सङ्क्रमण फैलाउन सक्ने भन्दै नर्स र चिकित्सकमाथि आक्रमण

डिसी नेपाल
२१ जेठ २०७७ १०:१७

बीबीसी। मेक्सिकोकी नर्स लिजिया कान्टुन आफ्नो ४० वर्षे सेवामा स्वास्थ्यकर्मीप्रतिको अहिलेको जस्तो विषाक्त प्रतिक्रिया आफूले कहिल्यै नदेखेको बताउँछिन्। धेरै देशमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा अग्रपङ्क्तिमा काम रहेर काम गरिरहेका चिकित्सक र नर्सहरूको प्रशंसा भइरहँदा मेक्सिकोमा उनीहरूमाथि नै आक्रमण भएको छ।

उनन्साठी वर्षीया लिजियाले सन् २००९ मा स्वाइन फ्लू महामारी र सन् २०१३ मा हैजाको महामारीमा आफूले काम गरेको बताइन्। तर यस पटक केही मानिसहरूले विक्षिप्त व्यवहार गरेको उनले बताइन्।

एप्रिल ८ मा काम सकेर फर्कँदै गर्दा आफ्नै गृहनगरमा उनीमाथि आक्रमण भयो। कसैले नजिकै गाडी ल्याएर उनको ढाडमा तातो कफी पोखिदियो। आफ्नो गाडी हुइँक्याउनुअघि त्यसमा चढेका व्यक्तिहरू झ्यालबाट ‘सङ्क्रमित!’ भन्दै चिच्याए।

भाग्यवश गम्भीर चोट नलागे पनि उक्त घटना अझ दुःखद हुनसक्ने सम्भावना भएको उनी बताउँछिन्। एप्रिल महिनाको अन्त्यसम्म मेक्सिकोमा स्वास्थकर्मीहरूलाई लक्षित दर्जनौँ आक्रमण भए। मुख्यतः ती आक्रमणको निसानामा नर्सहरू परेको सरकारले भनाइ छ।

“यसले मलाई दुःखी बनाउँछ,” लिजिया भन्छिन्, “मानिसहरूले जसरी आक्रमण गरिरहेका छन् त्यसले मलाई अझ चोट दिएको छ। मानसिक आघात पुर्‍याएको छ।”

स्वास्थ्यकर्मीहरूलाई ‘निःसङ्क्रमण गर्ने’ प्रयासका कारण पनि कतिपय आक्रमणहरू प्रेरित भएको हुनसक्ने ठानिन्छ। आफ्नो कुकुर डुलाइरहेका बेला चिकित्सक एलोन्ड्रा टोरेसमाथि एप्रिलको दोस्रो साता सरसफाइ गर्न प्रयोग हुने ब्लीच छ्यापियो। उनी आफ्नो क्लिनिकमा कोभिड-१९ का बिरामी हेर्दिनन्। तर चिकित्सकले गाउने पोसाकका कारण आफूमाथि आक्रमण भएकोमा उनी विश्वस्त छिन्।

उक्त आक्रमणका कारण उनको घाँटी र छालामा एलर्जी देखियो। उनले भनिन्, “केही मानिसहरूलाई मलाई सफा गर्ने रसायन खन्याउनुपर्छ भन्ने लाग्यो। मेरो आँखा भतभत पोलिरहेको थियो र मैले देख्न सकिरहेकी थिइनँ।”

चिकित्सक र नर्स मात्रै होइन, अस्पतालमा काम गर्ने अरूलाई पनि आक्रमण भएका विवरणहरू आएका छन्। एक सफाइ कर्मचारीलाई उनको अस्पतालनजिकै बस बिसौनीमा ओर्लिन खोज्दा यात्रुहरूले आक्रमण गरेका थिए। “बस चढेपछि मैले तीनजना मानिसहरू आक्रामक भएको मैले देखेँ। उनीहरूले मलाई बारम्बार ‘फोहोरी’ भनिराखे तथा मलाई पिट्दा पनि त्यो शब्द उच्चारण गरिराखे। मलाई लाग्यो अब यो कहिल्यै पनि सकिँदैन।” उनको टाउको र अनुहारमा चोट लाग्यो।

प्रहरीका अनुसार ती कर्मचारीले अस्पतालमा काम गर्ने पोसाक लगाएकाले उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरेको छ। पच्चीस वर्षीया नर्स मेलोडी रोड्रिगेजले आक्रमणको खतराका कारण घरबाट विस्थापित भइन्। एप्रिल ८ मा नायारिट राज्यमा रहेको आफ्नो गाउँ लो डे मार्कोस फर्किदैँ गर्दा गाउँलेहरूको एउटा समूहले उनको बाटो छेकेको थियो।

उनी भन्छिन्, “उनीहरूले यदि म गाउँमा प्रवेश गरे फेरि बाहिर निक्लिन नदिइने बताए। आफू सङ्क्रमणको स्रोतबाट फर्किएकी हुनाले मलाई गाउँ नछिरेकै राम्रो भन्ने लाग्यो।”

उनका एक सहकर्मीले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा राखिदिएपछि स्थानीय अधिकारीहरूले मेलोडीका पक्षमा हस्तक्षेप गर्ने प्रयास गरेकाए। तर उनले सहरमा कोठा लिएर बस्ने निर्णय लिइन्।

“जसरी मैले आफ्नो ठाउँ छाड्नुपर्‍यो त्यसबाट मलाई एकदमै नराम्रो लाग्यो। किनभने उनीहरूले म हैजाबाट सङ्क्रमित भए जस्तो गरी व्यवहार गरे।” राष्ट्रपति एन्द्रेज म्यानुएल लोपेज ओब्रादरले केही हप्ताअघि स्वास्थ्यक्षेत्रमा कार्यरत सबै व्यक्ति देशका नायकनायिका भएको बताएका थिए।

“अहिले देखिएको विभेद निन्दनीय छ। हामी स्वास्थ्यक्षेत्रमा कार्यरत सबै जनालाई हाम्रो समर्थन व्यक्त गर्छौ,” उनले भनेका थिए। मेक्सिको सरकारले अस्पतालमा न्याश्नल गार्ड परिचालित गर्ने निर्णय गरेको छ। केही राज्यहरूले स्वास्थ्यकर्मीलाई लामो यात्रा गर्नु नपरोस् भनेर निजी यातायात र होटलका कोठा पनि उपलब्ध गराउने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले झन्डै ३८ प्रतिशतसम्म स्वास्थ्यकर्मीले आफ्नो सेवावधिमा भौतिक आक्रमण भोग्ने गरेको जनाएको छ। तर कोरोनाभाइरसको महामारीले मेक्सिकोमा यो जोखिमलाई अझ बढाएको ठानिन्छ।

विज्ञहरूले यस्ता आक्रमणलाई स्वास्थ्यकर्मीहरूले उपचार नभई रोगलाई साङ्केतिक रूपमा प्रतिनिधित्व गरिरहेको गलत मनोविज्ञानको उपज मानेका छन्। आक्रमणमा परेका स्वास्थ्यकर्मीहरूले पनि अज्ञानता र डरका कारण मानिसहरूले त्यसो गरेको हुनसक्ने बताएका छन्।

लिजिया आफ्नो कामलाई निरन्तरता दिने पक्षमा छिन्। “मेरो देश र मानिसलाई म आवश्यक छु। मसँग भएको सबै कुरा म दिनेछु।” अर्की नर्स मेलोडी भन्छिन्, “तपाईँहरूले हाम्रो प्रशंसा गर्नुपर्दैन। हामीलाई काम गर्न दिनुहोस्। हामी तपाईको सेवाका लागि छौँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *