पेट दुखेर अस्पताल पुगेकी महिलामा कोरोना संक्रमण, हेटौडा अस्पतालका स्वास्थ्यकर्मीसहित १ सयजना आइसोलेसनमा

डिसी नेपाल
१० जेठ २०७७ २३:१४

हेटौंडा । पेट दुख्यो भन्दै जचाउन हेटौंडा अस्पताल पुगेकी महिलामा कोरोना संक्रमण देखिएपछि उनी पुगेका ठाउँमा मानिसहरु अत्तालिएका छन् । गत ४ गते बिहान ३ बजेतिर पेट दुख्ने समस्या लिएर अस्पताल पुगेकी ५४ बर्षिया महिलालाई शुरूमा आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि अल्ट्रासाउण्डर एक्सरे गरियो । यसो गर्दा उनको मुटुमा समस्या देखियो, अस्पतालले हेटौंडामा उपचार हुन नसक्ने जनायो ।

उनलाई तत्काल मनमोहन मुटु अस्पताल, काठमाडौ ल्याइयो । ६ गते उनको आरटीडी गर्दा केही देखिएन । तर ज्वरो बढ्न थालेपछि फेरि आरटीडी गर्दा कोरोना पोजिटिभ देखियो । उता हेटौंडामा उनलाई उपचार गर्ने डाक्टर र नर्स यो खबर सुन्नासाथ अचम्मित हुनु स्वभाबिक थियो । आजैबाट ती महिलासँग प्रत्यक्ष सम्पर्कमा रहेका १ सय जनालाई अहिले आइसोलेसनमा राखेर तिनको स्वाव लिने काम भइरहेको छ । ती महिलालाई हेटौंडाबाट बोकेर लैजाने एम्बुलेन्सबाट कोरोना सरेको हुन सक्ने आशंका पनि छ ।

पहिलोपटक अस्पताल प्रमुखलगायत ती बिरामी महिलाको प्रत्यक्ष सम्पर्कमा आएका ११ जनाको स्वाब जाँचमा नेगेटिभ आएको छ । बाँकीको स्वाब चितवन पठाउने तयारी हुँदैछ , कीट नभएका कारण ।

हेटौंडा अस्पतालमा कार्यरत डा.राजु सेढाईका अनुसार पर्याप्त किट नभएका कारण सबैको स्वाब जाँचमा ढिलाइ भएको हो । अहिले अस्पतालका स्टाफलाई अरूण सुमार्गी को हेटौंडा एकाडमीमा राखिएको छ । स्थानीय होटेलवालाले भने होटेललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नदिएको थाहा भएको छ ।

पछिल्लो समय संक्रमित ब्यक्ति अरु नै रोग लिएर अस्पताल आउँदा कोरोनाको महामारी फैलिएको र त्यसको प्रत्यक्ष मारमा स्वास्थ्यकर्मी परेका छन् । यसका लागि लक्षण नदेखिए पनि अस्पताल आउने बिरामीलाई कोरोना जाँच गर्नु जरुरत देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *