सरकारले विदेशमा रही अफ्ठेरोमा परेका मध्ये पहिलो चरणमा २५ हजार नेपालीकाे उद्दार गर्ने

डिसी नेपाल
१६ जेठ २०७७ १८:४२

काठमाडौं । सरकारले विदेशमा रही अफ्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। भारतबाहेक तेस्रो मुलुकमा अफ्ठेरोमा परेका मध्ये पहिलाे चरणमा २५ हजारलाई तत्काल उद्दार गर्ने निर्णय सरकाले गरेको हो ।

कोरोना रोकथाम तथा निणन्त्रण उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले प्राथमिकताको आधारमा मध्यपूर्व तथा खाडिमुलुकमा अफ्ठेरोमा परेकालाई उद्दार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । साथै विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पनि आजको बैठकले पारित गरेको ती मन्त्रीले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार कुन–कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने बारे विस्तृत कार्ययोजनामा उल्लेख गरिएको छ। विदेशमा रहेर स्वदेश फर्किन चाहनेहरुको सूचि परराष्ट्र मन्त्रालयले बढीमा १० दिनमा तयार गर्ने उनले बताए।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूचि अनुसार क्रमशः स्वदेश फर्काउने कार्ययोजना छ । तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने उनले जानकारी दिए ।

यसअघिनै, भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय मन्त्रिपिरिषद बैठकले गरिसकेको छ । अब सोही कार्ययोजना अनुसार सम्बन्धित गन्तव्य मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काइने भएको छ ।

काे-काे परेका छन् प्राथमिकतामा

यसअघि नै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रस्तुत गरेको खाकामा पहिलो प्राथमिकतामा गर्भवति महिला रहेका छन् । विदेशमा रहेर गर्भवती भएका र नेपालमा सुत्केरीको लागि आउन चाहाने महिलालाई सबैभन्दा पहिला नेपाल ल्याउने तयारी सरकारले गरेको छ ।

ती मन्त्रीले डिसी नेपालसँग भने, ‘हामीले अहिले ४ किसिमका अत्याधिक अफ्ठेरोमा परेका नागरिकको उद्दार गर्ने गरी बनाएको खाकामा छलफल गरेका छौं, जसमा पहिलो प्राथमिकतामा गर्भवती महिला रहेका छन्।’

सरकारले गरेको तयारीको दोस्रो नम्बरमा उपचारको शिलशिलामा विदेशमा गएका नागरिक रहेका छन् । उनले भने, ‘कोरोनाको संत्रास पहिले उपचारको शिलशिलामा जो विदेशिनु भएको थियो, उहाँहरुलाई नेपाल ल्याउने तयारी गरेका छौं।’

सरकारले तयारी गरेको तेस्रो नम्बरमा नेपालमा आफन्त गुमाएर विदेशबाट अन्तिम दाहसंस्कार र त्यसपछिको कार्यका लागि आउन चाहने नागरिक रहेको ती मन्त्रीले बताए ।

यस्तै, विभिन्न देशको जेलमा रहेका र सजाए भोगिरहेकाहरु, जसलाई संम्बधित देशले आममाफी दिएको छ उनीहरु सरकारले गरेको तयारीको चौथौ नम्बरमा परेका छन्।

सम्बन्धित देशले निश्चित समयका लागि उनीहरुलाई आममाफी दिने भएकाले सो समय भित्र नेपाल ल्याउने व्यवस्था गर्नु पर्ने परराष्ट्रमन्त्रीले पेस गरेकोे प्रस्तावमा रहेको ती मन्त्रीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *