अनियमितता गर्ने महासेनानी अधिकारीलाई २ महिना कैद र १ करोड ८५ लाख जरिवाना

डिसी नेपाल
९ जेठ २०७७ २१:१२

काठमाडौं । आर्थिक अनियमिता गर्ने सैनिक अधिकारीहरुलाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले कैदसहित जरिवाना गर्ने फैसला गरेको छ । शुक्रबार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाणित गर्दै महासेनानी भुपालमान अधिकारीसँग १ करोड ८५ लाख असुल उपर गर्ने फैसला सुनाएको हो ।

अदालतले अधिकारीलाई सरकारी सेवामा अयोग्य नठहरिने गरि सेनाबाट हटाउने र त्यसअघि २ महिना कैद सजाय फैसला गरेको छ। सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा दोषी ठहरिएका प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई वर्ष बढुवा रोक्का तथा ४ लाख असुल उपरको फैसला गरेको हो ।

यो कसुरमा सेनाले भक्तपुरस्थित सैनिक विद्यालयको प्रशासनमा कार्यरत १८ जनामाथि अनुसन्धान गरेको थियो । सजाय फैसला भएका अन्य तीन दर्जाका सैनिक अधिकारीहरू छन् । सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।

कार्वाही पर्नेमा महासेनानी अधिकारी, प्रमुख सेनानी क्षेत्री र हुद्धा यज्ञराज पोखरेल रहेका छन् । त्यसैगरी अन्य दर्जाहरुमा हुद्धा गणेश बहादुर अधिकारी, लेखा आ।सहसेनानी सुरेन्द्र विक्रम भण्डारी रहेका छन् । सोही मुद्धामा अन्य १३ जनाले अभियोग माग दावीबाट सफाई पाउने गरी फैसला भएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न सेनाका सहायकरथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गत चैत्र ६ गते गठित समरी जनरल सैनिक अदालतले शुक्रबार सो फैसला गरेको हो ।

महासेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने फैसला भएको छ ।

साथै निजले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय समेत भएको छ ।

सेनाका प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को को दफा ४९ कोखण्ड (क), दफा को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (ज्ञ) खण्ड (च) बमोजिम दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट चारलाख चालीस हजार असुल उपर गर्ने फैसला भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *