पिसिआर मेशिन र आइसोलेसनका लागि ७५ लाख प्रदान

डिसी नेपाल
१७ जेठ २०७७ २२:२८

सप्तरी । पिसिआर मेसिन सञ्चालनका लागि प्रदेश नं २ सरकारले आज गजेन्द्रनारायण सिंह अस्पताललाई रु ५० लाख प्रदान गरेको छ ।

पिसिआर मेशिन सञ्चालनको तयारी र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अस्पताल प्रमुख डा चुमनलाल दासलाई रु ५० लाखको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण गर्दै मन्त्री साहले रकमकै कारण कुनै काम नरोकिने बताउँदै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

यसैगरी मन्त्री साहले राजविराजस्थित भीमदल गणलाई शनिबार रु २५ लाखको चेक हस्तान्तरण गरेका छन्। कोरोना व्यवस्थापन कोषबाट मन्त्री साहले भीमदल गणलाई आइसोलेसन सेन्टर व्यवस्थापनका लागि चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले गजेन्द्रनारायण सिंह अस्पतालमा जडान भइरहेको पिसिआर मेसिन र साइकृष्ण कलेज एण्ड हस्पिटलमा बनिरहेको आइसोलेसन सेन्टरको निरीक्षणका साथै जानकारी लिए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आइतबार डेमो परीक्षण गरी सोमबारदेखि स्वाबको पिसिआर परीक्षण गर्ने योजना रहेको जानकारी दिए । पिसिआर मेशिन यही जेठ ९ गते नै राजविराज आइपुगेको हो । एक/दुई दिनभित्रै ९२ श्ययाको आइसोलेसन सेन्टर तयार हुने गणले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *