अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थामा छापा, कार्यालय सिलबन्दी
काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट केवल तालिम सञ्चालनको अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’मा संयुक्त टोलीले छापा मारी सिलबन्दी गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सिटिइभिटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले संस्थाको निरीक्षणका क्रममा गम्भीर अनियमितता फेला पारेपछि कार्यालय सिलबन्दी गरेको हो।
विशेष गरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्तविपरीत गैरकानुनी रूपमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण गरिरहेको भन्दै मन्त्रालय र विभागमा परेको गुनासोका आधारमा यो कारबाही अघि बढाइएको हो। अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन, मापदण्ड र सर्तहरूको गम्भीर उल्लङ्घन गरेको भेटिएको छ।
सिटिइभिटीलाई मात्र अधिकार रहेको सीप परीक्षण र प्रमाणीकरणको काम अनुमतिबिना नै गरेर संस्थाले क्षेत्राधिकार मिचेको पाइएको छ। यसका साथै, संस्थाले दर्ता र अनुमति प्राप्त गर्दा तोकिएका सीमित विधाभन्दा बाहिर गएर अन्य विषयहरूमा पनि अनधिकृत रूपमा तालिम सञ्चालन गरिरहेको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा टोलीले संस्थाको कार्यालयमा सिलबन्दी गर्नुका साथै त्यहाँ रहेका महत्त्वपूर्ण कागजात र प्रमाणीकरणसँग सम्बन्धित प्रमाणपत्रहरू नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कागजातहरूको विस्तृत अध्ययन र छानबिन सकिएपछि संस्था तथा सञ्चालकहरूमाथि थप कडा कानुनी कारबाही अगाडि बढाइने बताइएको छ।






डिसी नेपाल





Facebook Comment