दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

डिसी नेपाल
१४ जेठ २०७७ ७:२७

मनाङ । दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् ।

मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन्। अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन्।

हुन त मुलुकभरका बालबालिका हाल विद्यालय शिक्षाबाट पूर्णरूपमा बञ्चित छन् तर हिमालपारिको जिल्ला मनाङमा गत मङ्सिर मसान्तदेखि विद्यालयको अन्तिम परीक्षा सकेपछि नै मारमा छन्।

बन्दाबन्दीले अहिले अझ उनीहरु थप प्रभावित बनेका छन्। कोरोना भाइरसको महामारीले गर्दा मुलुकभर शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको अवस्थामा अझ बढी दुर्गम क्षेत्रमा परेको छ।

केही साना बालबालिकाले विद्यालय नै बिर्सिसकेका छन् । यसले जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै छ महिनादेखि विद्यालयको पहुँचभन्दा टाढा भएका हुन्।

जिल्लाभर २८ विद्यालय छन् भने यस जिल्लामा करिब ६०० भन्दा बढी बालबालिका विद्यालय जाने गरेका थिए ।

जम्मा चार गाउँपालिकामा रहेको यस जिल्लामा माथिल्लो भेगमा ११ विद्यालय छन् । चामे गाउँपालिकामा पाँच, नार्पाभूमि गाउँपालिकामा दुई र नासों गाउँपालिकामा ११ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

हाल चामे गाउँपालिकाले भने पाँच विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गरी पालिकामा दुई विद्यालय गाभेर सञ्चालन गरिएको छ।

त्यस्तै नासों गाउँपालिकाले पनि प्रकाशज्योति माविलाई आवासीय विद्यालय बनाइएको र पालिकामा दुई माध्यमिक छन् । त्यसैगरी नौ आधारभूत विद्यालय रहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

उनका अनुसार विद्यालयहरु २०७६ पुसको दोस्रो सातादेखि बन्द भएको र नयाँ शैक्षिकसत्र शुरु हुँदै गर्दा यो महामारीले बन्द हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ।

सुगम क्षेत्रका र इमेल इन्टरनेटको पहुँचमा रहेका बालबालिका त इन्टरनेटको माध्यमबाट केही अध्यायन गरिहेका छन् तर यी क्षेत्रबाट बाहिर रहेका ती बालबालिकाको शिक्षाले कस्तो रूप लेला सबैमा चिन्ताको विषय बनेको छ।

दुर्गम क्षेत्रका बालबालिकाको शिक्षालाई कस्तो व्यवस्था हुने हो हेर्न भने बाँकी नै छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *