दैलेखमा सबै क्वारेनटाइन खाली, सबैको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
६ वैशाख २०७७ १९:१९

दैलेख । दैलेखका स्थानीय तहमा रहेका क्वारेन्टाइन खाली भएका छन् । क्वारेन्टाइनमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि समय पूरा गरी उनीहरु घर फर्किएपछि क्वारेन्टाइन खाली भएका हुन् । भारतलगायत अन्य मुलुकबाट आएका २ सय ७७ जनाले १८ दिन बस्नुपर्ने मापदण्ड पूरा गरेका र उनीहरुमा कोरोना सङ्क्रमण नभएको जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए ।

उनीहरु गत चैत महिनामा घर फर्किएका थिए । उनका अनुसार उनीहरूको स्वाब परीक्षण तथा आरडिटी परीक्षण विधि दुवै रिपोर्ट नेगेटिभ आएको हो । चामुण्डा विन्द्रासैनी नगरपालिकामा १ सय २०, दुल्लु नगरपालिकामा २०, आठबीस नगरपालिकामा ८३, डुङ्गेश्वर गाउँपालिकामा छ, भगवतीमाई गाउँपालिकामा सात, महाबु गाउँपालिकामा ३४ र नौमूले गाउँपालिकामा एक जना गरी कूल २ सय ७७ जनालाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राखिएको रेग्मीले बताए ।

‘शुक्रबार मात्र १६ जनाको रिपोर्ट नेगेटिभ आउँदा उनीहरूलाई आफ्नै घरमा जान अनुमति दिएपछि क्वारेन्टाइन रिक्त भएका हुन्’, उनले भने, ‘उनीहरुलाई घरमा सुरक्षित बस्न र कुनै समस्या आए स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा जानकारी गराउन सुझावसहित आग्रहसमेत गरिएको छ ।’

दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका गरी ७ सय ९ श्ययाका क्वारेन्टाइन र ७४ श्ययाका आइसोलेसन तयार गरिएको थियो भने भारतबाट घरमा फर्केका १ हजार ४ सय ६२ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । शुक्रबारदेखि क्वारेन्टाइन खाली भए पनि कसैलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखा परे उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *