चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति

डिसी नेपाल
२३ जेठ २०७७ १९:५१

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् शुक्रबार राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

“नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उनले भने । विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताए।

यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ । “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, उनले भने। ग्रहण आज राति ११ः३० बजे शुरु भई १ः०९ बजे मध्य हुनेछ । राति २ः४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । चन्द्रमा पृथ्वीको विरल छायाँमा पर्नु नै ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो ।

पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी सुनेको सुतक र देखेको ग्रहणमात्र लाग्ने शास्त्रीय मान्यताअनुसार आज राति लाग्ने चन्द्रग्रहणको प्रभाव नेपालमा नपर्ने भएको बताए। यो ग्रहण नेपाल र भारतबाट समेत हो कि जस्तो मात्र देखिने र प्रष्ट नहुने भएकाले यसलाई विरल छायाँ भनिएको पनि उनले बताए ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य नेपालबाट आँखाले नदेखिने ग्रहण आज राति लाग्ने बताउछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *