त्यत्रो घटना हुँदा उनले गुहार माग्नु पर्थ्याे : मेयर बजगाई

डिसी नेपाल
२ असार २०७७ १२:३१

काठमाडौं। कैलालीको लम्कीचुला नगरपालिकाका मेयर महादेव बजगाईले क्वारेन्टाइन व्यवस्थित नभएकै कारण महिलामाथि बलात्कार भन्ने आरोपमा सत्यता नभएको बताएका छन्। उनले घटना हुँदा महिलाले हारगुहार नगरेका कारण अन्य मानिसले घटनाका बारेमा जानकारी नपाएको बताए।

‘घटना भएको सार्वजनिक भएपछि मैले क्वारेन्टाइनमा खटिएकी महिला स्वास्थ्यकर्मीले तपाइँले घटना थाहा पाउनु भएन भनेर सोधेको थिएँ,’ नगरप्रमुख बजगाईले डिसी नेपालसँग भने, ‘उहाँले आफूले घटनाका बारेमा केही थाहा नपाएको बताउनु भयो ।’

मेयर बजगाईँले यो विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको बताए। नगरप्रमुख बजगाईका अनुसार उक्त क्वारेन्टाइनमा पीडित महिलासहित २० जनालाई राखिएको छ। एक जना पुरुष र एक जना महिला स्वास्थ्यकर्मीलाई स्वयंसेवकका रुपमा खटाइएको थियो। पीडित महिलालाई भने एउटा कोठामा एक्लै राखिएको थियो।

‘क्वारेन्टाइनमै राखेका बेला यस्तो जघन्य अपराध हुनु दण्डनीय काम हो’, नगरप्रमुख बजगाईले भने, ‘अहिले अपराधनमा संलग्न भनिएकालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। घटनाको वास्ताविकता चाँडै बाहिर आउने अपेक्षा गरेका छौं।’

नगरपालिकाको जिम्मामा करिब चार हजार मानिस क्वारेन्टाइनमा रहेको उल्लेख गर्दै नगरप्रमुख बजगाईले चार हजार मानिसको व्यवस्थापन गर्ने काम निकै चुनौती पूर्ण रहेको बताए। संघीय र प्रदेश सरकारले कुनै सहयोग नगरेको गुनासो गर्दै उनले क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै आलोचना भइरहेको तर आफूहरुलाई चार हजार मानिसको व्यवस्थापन गर्न निकै समस्या भइरहेको सुनाए। महिला बलात्कार भएको कोठा नजिकै अन्य मानिसहरु पनि क्वारेन्टाइनमा बसेका थिए।

कैलालीको लम्कीचुला नगरपालिका–१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। भारतबाट आएकी पीडित महिलासहित अन्य २० जनालाई नगरपालिकाले सहिद स्मृति माविको क्वारेन्टाइनमा राखेको थियो।

टिनको छाना भएको भवनको एउटा कोठामा पीडित महिला एक्लै थिइन्। आफू एक्लै भएको अवस्थामा स्वयं सेवक बसेका युवाहरुले आफूलाई जबर्जस्ती गरेको महिलाले आरोप लगाएकी छिन्। अहिले प्रहरीले बलात्कार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *