बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।
बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबसहित १४ टोली सहभागी छन्। प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरे।
उद्घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई सेभेन स्टार युवा क्लब, आनन्दबगरले पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ। बिहीबारको पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुने बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार २२२ र ट्रफी तथा उपविजेताले रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले रु ५५ हजार ५५५ पुरस्कार पाउनेछ।
त्यसैगरी, अनुशासित टोलीलाई रु २२ हजार २२२ तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु सात हजार ७७७ पुरस्कार प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले बताए।
प्रतियोगिता सञ्चालनमा रु १६ लाख ५७ हजार ७७२ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता अवलोकन गर्न दर्शकले रु ५० प्रवेश शुल्क तिर्नुपर्नेछ। प्रवेश शुल्कबाट सङ्कलित रकमको ४० प्रतिशत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप प्रदान गरिने अध्यक्ष बुढामगरले जानकारी दिए।
प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment