दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो, हलिउडमा नेपालको गौरव

डिसी नेपाल
५ जेठ २०७७ ७:०४

वासिङटनडिसी । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात (आर्थरगन) ले अमेरिकन आइडल सिजन–१८ मा उपविजेताको उपाधि जितेका छन्। आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका हुन् ।

यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शो को उपाधि हो। अमेरिकन आईडलको उपाधि जस्ट सामनामकी युवतीले जितेकी छन् ।

अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो।

गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिपछिको भोटका आधारमा दिवेशले दोस्रो उपाधि जितेका हुन् ।

दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो ।

यसअघि डिसीनेपालसँगको कुराकानीका क्रममा उनले नेपालबाट अमेरिका पुग्ने बेलासम्म आफूलाई संगीतमा रुचि भए पनि व्यवसायिक रुपमा यसैमा लाग्ने सोच भने नबनेको बताएका थिए । विचिटा पुगेपछि त्यहाँ पनि संगीत क्षेत्रका व्यक्तिहरुसँग संगत बढेपछि मात्र उनले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको बताएका थिए ।

दिवेशले आफूलाई सानै उमेरदेखि संगीतमा रुचि भएको बताएका थिए । ‘घरमा दाई दिदीहरुले गाएको सुन्थें, सुन्न र गाउन दुवै मन पथ्र्यो’ उनले भनेका थिए ‘यही बीचमा ममीले गितार उपहार दिनुभयो । मेरो यात्राको लागि त्यो नै सुरुवात बन्यो ।’ आमाले गितार उपहार दिएपछि दिवेशले गितार बजाउन सिक्दै गाउन थाले । सहयोग माग्दै, कोडहरु सिक्दै उनको सांगीतिक यात्रा अगाडि बढ्यो ।

यद्यपि त्यतिबेला उनी सानै थिए । उनी स्कुले नै थिए र उनले यही क्षेत्रमा करिअर बनाउने निश्चित भइसकेको थिएन । ‘त्यो ओपन स्टेज थियो, म्युजिकलाई सिरियसली लिएको थिइन’ दिवेशले सम्झन्छन् ‘स्कुले थिएँ । खेलकुदतिर पनि लागें । म्युजिकबाट अलि पन्छिएँ । तर, त्यो स्टेज कटेपछि फेरि म्युजिकमा इच्छा बढ्न थाल्यो अनि साथीहरु मिलेर ब्याण्ड बनाएर अगाडि बढ्यौं ।’ दिवेशका अनुसार उनका त्यतिबेलाका कैयौं साथीहरु अहिले पनि नेपालमा संगीत क्षेत्रमै छन् ।

यही बीचमा दिवेश अमेरिका पुगें । त्यहाँ उनीसँग खाली समय पनि बढ्यो । यही समयको सदुपयोग गर्दै उनी फेरि संगीतमै सक्रिय भए । ‘मैले गितार लिएँ अनि अभ्यास सुरु गरें’ दिवेश भन्छन् ‘यहाँ कफी शपहरुमा गएर पनि बजाउन र गाउन थालें ।’ दिवेशलाई आफ्नै एल्बम बनाउने पनि रहर थियो, उनले यसतर्फ पनि काम सुरु गरे ।

अमेरिकन आइडलमा जाने योजना भने पहिलेदेखिको थिएन । ‘अमेरिकन आइडल भन्ने शो छ भन्ने थाहा थियो तर जाने योजना भने थिएन’ दिवेश भन्छन् ‘विचिटा आएपछि धेरै संगीत क्षेत्रका मानिसहरु भेटें । सबैले अमेरिकन आइडलमा जान सुझाव दिन थाले । साथीहरुले परिवारबाट पनि जान सुझाव आएपछि ट्राइ गरिहालौं न त भनेर गएको थिएँ ।’ अमेरिकन आइडलको अडिसनमै प्रशंशा भएपछि भने उनी झनै प्रेरित भए ।

अडिसनमा दिवेशले क्रिडेन्स क्लियरवाटर रिभाइभ्डको ‘ह्याभ यु इभर सीन द रेन‘’ गाएका थिए । उनले पछि अर्को शोमा पनि यही गीत गाए । यद्यपि दोस्रो पटक उनले यो गीतको वास्तविक संगीत र लयमा केही परिमार्जन गरेका थिए । उनले यही गीत किन रोजे रु दिवेश भन्छन् ‘मैले मेरो म्युजिकल जर्नी स्टेजमा देखाउन चाहेको थिएँ । यो मैले सानैदेखि सुनेको गीत हो । यही गीत सुन्दा सुन्दै म संगीतमा आकर्षित भएको थिएँ ।’

दिवेशले २ वर्षअघि ‘ग्रहण’ नामक एल्बम पनि निकालेका छन् । यो एल्बमको काम सन् २०१७ मा सुरु भएको थियो र यसको पहिलो गीत ‘प्रलय’ नेपालमै रेकर्ड भएको थियो । पछि स्टेजमा फर्किएपछि उनलाई पूरै एल्बम निकाल्न मन लाग्यो । ‘मैले सानैमा लेखेका केही कविताहरु समेत जोडेर केही गीतहरु बनाएँ’ उनले भने ‘केही गीतहरु भने पछि लेखेको थिएँ ।’




प्रतिक्रिया

One thought on “दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो, हलिउडमा नेपालको गौरव

Leave a Reply to Jay narayan Cancel reply

Your email address will not be published. Required fields are marked *