सरकारको निष्कर्ष : विदेशबाट लाखौं नेपाली फर्किँदैनन्

डिसी नेपाल
१३ जेठ २०७७ १३:५०

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना संक्रमणका कारण स्वदेश फर्किन चाहनेको संख्या सीमित हुने सरकारले आँकलन गरेको छ। वैदेशिक रोजगारीको क्रममा विभन्न मुलुकमा पुगेका नागरिकलाई स्वदेश फर्काउन दबाव बढिरहेका बेला सरकारले विदेशमा रहेका नेपाली नागरिक फिर्ता ल्याउने तयारी गरेको छ।

तर यसरी फिर्ता ल्याउँदा लाखौंको संख्यामा नेपाली नागरिक स्वदेश नर्फिने सरकारले आँकलन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यो विषयमा विस्तृतमा छलफल भएको थियो।

नेपालको क्वारेन्टाइन भन्दा विदेशमा गुणस्तरीय क्वारेन्टाइनमा नेपालीहरु बसिरहेको र फर्किनै पर्ने अवस्थाका बाहेक अन्य नागरिक नर्फिर्कने सरकारले आँकलन गरेको एक मन्त्रीले जानकारी दिए।

‘अहिले लाखौं नागरिक स्वदेश फर्किन आतुर छन् भनेर हौवा फिँजाइएको छ,’ ती मन्त्रीले भने, ‘तर बाहिर हल्ला चलेजस्तो धेरै नागरिक स्वदेश फर्किने अवस्था देखिँदैन।’

सरकारले स्वदेश फर्किने नागरिकका लागि क्वारेन्टाइनको रुपमा तारे होटल, गेस्ट हाउस, लस, सामुदायिक भवन र पार्टी प्यालेसलाई प्रयोग गर्ने तयारी गरेको छ।
विदेशबाट स्वदेश फर्किएका तर होटलको पैसा तिर्न नसक्नेको हकमा सरकारले व्यवस्थापन गर्ने तर पैसा तिर्न सक्नेको हकमा भने दैनिक एक जना बराबर तीन हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले गैरकानुनी रुपमा बसेका, तलब रोकिएका गर्भतवी महिला, बिमारीको हकमा भने पैसा तिर्नु नपर्ने व्यावस्था गरेको छ। तर अन्यको हकमा भने होटलमा बसेको खण्डमा दैनिक क्वारेन्टाइन अवधिभर ३ हजारका दरले होटललाई पैसा तिर्नुपर्नेछ। १४ दिन क्वारेन्टाइनमा बसेपछि सम्बन्धित प्रदेशको जिम्मेवारी पाएका संघीय सरकारका मन्त्रीमार्फत प्रदेशमा पुर्याउने व्यवस्था गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *