सांसदको परिचय पत्र बोकेर डाक्टर भन्दै थानकोटमा, कार्ड माग्दा भने – ‘बेइज्जत गर्न खोज्ने ?

डिसी नेपाल
१ जेठ २०७७ १४:४९

काठमाडौं। लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले विशेष गरी राजधानी भित्रिने नाकामा कडाइ गर्न थालेको छ। काठमाडौं सुरक्षित भएको भन्दै सवारी पास लिएर काठमाडौं भित्रिनेको संख्या बढेपछि गृहमन्त्रालयले यसअघि जारी गरेको पास रद्दसमेत गरेको छ। जेठ १ गतेदेखि लागू हुने गरी मुलुकभर लकडाउन कडा बनाइएको छ। अहिले राजधानी भित्रिने नाकामा सुरक्षाकर्मीले कडाइ गरेका छन्।

यसैबीच बिहीबार डिसी नेपाल टिम काठमाडौं भित्रिने मुख्य नाका थानकोट पुगेको थियो। थानकोट हुँदै राजधानी भित्रिने सवारी साधनलाई थानकोटमा प्रहरीले कडाइसँग चेक जाँच गर्दै थियो। यसैक्रममा एक जना सांसद चढेको कार प्रहरी अगाडि आयो। प्रहरीले सांसदको परिचय माग्यो। उनले आफू डाक्टर र सांसद पनि भएको बताए। उनी धादिङ २ ‘क’का प्रदेशसभा सांसद रामकुमार अधिकारी थिए । प्रहरीले आफूहरुले स्वास्थ्यकर्मीलाई नरोक्ने भन्दै परिचय पत्र देखाउन आग्रह गरे। उनले आफू डाक्टर र सांसद भएको भन्दै सांसदको परिचय पत्र देखाए।

डिसी नेपालले सांसद हुनुहुँदो रहेछ किन आफ्नो परिचय लुकाउनु भयो भन्ने प्रश्नमा उनले आफू डाक्टर पनि भएको बताए। साथै उनले आफू सत्तारुढ दलको सांसद भएको हुनाले संचारमाध्यमले आफ्नो फोटो खिचेर सरकारलाई अप्ठेरो पार्न खोजेको आरोप पनि लगाए। उनले वर्तमान सरकारलाई अप्ठेरो पार्न प्रेस लागिपरेको आरोपसमेत लगाएका थिए।

हेरौं भिडियो –

सरकारले पास भएका सवारी साधनलाई पनि निश्चित समय तोकेको छ । सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ । तर, ती सांसद करिब १ बजेको समयमा नाकामा आइपुगेका थिए । डाक्टरको हकमा भने समय तोकिएको छैन तर उनले मौखिक रुपमा आफूलाई डाक्टर भने पनि आफू डाक्टर भएको कुनै प्रमाण देखाउन सकेनन् ।

आजदेखि पासमा पनि कडाइ गरिएको छ । अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जारी गर्न पाउने छ। त्यस्तै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आउनु पर्ने भए गृह मन्त्रालयसँग समन्वय गरेर पास जारी गर्न सकिने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट जारी भएको पासले तीन जिल्लामा जान पाइने छ। तर, ती सांसद भने धादिङबाट आएको बताइरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *