सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौंलाई हराउँदै सुनसरी फाइनलमा
सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि यात्रालाई अघि बढाएको हो। महेन्द्र माविको खेलमैदानमा भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो।
प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका सञ्जय श्रेष्ठले खेलको २६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका अनिष परियारले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि निर्धारित समयमा थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।
खेलका क्रममा पटक–पटक कर्नर किकको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्लानिङ ब्वाइजले अग्रता लिन सकेन। अन्ततः ट्राइबेकरमा न्यू स्टारले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । यस्तैगरी, प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार सङ्खुवासभाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच हुनेछ।
लोहरुङ क्लबले क्वाटरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गरेको हो भने सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। घरेलु जिल्लाको प्रतिनिधित्व गरिरहेका लोहरुङ र सेकाहामध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछ।
यही कात्तिक २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए। प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन्।
एडभान्स क्लब मानेभञ्याङको आयोजनामा गत सोमबारदेखि प्रतियोगिता सुरु भएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment