मधेसमा ‘बफर’ कोटाको मल वितरण सुरु, किसानलाई अभावबाट राहतको अपेक्षा
जनकपुरधाम। धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै मधेस प्रदेशमा ‘बफर’ कोटाको युरिया र डीएपी मल वितरण सुरु गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम धनुषाले स्थानीय तहको सिफारिसका आधारमा प्रदेश सरकारले निर्धारण गरेको बफर कोटाअनुसार किसानलाई मल उपलब्ध गराउन थालेको हो।
मधेस प्रदेश सरकारको असार ३१ गतेको निर्णयअनुसार स्थानीय तहगत रूपमा छुट्याइएको कोटाअन्तर्गत मल बिक्री–वितरण सुरु गरिएको कम्पनीका सूचना अधिकारी बेचन साहले जानकारी दिए।
उनका अनुसार केही समयदेखि जिल्लामा देखिएको डीएपी मलको अभाव अहिले क्रमशः घट्दै गएको छ। साउनको दोस्रो सातासम्म थप युरिया र डीएपी मल आपूर्ति हुने भएकाले मल अभाव पूर्ण रूपमा हट्ने अपेक्षा गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हालसम्म किसानलाई १८ हजार ७४५.१० मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ।
यस अवधिमा ११ हजार २४१.३५० मेट्रिक टन युरिया, ६ हजार ९६३.३०० मेट्रिक टन डीएपी, ३७९.५५० मेट्रिक टन पोटास र १६०.९०० मेट्रिक टन कृषि चुन वितरण गरिएको सूचना अधिकारी साहले बताए।
कार्यालयले सोही अवधिमा १० हजार ६१८.५०० मेट्रिक टन युरिया, ७ हजार २८९ मेट्रिक टन डीएपी, ४६३ मेट्रिक टन पोटास र २३५ मेट्रिक टन कृषि चुन प्राप्त गरेको जनाएको छ।
धान रोपाइँको मुख्य सिजनलाई ध्यानमा राख्दै मलको आपूर्ति, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका प्रमुख ध्रुव चौधरीले बताए।
किसानको मागअनुसार थप मल उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र केही दिनभित्रै थप मल जिल्लामा आइपुग्ने उनले जानकारी दिए।






डिसी नेपाल





Facebook Comment