के उत्तर कोरियाकी प्रथम महिला शासक बन्दैछिन् किम यो जोंग ? दाजुभन्दा खतरनाक मानिन्छिन्

डिसी नेपाल
१८ वैशाख २०७७ ११:२६
20
Shares

काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको खराब स्वास्थ्यको अड्कालबाजीका बीच उत्तर कोरियामा किमको उत्तराधिकारीको विषयमा अनुमान पनि गर्न थालिएको छ । अनुमान यो कुरामा बढी केन्द्रित छ कि यदि किमलाई केही भइहाल्यो भने उनको उत्तराधिकारी को हुनेछ ?

यस विषयमा तत्कालका लागि दुई नाम बढी चर्चामा छन् । यी दुईमध्ये एक किमकी बहिनी किम यो जोंग हुन् भने अर्की किमकी पत्नी री सोल जू हुन् । जानकारहरुका अनुसार यी दुईको नाम चर्चामा भए पनि पल्ला भने किमकी बहिनी किम यो जोंगको भारी छ । यदि यस्तो भएमा किम यो जोंग उत्तर कोरियाकी प्रथम महिला सर्वोच्च नेता हुनेछिन् ।

को हुन् किम यो जोंग ?

उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जोंग इलका ७ सन्तानमध्ये किम यो जोंग सबेभन्दा कान्छी हुन् । किम जोंग इलले ५ विवाह गरेका थिए । अहिलेका सर्वोच्च नेता किम जोंग उन र किम यो जोंग दुवै तेस्री पत्नीका सन्तान हुन् अर्थात यी दुवैकी आमा पनि एउटै हुन् । मातापिता दुवै एउटै भएकोले पनि यी दुवै सानैदेखि एक अर्काको निकै नजिक छन् ।

यही ११ अप्रिलमा किम जोंग उनले आफ्नी बहिनीलाई उत्तराधिकारी बनाउने संकेत गरेका थिए । त्यतिबेला उत्तर कोरियाको पोलिटब्यूरोको बैठकमा उनले आफ्नी बहिनीको नाम बैकल्पिक सदस्यको रुपमा तय गरेका थिए । बहिनीलाई पोलिटब्यूरोको वैकल्पिक सदस्य बनाउने घोषणा स्वयं किमले गरेका थिए । किम सार्वजनिक रुपमा देखिएको पछिल्लो दिन पनि त्यही थियो । त्यस दिनपछि किम सार्वजनिक रुपमा देखिएका छैनन् ।

किम जोंग उनकी छायाँजस्तै रहन्छिन् किम यो जोंग

सर्वोच्च नेता किम जोंग उन आफ्नो देशमा हुँदा किम यो जोंग उनको साथमा हुन्छिन् । जब उनी दक्षिण कोरिया जान्छन् त्यतिबेला पनि यो जोंग उनको अघिपछि नै हुन्छिन् । जब किम जोंगले सिंगापुरमा अमेरिकी राष्ट्रपतिलाई भेटेका थिए त्यतिबेला पनि यो जोंग उनको पछिपछि नै थिइन् । किम जोंगको साथमा जुनसुकै बेला छायाजस्तै रहने उनकी पत्नी री सोल नभइ उनकी बहिनी यो जोंग हुन् ।

किम जोंग कतिबेला, कहाँ कोसँग भेट्दैछन् भन्ने कुरा यो जोंगको अनुमति बिना तय हुँदैन । किम जोंगको हरेक बैठकको रुपरेखा यो जोंगले तयार गर्छिन् । जुन ठाउँमा किम जोंग जान सक्दैनन्, त्यहाँ उनको ठाउँमा यो जोंगले उत्तर कोरियाको प्रतिनिधित्व गर्छिन् । यहाँसम्म कि अमेरिकी राष्ट्रपतिसँग किम जोंगको बैठकका लागि पनि यो जोंगले महत्वपूर्ण भूमिका निभाएकी थिइन् । यिनै पक्षलाईका कारण किम यो जोंग उत्तर कोरियाकी प्रथम महिला सर्वोच्च नेता बन्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेताको कुर्सी र किम यो जोंगको बीचमा एउटा रोडा त्यतिबेला पनि हुनेछ किनकि उत्तर कोरिया अतित्वमा आएदेखि यो सार्वोच्च पदमा कुनै महिला पुगेका छैनन् । तर, उत्तर कोरियामा कहिले के हुन्छ भन्ने कुराको अनुमान गर्नै मुस्किल छ । अहिले अझै गम्भीर प्रश्न हो के किम यो जोंगको हातमा उत्तर कोरिया सुरक्षित रहन्छ ? के उत्तर कोरियाले बनाएका ६ परमाणु बमको स्विच किम यो जोंको हातमा गयो भने विश्व सुरक्षित रहन सक्छ ? यी प्रश्न उठ्नुको पछाडिको कारण हो – उत्तर कोरियामा किम यो जोंगलाई किम जोंग उनभन्दा खतरनाक, कडा र क्रुर मानिन्छ ।

खतरनाक र क्रुर

ब्रिटिश अखबार द मिररका अनुसार जानकारहरुले किम यो जोंग अत्यन्तै क्रुर भएको भन्दै चेतावनी दिएका छन् । भनिन्छ, किम यो जोंग पार्टीका नेताहरुलाई आफ्नो अगाडि सम्मान र डरका साथ पेश हुन आदेश दिन्छिन् । उत्तर कोरियाको मिडियाले सधैं उनको बारे उल्लेख गर्छ किनकि उनलाई भाइस डाइरेक्टरको पद नदिइएको भए पनि हैसियत भने त्यही हो ।

अर्गनाइजेशन एण्ड गाइडेन्स डिपार्टमेन्टमा किम यो जोंगको बद्दो कदले उनलाई वर्कर्स पार्टीका ब्युरोक्र्याटहरुको नजरमा नम्बर २ बनाएको छ । अर्गनाइजेशन एण्ड गाइडेन्स डिपार्टमेन्टमा उनले अहमियत पाउनु यो कुराको प्रमाण पनि हो कि कैयौं वर्षदेखि उनलाई यसको लागि तयार गरिँदै आइएको छ कि किम जोंग उनलाइ केही भयो भने यो जोंग उनको स्थान लिनको लागि तयार रहुन् ।

यद्यपि यो जोंगले सधैं आफ्ना दाजुको पछाडि रहेरै आफ्नो स्थान बनाएकी हुन् । उनले आफ्ना दाजुको अगाडि आएर कुनै किसिमको प्रतिस्पर्धा सृृजना गर्ने कोसिस गरिनन् । बरु विश्वको अगाडि दाजुको सकारातमक छवि बनाउने कोसिस पनि गरिन् । किम जोंगले पनि बहिनीको कदलाई बेलाबेलामा बढाएका छन् । किम यो जोंग उत्तर कोरियाका अहम रणनीतिक र कूटनैतिक मुद्दामा आफ्नो राय राख्ने गर्छिन् ।

किम यो जोंग कूटनैतिक रुपमा धारणा राख्न र स्पष्ट बोलेर अरुलाई प्रभावित पार्न पनि सक्षम छिन् । उत्तर कोरियाको लाइभ फायर मिलिट्री अभ्यासको दक्षिण कोरियाले विरोध गर्दा किम यो जोंगले भनेकी थिइन् ‘डराएका कुकुरहरु भुकिरहेका छन् ।’ यसअघि किम यो जोंगले सार्वजनिक रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्र पठाएकोमा प्रशंशा पनि गरेकी थिइन् । उनले उत्तर कोरिया र अमेरिकाबीच सम्बनध सुधार हुने आशा पनि व्यक्त गरेकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *