फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी कोरोना संक्रमित

डिसी नेपाल
३ जेठ २०७७ २०:१८

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड—१९को संक्रमणले नेपालमा कसैलाई पनि छाडेको छैन । संक्रमणको संख्या बढ्दै गएपछि फ्रन्टलाइन (अग्रमोर्चा)मा खटिएर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु संक्रमित हुन थालेका छन् । शनिबार साँझसम्मको तथ्यांकअनुसार ९ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ को संक्रमण पुष्टी भइसकेको छ ।

पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेनाका जवान, शशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका सईसहित ४ जना र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड—१९ बाट संक्रमित भएका छन् । कोभिड—१९ संक्रमितको उपचारमा अग्रमोर्चामा खटिने ३ स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।

जसमा कपिलवस्तु र पर्साका एक—एक जना नर्स रहेका छन् भने एक जना वीरगन्जका फर्मासिष्ट छन् । कोभिड—१९ संक्रमितको समाचार संकलनमा जुटेका चार पत्रकार पनि कोरोना भाइरस संक्रमित भएका छन् । जसमा पर्साका दुई जना, जनकपुरका १ जना र उदयपुरका १ जना रहेका छन् । सरकारले अहिले साँझ सम्म दिएको विवरण अनुसार नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । भारतको सीमा जोडिएका नेपाल तर्फका जिल्लाहरुमा कोरोना भाइरस संक्रमण बढदै जाँदा सीमा जोडिएको प्रदेश २ मा संक्रमणको जोखिम बढ्दै गएको छ । प्रदेश २ का ८ जिल्लामा संक्रमण बढेको हो ।

लकडाउनलाई छिचोलर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि नेपालमा कोरोनाभाइरस संक्रमणको संख्या बढ्दै गएको छ । लुकेर नेपाल प्रवेश गर्ने अनि क्वारेन्टाइनमा नबस्ने कारण कोरोना संक्रमणको जोखिम झनै बढेको छ ।शुरूका दिनहरुमा फाट्टफुट्ट मात्र संक्रमित देखिएकामा केही दिनयता नेपालमा संक्रमणको दर निकै बढेको छ । यसबाट महामारीले अझै विकराल रूप लिन सक्ने संकेत देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *