तपाईंको कर्तुत कुन दफाको हो पूर्व आईजीपी सा’ब ?

डिसी नेपाल
१३ वैशाख २०७७ ९:५६

काठमाडौं। प्रहरी महानिरीक्षक पदकै बेइज्यत हुने गरी सत्तारुढ गुटलाई गुन लगाउन विपक्षी दलका सांसद लकडाउनका समयमा काठमाडौं ल्याउन अहोरात्र खटिएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द खनालको कर्तुतलाई नेपालको कानूनले कुन दर्जामा राखेको छ ? अहिले उनले अपहरण नै गरेको हो वा अपहरण गरेको होइन साथीमात्रै भइदिएको हो भन्ने वहस चलेको छ।

उनले नै स्वीकार गरेको तथ्य हेरौं। उनले विभिन्न संचारमाध्यममा आफूहरु काठमाडौंबाट रातारात गरेर सर्लाही पुगेको र संघीय समाजवादीका सांसद डा.सुरेन्द्र यादवलाई लिएर काठमाडौं आई मेरियट होटलमा पुर्याएको स्वीकार गरेका छन्।

कानूनले के भन्छ ?
मुलुकी अपराध संहिता ऐन २०७४ को भाग(२), परिच्छेद – १७ ले  अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर भनेर निम्न कुरालाई मानेको छ।
दफा २११. अपहरण गर्न नहुने

१) कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन हुदैन ।

२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछ –

क) कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा।

२१२. शरीर बन्धक लिन नहुने (१) कसैले कसैको शरीर बन्धक लिन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरीविना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरीविना बल प्रयोग गरी वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ।

संघीय समाजवादी पार्टी फुटाउनका लागि सांसद यादवलाई पूर्व आईजीपी स्वयं गई गाडीमा हालेर ल्याइएको घटना अपहरण हो कि होइन? पीडित भनिएका सांसदले सार्वजानिक गरेको बयान हेरौं।

सत्ता भाेग गर्ने लाेभमा अपराध गर्दा  तपाइँले चाँहि कानुन भाेग्नु पर्दैन र?

उनले आफूलाई जवर्जस्ती गरी दवाव दिएर आईजीपीसमेत सम्मिलित तीनजनाको टोलीले काठमाडौं ल्याएर मेरियट होटलमा राखेको र त्यहाँबाट मध्यराति आफू भाग्न सफल भएको संचारमाध्यमहरुलाई बताएका छन्। तर, उनले लिखितरुपमा कहीँ कतै आईजीपीबिरुद्ध अपहरणको उजुरी दिएका छैनन्। के पीडितले लिखित उजुरी नदिएसम्म अपहरण गरेको मानिँदैन त?

के भन्छ कानुन ?

सबैभन्दा पहिला पीडित भनिएको व्यक्ति सुरेन्द्र यादव के भन्छन् भन्ने महत्वपूर्ण कुरा हो र उनले प्रहरीसमक्ष मौखिक वा लिखित उजुरी गराए कि गराएनन् वा उनको परिवार आफन्त वा उनको पार्टीले प्रहरीसमक्ष कुनै पनि माध्यमबाट उजुरी गरे वा गरेनन् भन्ने प्रश्न मुख्य हो।

यसको साथ साथै बिभिन्न संचार माध्यमहरुमा आएको कुरालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ,सुरेन्द्र यादवको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले अपहरण भएको दावी ट्विटरमार्फत सोही दिन गरे। पार्टी अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रहरी प्रमुखले अपहरण गरेको भन्ने सम्मको ट्विट गरेको अवस्था छ।

जनकपुरवाट काठमाडौं रातारात ल्याइएको र नक्सालस्थित मेरियट होटलमा राखिएको र २०७७ बैशाख ११ गते विहान अरुको आँखा छली भागी सुरेन्द्र यादव आफ्नो पार्टीको सम्पर्कमा पुगेको यादवले नै बताइसकेका छन्।

पीडितले उजुरी नदिए अपहरण हुन्न ?

फौजदारी अपराध सम्बन्धमा पीडितले नै उजुरी गर्नुपर्छ भन्ने छैन । यस्तो गम्भीर प्रकृतिको अपराधमा प्रहरीले संचार माध्यमबाट जानकारी पाएको कुराको सत्य तथ्य छानविन गरी पीडितले उजुरी नदिए पनि प्रहरी प्रतिबेदनको आधारमा मुद्धा चलाउन सक्छ।

यो घटनामा संलग्न भएका अपहरणकारी प्रहरी प्रमुख भैसकेको व्यक्ति भएको हुँदा शक्तिशाली भएको कारण डर,त्रासको कारण पीडितले उजुरी नदिने अवस्था छ। यस्तो अवस्थामा प्रहरीले प्रमाणको भेरिफिकेशन गर्नु पर्ने हुन्छ।

त्यो कसरी गर्ने त?

लकडाउनको अवस्था भएको हुदा सामान्य अवस्थामा घरवाट बाहिर ननिस्कनु पर्ने बेलामा सर्वेन्द्र खनाललगायत अन्य संधिग्द व्यक्तिहरु काठमाडौबाट जनकपुर जानु पर्ने कारण के थियो? र, उनीहरु कति बजे गए र कति बजे काठमाडौ फिर्ता भए भन्ने कुरा संलग्न भनिएका व्यक्तिहरुको मोबाइलको कलवाईज लोकेशन हेरेमा प्रमाणित हुन्छ।

काठमाडौदेखि जनकपुरसम्म पर्ने बाटोको सिसिटिभी फुटेज चेक गर्न सकिन्छ। प्रमाणकै लागि होटल मेरियटको सिसिटिभी फुटेज लगायत कल डिटेर रिपोर्ट, कलवाइज लोकेसन र बीटीएसलगायतको अनुसन्धानबाट सर्वेन्द्र खनाल लगायत पीडितको त्यहाँ उपस्थिति प्रमाणित गर्दछ।

सुरेन्द्र यादव होटलबाट अरुको आँखा छली त्यहाबाट उम्की भागी पार्टीको सम्पर्कमा पुग्नुबाट समेत उनलाई छलकपट, डर धाक धम्की वा उनको इच्छाविपरीत ल्याइएको हो भन्ने कुरा पुष्टि हुन्छ र यी कुराहरु अपहरणको परिभाषाभित्र पर्ने भएको हुँदा सम्लग्नहरु जति सुकै शक्तिशाली भएता पनि कार्वाहीको भागिदार ठहरिन्छन्, ठहरिनुपर्दछ।  सत्ता भाेग गर्ने लाेभमा अपराध गर्दा  तपाइँले चाँहि कानुन भाेग्नु पर्दैन र?

बाबुरामसँग आँट छ ?

यदि बाबुराम भट्टराईसँग आँट छ भने उनले पार्टीका तर्फबाट प्रहरीमा अपहरणसम्बन्धी उजुरी दिन सक्छन्। पीडित सांसदले डरले उजुरी दिन नसकेको अवस्थामा पार्टी अध्यक्ष भट्टराईको उजुरीका आधारमा पनि प्रहरीले छानविन प्रकृया अघि बढाउन सक्छ।

यसमा राजनीतिक फन्डामात्र गर्न खोजेको हो भने त अलग कुरा हो यदि बाबुराम राजनीतिको अपराधीकरणका बिरुद्ध नै हुन् भने उनले उजुरी किन दिएनन् भन्ने प्रश्न पनि उठेको छ।

प्रहरीले तथ्यको भेरीफाई गरी तत्काल प्रमाण संकलन गरी प्रहरी प्रतिवेदनको आधारमा मुद्धा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गरी संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान गर्नलाई नेपालको फौजदारी कानूनले बाटो स्पष्ट दिएको छ।

 




प्रतिक्रिया

2 thoughts on “तपाईंको कर्तुत कुन दफाको हो पूर्व आईजीपी सा’ब ?

  1. बाबूराम भट्टराई , हाम्रा सर्वेन्द खनाल संग मात्रै हैना सबै संग पौठे जोरि खेल्नी। सर्वेन्द खनालसंग बाबूराम भट्टराईले सकनी ? बाबूराम भट्टराई मान्छे मारेर प्रधानमंत्री भएको र सर्वेन्द खनाल आफै प्रहरीको महानिरीक्षक भका । बाबूराम भट्टराई , प्रचन्डे भनेका कसै संग पनि मिल्दैनन।

  2. काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।
    अध्यादेशले ४ दिन खायो अब यो बिषयले कति दिन खाने हो !
    यदि अपहरण हो भने मुद्दा दिनुपर्यो नि होइन भने आफुले भने बमोजिम नहुदाँ अर्काको बेइज्जत गर्न पाइन्छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *