स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव

डिसी नेपाल
२३ वैशाख २०७७ ९:५८

बैतडी। एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन्। लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन्।

कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए। “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उनले भने, “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ।”

भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए। उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो। स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताए।

मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवादसमेत व्यक्त गरेका छन्। भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताए। उनले भने, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ।”

झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन्। झुलाघाट नाकाबाट मात्रै बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए।

क्वारेन्टाइन अनुगमनमा तीव्रता

सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ। गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिन सबै ठाउँमा अनुगमन गर्न थालिएको हो।

अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने, “क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ।”

दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेका बताइएको छ। गत बिहीवार सीमानाका झुलाघाट हँुदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए।

आरडिटी कीटको अभाव

बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो। जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ। जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उनले बताए।

जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ। यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो। अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो।

जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ। दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए। उनले भने, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो।”

एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ । वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए। उनले भने, “वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ।” टोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा स्थानीय नागरिक पनि खुशी भएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *