कोरोना संक्रमण टेस्ट नगरी क्वारेन्टाइनमा राखेर के फाइदा ?

डिसी नेपाल
५ जेठ २०७७ १२:३९

नुवाकोट। विश्वलाई आफ्नो चोपेटामा लिएको कोरोना भाइरसले नेपालमा पनि आफ्नो बाटो फराकिलो बनाउन सुरु गरिसकेको छ। नेपालमा सोमबार कोरोना संक्रमित ३०४ पुगेका छन्। देश भित्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। मृत्यु हुने मध्य दुवैलाई मृत्यु भन्दा पहिल्यै कोरोना परीक्षण नगरिएको खुलेको छ।

काभ्रेको २९ वर्षीया सुत्केरी महिला र बाराका २५ वर्षीय युवकको मृत्युपछिबा जनमानसमा त्रास पैदा भएको छ। कतिपयले दुवै युवा अवस्था भएका कारण कोरोना परीक्षण र उपचार गरिएको भए मृत्यु हुँदैन थियो कि भन्ने तर्क गरेका छन्।

एक महिना अगाडि मुम्बईबाट फर्किएर होम क्वारेन्टाइन गरिरहेका विदुरका कर्ण राई क्वारेन्टाइन सकिएपनि आफ्नो परीक्षण नभएको कारण आफू त्रासमा रहेको बताउँछन्। ‘मेरो त क्वारेन्टाइन सकियो। अहिलेसम्म त खासै समस्या नहुने रहेछ तर भन्न सकिन्न के कस्तो हो।

दुई महिनापछि पनि संक्रमण देखिन्छ भन्छन्। मेरो त टेस्ट पनि भएको छैन।’ क्वारेन्टाइन राखिए पनि कोरोना परीक्षण नगरिनुले भोलि ठूलै रुप लिन सक्ने काठमाडौं निवासी दामोदर न्यौपानेको छ। उनले भने, ‘दुई जनाको मृत्यु भयो। दुवै जना कोरोना टेस्ट नगरेको परे। यसलाई सामान्य मान्नु हुँदैन।

यस्तै हो भने छिट्टै नै मृत्युदर बढ्न सक्छ। हामीले यसबारे चाँडै ध्यान दिनुपर्यो। र, बिरामीले पनि परीक्षण गर्नुपर्छ भन्ने कुरालाई बढी चासो दिनुपर्याे।’ नुवाकोट काठमाडौंबाट नजिकैको जिल्ला भएकाले उपत्यकाबाट हिडेर आउने क्रम अझै जारी छ।

अब काठमाडौंबाट आउनेलाई पनि क्वारेन्टाइन राख्नु पर्ने भन्दै नुवाकोट शिवपुरी गाउपालिकाका चन्द्र श्रेष्ठ भन्छन्, ‘हाम्रोतिर पनि जिल्ला बाहिर विशेष गरी काठमाडौंबाट आउनेको संख्या बढ्दो छ। आजभोलि नै काठमाडौंबाट आउनेलाई पनि विशेष ध्यान दिनुपर्छ। क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाए उताबाट आउनेको क्रम रोकिन सक्थ्यो।’

क्वारेन्टाइनमा रहँदा परीक्षण नगरी ढुक्क हुन नसकिने भन्दै बाहिरबाट आएका व्यक्तिका छिमेकी पनि चिन्तित छन्। नुवाकोट तार्केश्वर गाउँपालिकाकी पार्वती सिक्देल भन्छि, ‘खासै ढुक्क हुनु पर्ने देखिँदैन। भारतबाट आएका धेरै छन्, हाम्रो तार्केश्वरमा त्यँही होम क्वारेन्टाइनमा बस्ने भएर आए। न होम क्वारेन्टाइन गर्नु यत्तिकै अब १४ दिन महिना पुग्यो भन्दै खुलमखुल्ला परीक्षण बिना नै हिड्ने गरेका छन्। यो रोगले नयाँ नयाँ रुप देखाएको हुँदा मलाइ चाहिँ ढुक्क लागेको छैन। परिक्षण नै भएको छैन भने कसरी थाहा हुने लागेको नलागेको?’

क्वारेन्टाइलाई अझ बढी ध्यान दिन र क्वारेन्टाइन बसेसँगै परीक्षण गरिनु राम्रो कुरा हो भन्नेतर्क नुवाकोटबासीको छ। बेलकोटगढी नगरपालिकाकि राधा डोटेल भन्छिन, ‘अर्काको लागि होइन, हामी र हाम्रो आफ्नै परिवारको लागि हो। त्यसैले बाहिरबाट आएकाले विशेष सावधानी अपनाउनु पर्ने हो। म क्वारेन्टाइन बसिहाँले अब के हुन्छ र भन्ने विचार आउनु भएन। क्वारेन्टाइनमा नै परीक्षण गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *