चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर बदलीसँगै वर्षाको सम्भावना

डिसी नेपाल
२२ जेठ २०७७ १०:१४

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ।

अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताए।

उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ। “नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ”, मौसमविद् कँडेलले भने ।

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ।

निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ।

यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ। देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।

शनिबार प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *