धुलीखेलमा मृत्यु भएको महिलाको माइती र घर भएका वडा सिल
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. ९ र बलेफी गाउँपालिकाका ७ र ८ वडालाई सिल गरिएको छ । विहिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोनाका कारण मृत्यु भएको भन्ने आधिकारीक पुष्टि नभए पनि लक्षणका आधारमा घर भएको गाउँ र माइती भएको गाउँ सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
मृत्यु भएकी महिलाको बाह्रबिसे ९ घर हो भने बलेफी ७ र ८ माइती हो । खनालले डिसी नेपालसँग कुरा गर्दै भने, ‘उहाँको माइती तिर ७÷८ वडा जोडिएकोले दुवै वडाहरु सील गरेका हौं। यस्तै, बाह्रबिसे वडा नंं ९ उहाँको घर हो।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मृत्यु कोरोनाका कारण भएको भनेर आधिकारीक पुष्टि भइसकेको छैन। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले केही परीक्षण अझै बाकीँ रहेको बताउका छन् ।
धुलिखेल अस्पतालले ‘कन्ट्याक्ट टे«सिङ’ तयारी गरेको छ, सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘उहाँ (सुत्केरी)ले अस्पताल जान एम्बुलेन्स र बोलेरो लगाएतका गाडिहरु प्रयोग गर्नु भएको थियो रे, हामीले सबैलाई अलर्ट गरेका छौं। ‘कन्ट्याक्ट टे«सिङ’को लागि धुलिखेलबाट टोली आउँदै छ। सायद अबेरसम्म पुग्छ होला।’
उनले भने, ‘अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो।’ महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ, खनालले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारीक कोरोना पुष्टि भएपछि सील गरिएका सबै वडाहरुमा कोरोनाको परीक्षण तीब्र बनाउने, र सबैलाई क्वारेन्टाइनमा राख्ने समेत तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment