भाेलिदेखि लकडाउन झन कडा, यसअघि जारी भएका पास रद्द

डिसी नेपाल
३१ वैशाख २०७७ ६:५२

काठमाडौं। कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले भोलि जेठ १ गतेदेखि लकडाउनलाई झन कडा बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने नाममा लकडाउन खुकुलो बनाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए।

लकडाउन खुकुलो बनाउने नाममा कोराना भाइरसले भयावह रुप लियो भने नियन्त्रण बाहिर जाने भन्दै प्रधानमन्त्री ओलीले लकडाउन झन कडा बनाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहमन्त्रालयले लकडाउनलाई झन कडा बनाउने नीति लिएको हो। जेठ १ गते देखि लागू हुने गरी सरकारले यसअघि जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ।

पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो।गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ।

उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ। आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ। अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन।

यस्तो छ गृहले बनाएको नीति
१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द

२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।

३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।

४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।

५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।
६. जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बिना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल शुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *