विदेशमा रहेका नागरिकको विवरण सङ्कलन शुरु

डिसी नेपाल
१० जेठ २०७७ १८:२८

गोरखा । यहाँका दुई स्थानीय तहले विदेशमा रहेका आफ्ना नागरिकको विवरण सङ्कलन गर्न शुरु गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका र शहीद लखन गाउँपालिकाले भारतलगायत विश्वका विभिन्न देशमा रोजगारी तथा अध्ययनका क्रममा रहेका आफ्ना नागरिकको गुगल फर्म तयार गरी विवरण सङ्कलन गर्न शुरु गरेका हुन् ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले स्थानीय तहभित्रका आफ्ना नागरिक कुन अवस्था छन् भन्ने जानकारी लिन गुगल फर्म तयार गरि तथ्याङ्क सङ्कलन गर्न थालिएको शहीद लखनका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

गाउँपालिकाले तयार पारेको फर्ममा उनीहरुले आफू हाल रहेको देश, रोजगारीमा रहेकाले काम गर्न पाएको वा नपाएको जानकारीसहितको विवरण उल्लेख गर्नसक्ने व्यवस्था गरिएको उनले बताए । “विदेशमा रहेका सबै नागरिकले आफू बसेको ठाउँबाट नै मोबाइलमा नै फर्म भर्नसक्ने व्यवस्था गरिएको छ”, अध्यक्ष थापा मगरले भने, “यसबाट आफ्ना नागरिकलाई समस्या परे/नपरेको जानकारी लिन पनि सजिलो हुन्छ ।”

दुवै गाउँपालिकाले विदेशमा रहेका आफ्ना सम्पूर्ण स्थानीय तहभित्रका नागरिकलाई गुगल फर्म भर्न आग्रहसमेत गरेको छ । स्थानीय तहले तयार पारेका गुगल फर्मबाट कोरोना भाइरसका कारण समस्यामा परेका नागरिक फर्कन चाहेको भए त्यसको जानकारीसमेत उल्लेख गर्न सकिने व्यवस्था गरिएको बारपाक सुलिकोटका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनले विदेशमा रहेका नागरिकको चाहानाका आधारमा फर्मको ढाँचा तयारी पारी सार्वजनिक गरिएको बताए । “गुगल फर्ममा नागरिकताअनुसारको स्थानीय तहभित्रको स्थायी ठेगाना, विदेशमा रहेका हालको ठेगाना, विदेशमा रहनुका कारण सबै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ”, अध्यक्ष भट्टले भने । स्थानीय तहले तयार पारेको फर्म गाउँपालिकाको वेबसाइट तथा फेसबुक पेजमा राखिएको उनले बताए ।

फर्म भरेको विवरणका आधारमा नेपाल फर्कन चाहने नेपाल फर्किएमा क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकालाई पूर्वतयारी गर्नसमेत सजिलो हुने अध्यक्ष भट्टले जानकारी दिए । भारतलगायत विभिन्न देशमा रोजगारी तथा अध्ययनका लागि गएका गाउँपालिकाभित्रका नागरिकको अवस्था बुझ्न गुगल फर्ममार्फत सजिलो हुने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *