राहत वितरणमा विवाद भएपछि छानविन समिति गठन

डिसी नेपाल
१९ वैशाख २०७७ २१:४१

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वितरण गरिएको राहतमा ब्यापक गुनासो आउन थालेपछि महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सोको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गठन गरेका छन् ।

महानगर प्रमुखले सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुणकुमार महतोको नेतृत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका हुन् । ४ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने उक्त ३ सदस्यीय समितिमा लेखापरीक्षक हरिशङ्करप्रसाद कुर्मी र योजना महाशाखाका सुमन श्रेष्ठ रहेका छन्। उक्त समितिले महानगरले पठाएको ब्राण्डबाहेकको अन्य ब्राण्डको बोरामा समस्या देखिएको विषयमा पनि छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउने नगरप्रमुख सरावगीले बताए ।

अन्य कुनै वडामा राहत लगेको तर ती राहत नबाँडेर बेचेको, खाएको, हिनामिना गरेकोजस्ता गुनासा आएकाले यस्ता सबै गतिविधिलाई समेत छानबिनको दायरामा ल्याइने उनको भनाइ छ । वडा नं १४ मा महानगरपालिकाले राहत बाँड्न पठाएको चामल गुणस्तरहीन भेटिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसहितको टोलीले गोदाममा छापा मारेको थियो ।

सो टोलीले गोदाममा भण्डारण गरी राखिएको चामलको नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालमा पठाएको छ । गोदाममा रहेको चामलमध्ये केही बोराबाट नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुर पठाइएको सहायक प्रजिअ बस्नेतले बताए।

वडा नम्बर १४ मा राहत बाँड्न पठाएको ९७५ केजी चामलमध्ये केही बोराको चामल गुणस्तरहीन रहेको र केही बोरामा अङ्कित तौलभन्दा कम तौल चामल भेटिएपछि वडाध्यक्ष भरतप्रसाद कुर्मीले राहत वितरण रोकेका थिए । राहत वितरणका लागि चामलको बोरा खोलेर झोलामा प्याकिङ गर्ने क्रममा न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट महानगरपालिकाले खरिद गरेको ९५० किलो चामलमध्ये केही बोराभित्रको चामल डल्लो परेको भेटिएकाले विवाद उत्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *