पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरी क्वारेन्टाइनमा

डिसी नेपाल
९ वैशाख २०७७ ७:५१

पोखरा । पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आएकी उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुगेकी हुन् ।

उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

उनका श्रीमान् पनि सँगै छन् । उनीहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ ।

उनलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताए ।

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताए ।

क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उनको भनाइ छ । बागलुङमा उनीजस्तै ५२ मजदूरको आइतबार उद्धार गरिएको थियो ।

उनीहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताए ।

पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताए ।

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए।

‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियौँ, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौंँ’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भने, ‘घरै गए खेती गरेर खाऔंँला।’ रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *