महाकाली तरेर नेपाल भित्रिए ६ जना नेपाली
दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् ।
चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन्।
डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन्।
नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए।
उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन्।
लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए । “एक महिनादेखि काम बन्द भयो”, उनले भने, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए ।
नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन्।
उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए।
“ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन”, उनले भने, “लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ। गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।” उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment