्यवहार र उपचार गछौँ भनेर प्रतिबद्धता जनाएको यूएईले उनीहरुलाई अस्पातलमा ठाउँ नभएको भन्दै कोठामै बस्न भनेको छ । साथमै बस्दै आएका ७ जना नेपाली ट्याक्सी चालक संक्रमित भएका हुन् जसमध्ये १ जनालाई मात्र अस्पतालमा राखिएको छ । उनीहरु अल अरेविया ट्याक्सी एलएलसीमा कार्यररत छन् ।

दुबई सिटीको एक बिल्डिङमा २ ओटा कोठा भाडामा लिएर १२ जना नेपाली संगै बस्दै आएका थिए । सुरुमा ३ जना संक्रमित भेटिएका थिए । तर, उनीहरुलाई छुट्याउनेतर्फ पहल नहुँदा साथमा रहेका अरु पनि संक्रमित हुँदै गए । अहिले ७ जना संक्रमित भइसकेका छन् ।

बाँकी रहेका ५ जनामध्ये ४ जनाको रिपोर्ट आउन बाँकी छ भने १ जनाको नेगेटिभ रिपोर्ट आएको छ । बाँकी अहिलेसम्म संक्रमित देखिएका छैनन् तर उनीहरुको रिपोर्ट पोजेटिभ आउने खतरा कायमै छ । रिपोर्ट नेगेटिभ नै आए पनि जुनसुकै बेला संक्रमित हुन सक्ने सम्भावना पनि उत्तिकै छ । नेगेटिभ रिपोर्ट आएका १ जनामा पनि फेरि संक्रमण देखिने अत्याधिक सम्भावना छ किनकि उनीहरु एकसाथ बस्छन् र उनीहरुलाई छुट्याएर राख्ने कुनै पहल भएको छैन ।

उनीहरु २ वटा कोठामा संक्रमित र स्वस्थ सँगै बस्न बाध्य छन् । उनीहरुले प्रयोग गर्ने भान्सा र बाथरुम पनि एउटै हो । अहिले यी दुई कोठामध्ये एउटा कोठामा बस्ने ४ जना र अर्को कोठामा बस्ने २ जना संक्रमित छन् । अर्का एक जना झापाका नेपाली भने अस्पतालमा छन् ।

संक्रमणको आशंका भएपछि उनीहरुले अस्पतालमा गएर परीक्षण गराउन सुरु गरेका थिए । सबैभन्दा पहिले यी १२ जनामध्ये ३ जनामा संक्रमण भेटिएको थियो । तर, दुबई स्वास्थ्य विभागले भने यीमध्ये १ जनालाई मात्र अस्पतालमा भर्ना गरेर राख्यो । बाँकी २ जनालाई अस्पतालमा ठाउँ खाली नभएको भन्दै घरमै बस्न भनियो ।

संक्रमितको साथमै रहेका अन्य नेपालीहरु पनि आफूहरु संक्रमित भएको आशंकामा फेरि परीक्षण गराउन गएका थिए । त्यसको २ दिनपछि थप १ जनामा संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट अर्का एकजना संक्रमित थपिएका थिए । मंगलबार फेरि थप २ जनाको पनि पोजेटिभ रिपोर्ट आएको भन्दै उनीहरुलाई फोन आएको छ ।

स्वास्थ्य विभागले यी सबैलाई अस्पतालमा ठाउँ नभएको कारण देखाउँदै भर्ना गर्न नसकिने बताएको छ। उनीहरुले पटक–पटक स्वास्थ्य विभागमा फोन गरेर आफ्नो स्थितिबारे जानकारी गराएको तर विभागले अस्पतालमा ठाउँ नभएको कारण देखाउँदै भर्ना गर्न अस्वीकार गरेको डिसीनेपालसँग संक्रमित एक नेपालीले बताए ।

उनका अनुसार अहिले दुबई स्वास्थ्य विभागले पटक–पटक फोन नगर्न भनेको छ । ‘मंगलबार फेरि मेरो र अर्काे एक जना साथीको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै संक्रमित जम्मा ७ जना भयौँ’, उनले भने ‘हामी सबैलाई अस्पतालमा ठाउँ नभएको भन्दै घरमै बस्न भनिएको छ । कोठामै आराम गर्नु, सिकिस्तै भएमात्रै सम्पर्क गर्नु भनेको छ ।’ उनका अनुसार स्वास्थ्य विभागले आएर कुनै पनि औषधी खाउ भनेर दिएको छैन । सास फेर्न समस्या भयो भने मात्रै कल गर्न भनेको छ ।

१२ नेपालीमध्ये झापाका एक जना अस्पतालमा छन् । उनीबाहेक मोरङका २ जना, उदयपुर, काठमाडौँ, धादिङ र झापाका अर्का १ जना संक्रमित छन् । उनीहरु कोठामै छन् । नवलपरासीका १ जनाको भने नेगेटिभ रिपोर्ट आएको छ । सुनसरी र मोरङका १–१ जना तथा सिन्धुपाल्चोकका २ जनाको रिपोर्ट आउन बाँकी छ ।

उनीहरुका अनुसार कोठामा भएका संक्रमित ६ जनाकै अवस्था सामान्य छ । ‘हल्का ज्वरो आएको छ, तर बढेको भने छैन । हामीसँग ज्वरो नाप्ने थर्मोमिटर पनि छैन । जटिल समस्या अहिलेसम्म देखिएको छैन,’ संक्रमित एक नेपालीले भने ‘हामी बाहिर हिँड्न मिल्दैन । त्यस्तो केही पनि कुरा बाहिरबाट किनेर ल्याउने अवस्था छैन । कोठामा तातो पानी तताउने खाने अनि अनलाइनबाट खानेकुरा मगाउने गरेका छौँ ।’

दुबई स्वास्थ्य विभागले आत्तिनु पर्दैन आफै ठिक हुन्छ भनेर आश्वसान दिए पनि उनीहरुले आफूहरुलाई डर लागिरहेको बताएका छन् । ‘आफै ठिक हुने रोग भन्छ । औषधी उपचार नगरी आफै ठिक हुने भए संसारमा यत्ति धेरै मान्छै मर्ने थिए होला र ?’ एक संक्रमितले भने ।

उनीहरु सबै जनाले आफूहरु संक्रमित भएको कुरा नेपालमा परिवारलाई जानकारी गराइसकेका छन् । ‘यस्तो कुरा भन्न त मन हुँदैन । तर, बाध्यता हुँदो रहेछ । भोलि केही तलमाथि भैहाल्यो भने फेरि किन भनेन भन्ने हुन्छ,’ उनी थप्छन् ‘आत्तिनु पर्दैन भनेर हामीले बारम्बार फोन गरेर परिवारलाई अपडेट गराइरहेका हुन्छौँ । उहाँहरुले चिन्ता गर्नुहुन्छ । अझ उपचार पाएको छैन भन्दा निकै तनाव हुँदो रहेछ परिवारमा ।’ नेपालबाट परिवार तथा आफन्तहरुले पनि आफूहरुको उपचार तथा उद्धारहको लागि विभिन्न निकायहरुमा गएर पहल गर्न थालिसकेको उनले बताए ।

उनीहरु सबै विगत २२ दिनदेखि कामविहीन छन् । सबैजनासँग भएको पैसा सकिन थालेको छ । अहिलेलाई समस्या नभए पनि अबको केहीदिन पछि पैसाको अभाव हुने उनीहरुले बताएका छन् । यसअघि तलब आएको पैसा सबै घरमा पठाएर खर्चको लागि सीमित मात्र राखेको उनीहरुको भनाइ छ ।

‘काम नगरेको यति धेरै दिन भैसक्योे । यसअघिको तलब सबै घरमा पठाएका थियौँ। एक्स्ट्रा पैसा राख्ने कुरा हुँदैन,’ उनले सुनाए ‘कम्पनीको म्यानेजरलाई फोन गरेर हाम्रो समस्या बताउँदा पनि केही गर्न सकिन्न आफै व्यवस्था गर्नु भन्छ । आगामी दिनमा निकै समस्या हुन्छ जस्तो छ ।’ कतिपयले त नेपालबाट परिवारलाई पैसा पठाइदिन भनिसकेको उनले बताए । केहीले भने नेपालमा भएका परिवालाई पैसा भुक्तान गर्न भनेर दुबईमै भएका साथीभाईसँग सापटी माग्न थालेका छन् ।

उनीहरुले जतिसक्दो चाँडो दूतावासले पहल गरिदिनुपर्ने माग गरेका छन् । दूतावासले पनि आश्वासन मात्रै दिएको उनीहरुको गुनासो छ । ‘हिजो दूतावासबाट आफैले कल गर्नु भएको थियो । नआत्तिनु प्रयास गर्दै छौँ भन्नुहुन्छ । उहाँहरुले तपाइहरुले पनि कल गर्नुहोस् । हामी पनि गछौँ भन्नु भएको छ,’ उनी अगाडि भन्छन् ‘हामीले गरेर हुने भए त बारम्बार फोन गरेकै थियौँ नि । अहिले त उल्टै धेरै फोन नगर्न भनेर भनिएको छ ।’

यूएईको परराष्ट्र मन्त्रालयबाट ११ जना नेपालीलाई मात्र कोरोनाको संक्रमण भएको भनेर आबुधाबीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ । उनीहरुमध्ये २ जना उपचारपछि निको भैसकेका छन् । यूएईमा १ जना नेपाली महिलाको मृत्यु समेत भएको छ । त्यसको आधिकारिक रुपमा जानकारी पनि अहिले सम्म दूतावासलाई आएको छैन । परराष्ट्र मन्त्रालयले दूतावासलाई उपलब्ध गराएको तथ्यांकमा संक्रमित भएका ११ जनामध्ये निको भएका २ जना बाहेक सबै अस्पतालमा उपचारत छन् ।

सोमबार मात्र बरदुबईमा घरेलु कामदारका रुपमा कार्यरत देवदह–६ रुपन्देहीकी एक नेपाली महिलाको कोेरोनाको संक्रमणबाट मृत्यु भएको थियो । तर, सम्बन्धित निकायबाट आधिकारिक जानकारी नआउँदा दूतावसले त्यसको हालसम्म पुष्टि गर्न सकेको छैन ।

कोरोनाबाट मत्यु भएको रिपोर्ट अस्पतालले परिवारलाई दिएको थियो । सोही रिपोर्टको आधारमा मृत्यु भएको खवर पाए पनि मन्त्रालयले आधिकारिक जानकारी उपलब्ध नगराउँदा दूतावासले अहिले सम्म पुष्टि गर्न नसकेको हो ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता नै नखुलाउने गरेको अबुधाबीस्थित नेपाली दूतावासको भनाइ छ । ‘यहाँको सरकारले पहिला संक्रमितको संख्या थोरै हुँदा विरामीको राष्ट्रियताको बारेमा पनि जानकारी दिँदै आएको थियो । तर, पछिल्ला दिनहरुमा संक्रमितको संख्या दैनिक तीन/चार सयको दरले बढ्न थालेपछि राष्ट्रियताबारे पनि जानकारी दिन छाडेको छ,’ नेपाली राजदूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले भनिन् ।

यूएईको सम्बन्धित निकायबाट जानकारी नगराइए पनि दूतावासले आफ्नै किसिमले नेपालीहरुको विवरण संकलन गर्न थालिसकेको उनको भनाइ छ । उनका अनुसार अहिले दूतावासमा कोरोनाको विषयलाई लिएर विभिन्न गुनासोहरु आउने गरेका छन् । उनले दूतावासमा धेरै नेपालीले कोरोनासँग मिल्दाजुल्दा अन्य रोगका लक्षण देखिए पनि अत्तालिएर फोन तथा विभिन्न माध्यमबाट गुनासो गर्ने गरेको बताइन् । दूतावासले गुनासोहरुको व्यवस्थापन गरिरहेको पनि उनको भनाइ छ ।

ती संक्रमित ट्याक्सी चालकको विषयमा आफूहरुले निरन्तर पहल गरिरहेको उनको भनाई छ । उनीहरुको बारेमा हालसम्म परराष्ट्र मन्त्रालयले आफूहरुलाई कुनै जानकारी नदिएको उनले बताइन् ।

धितालले संक्रमण पुष्टि हुनेबित्तिकै अथवा लक्षण देखिनासाथ स्वास्थ्य विभागबाट लिन नआउँदा नेपालीहरु आत्तिने गरेको भन्दै नआत्तिन आग्रह पनि गरिन्। ‘संक्रमण पुष्टि हुनेबित्तिकै अथवा लक्षण देखिनासाथ स्वास्थ्य विभागबाट लिन आउँदैनन् । अस्पतालमा पनि बेडहरुको व्यवस्थापन गर्नुपर्छ । सबै कुराहरु मिलाउँदा २/३ दिन लाग्न सक्छ,’ उनले भनिन् ‘यहाँको सरकारलाई पनि यो ठूलो चिन्ताको विषय हो । सही किसिमले विरामीको व्यवस्थापन नगर्दा अरुमा सर्ने जोखिम पनि हुन्छ । यहाँको स्वास्थ्य विभाग संवेदनशील छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *