जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण आजदेखि बन्द

डिसी नेपाल
१२ वैशाख २०७७ १९:२०

धनुषा । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण आजदेखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए ।

सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेशिनले नेगेटिभ देखाएको थियो । जबकि ती किशोरकै स्वाब थप परीक्षण गर्दा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो । सोही कारण जनकपुरको पिसिआर मेशिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ ।

जनकपुर प्रयोगशालाका इञ्चार्ज रामविनय साह भन्छन्, “सर्लाहीको किशोरको घटनाले मेशिनमाथि आशङ्का उत्पन्न भएको छ, त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौँ ।” उनले हालसम्म १०० भन्दाबढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए । त्यही मेशिनले नेगेटिभ देखाएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकटवा बस्ने १४ वर्षीय बालकमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।

किशोरको गत ६ गते सर्लाहीको हरकटवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको ¥यापिड टेस्टमा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा रहेको पिसिआर (स्वाब टेस्ट) मेशिनमा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

प्रादेशिक अस्पतालको पिसिआर टेस्ट नेगेटिभ आएपछि आइसोलेसनबाट फिर्ता गरिएका बालकलाई भने हरकट्वास्थित गाउँपालिकाको क्वारेन्टाइनमा नै राखिएको थियो। पुनः राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । चैत २३ गते भारतको नयाँदिल्लीबाट उनी गाउँ हरकट्वा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *