महालेखा नियन्त्रक मैनाली भन्छन्- सार्वजनिक खर्च र आम्दानीमा पारदर्शी छौं

डिसी नेपाल
२३ जेठ २०७७ १४:३६

काठमाडौं। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले आफ्नो विवेक प्रयोग गर्नुपर्ने बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गरे।

उनले सार्वजनिक खर्चको विषमा पहिले गोपनीयतालाई प्राथमिकता दिने गरेकोमा अहिले पारदर्शीतालाई प्राथमिकता दिने गरिएको बताए। खर्च भएपनि पारदर्शि रुपमा भएन भन्ने गुनासो सधैं आउने गरेको भन्दै उनले पछिल्ला दिनमा पारदर्शितामा निकै सुधार आएको जिकिर गरे। “पारदर्शी छौं, पारदर्शितामा कमजोर छैनौं” उनले भने।

उनले विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै उनले भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको बताए। अनलाइनमार्फत समेत भुक्तानी प्रक्रिया सुरु भइसकेको उनले बताए।

संघीय लेखा समूहबाट स्थानीय तहमा कर्मचारी गए सहज हुने मैनालीले बताए। यस विषयमा विभिन्न नगरपालिका एवं गाउँपालिका प्रमुखसँग कुरा गर्दा उनीहरुको चाहना पनि सोही रहेको भन्दै संघीय लेखा समूहबाट कर्मचारी स्थानीय तहमा पठाउँदा सहज हुने उनले बताए।

कार्यक्रममा पुर्व महालेखा नियन्त्रक सुरेश प्रधानले बजेट बनाउँदा कार्यान्वयनको समेत प्रभावकारी योजना बनाइएमा खर्च हुन कुनै समस्या नहुने बताए। उनले सार्वजनिक खरिद योजनालाई प्रभावकारी ढंगले परिचालन गरिनुपर्नेमा जोड दिए। उनले खरिद व्यवस्थाका कारण खर्च हुन नसकेको बताए। एकल खाता कोषमा सुधार गर्दै जाँदा पारदर्शीता पनि बढ्दै जाने उनको भनाइ छ।

पेफाका संयोजक रमेशप्रसाद शिवाकोटीले पेफा सचिवालयबाट विभिन्न ९ वटा निकायमा सुधारको काम गरिरहेको बताए। उनले बजेट र राजस्व, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय योजना आयोगलगायत ९ निकायमा सुधारका लागि समन्वयको काम गरिरहेको उनले बताए।

उनले सार्वजनिक खर्च तथा व्यवस्थापनका विषयमा बजेट अडिटलगायत ७ वटा डाइमेन्सनका ३१ वटा इन्डिकेटरको आधारमा मूल्यांकन गरेर अगाडि बढेको उनले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *