भित्रीकोट दरबार पूर्वाधार निर्माण शुरु

डिसी नेपाल
३ जेठ २०७७ ८:४४

प्युठान । प्युठान जिल्लाको पर्यटकीयस्थल भित्रीकोट दरबारको संरक्षणको काम शुरु भएको छ ।

स्वर्गद्वारी, गौमुखी र ऐरावतीपछिको महत्वपूर्ण पर्यटकीयस्थलमा प्युठान नगरपालिका वडा नं ४ मा रहेको भित्रीकोट दरबार क्षेत्र मानिन्छ।

चालु आर्थिक वर्षमा दरबारसम्म पुग्नका सिँढी निमार्णको काम भइरहेको छ। चौबीसे राज्यअन्तर्गतको शक्तिशाली मानिने भित्रीकोट राज्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको अब्बल सम्भावना बोकेको क्षेत्रका रूपमा चिनिन्छ।

पर्यटकीय सम्भावना बढ्न थालेपछि यसको प्रवद्र्धनमा जुटेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

दरबारमा विभिन्न पूर्वाधार निर्माणका लागि विभिन्न निकायबाट रु ७० लाख विनियोजन भएको छ।

वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले दरबार क्षेत्रको पूर्वाधार विासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ४० लाख, प्युठान नगरपालिकाबाट रु १५ लाख, प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु पाँच लाख र पुरातत्व विभाग रु १० लाख बजेट विनियोजन भएको बताए।

लकडाउनका कारण रोकिएको काम केही दिन पहिले मात्र शुरु भएको हो । पदमार्गका लागि सिँढी र दरबार उत्खननको काम शुरु गरिएको वडाध्यक्ष भण्डारीले बताए ।

दरबार क्षेत्रसम्म पुग्नका लागि सिँढी निर्माणका लागि रु। ४० लाख दरबार उत्खननका लागि रु १० लाखको काम शुरु भएको उनको भनाइ छ । त्यस्तै दरबारमा ढोका निर्माण र रकगार्डेनका लागि समेत रु। १०÷ १० लाख बजेट विनियोजन गरिएको छ।

लकडाउनका कारण केही समय रोकिएको काम शुरु भएपछि बिहीवार नगरप्रमुख कक्षपति र वडाध्यक्ष राजभण्डारीले अवलोकन गरेका छन् ।

भित्रीकोटमा चन्द्रवंशी राजाहरूले राज्य गरेको इतिहास रहेको नगर प्रमुख कक्षपतिले बताए । ऐतिहासिक दरबार, वनवाटिका, स्थानीय संस्कृति, लिस्नेलेक क्षेत्र, धौलागिरि, माछापुच्छ्रे, सिस्ने हिमाललगायत हिम शृङ्खलादेखि प्युठानका अधिकांश क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा यसको संरक्षणमा स्थानीय सरकार अग्रसर भएको नगरप्रमुख कक्षपतिले बताए ।

विसं १९९० को भूकम्पले भत्किएको दरबार अहिले भग्नावशेषवस्थामा छ । दरबारसम्म अवलोकनका लागि जाने पर्यटकका लागि बाटामा पिउनेपानीको व्यवस्थापनका लागि नगरपालिकाले धेरै बजेट खर्चेको नगरप्रमुख कक्षपतिले बताए ।

दरवारको निर्माण पुरातत्व विभागमार्फत अबको दुई वर्षसम्म सम्पन्न हुनेछ । नगरपालिकाले भित्रीकोटमा विभिन्न पूर्वाधार निर्माणका लागि रु १४ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार गरिसकेको छ । त्यस्तै सडक कालोपत्रेका लागि पनि रु सात करोडको प्रस्ताव विभिन्न मन्त्रालयमा पेश गरिएको छ।

किसानलाई प्रोत्साहन गर्न तरकारी खेती
झिमरुक गाउँपालिकाले किसानको प्रोत्साहनका लागि जग्गामा भाडामा लिएर तरकारी खेती शुुरु गरेको छ।

पालिकाले वडा नं ४ भ्यागुतेमा २।५ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्न शुरु गरेको हो । पालिकाले गत माघ महिनादेखि तरकारी खेती शुरु गरेको कृषि शाखा प्रमुख टेकबहादुर विकले बताए ।

पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा भाडा लिई खेती गरेको उनले बताए ।

बाहिरबाट आयात गरिएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन यो कार्य शुरु गरिएको उनको भनाइ छ।

माण्डवी गाउँपालिकाले जस्पुरले पनि प्रदेश नं ५ सरकार र पालिकाको करीब रु १५ लाख बजेटमा वडा नं ३ स्याउलीघारीकमा बृहत् नर्सरी सञ्चालन गरेको छ । नर्सरीमा एक व्यक्ति पालिकाले पारिश्रमिक दिई राखेर बीउ उत्पादन गर्ने गरिएको पालिकाका कृषि शाखा प्रमुख अमर विष्टले बताए ।

पालिका क्षेत्रका किसानको सहजताका लागि पालिकाले बीउसँगै काँक्रा र करेला नर्सरीमै फलाएको छ । यसले बीउ किन्न आउने किसानले सिक्न सक्ने उनको भनाइ छ।

काँक्रा, लौका, करेला, गोलभेंडा, जुकेनीलगायत बिरुवा किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख विष्टले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *