राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छः सरकार

डिसी नेपाल
१२ जेठ २०७७ १८:०२

काठमाडौं। सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि प्रतिवेदनमा समेटिएको छ । विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एव सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रुपान्तरणकारी कार्यको विवरण प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ ।

नेपाल सरकारले गत आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आवमा सरकारद्वारा सम्पादित प्रमुख कार्य र हासिल भएका उपलब्धि समावेश गरिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

संवैधानिक व्यवस्थानुरुप प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको गत आव २०७५।०७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुरक्षा परिषद्को कामकारवाहीसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरिन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेश गर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *