पर्यटन प्रवर्द्धन गर्न ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुँदै, उत्कृष्टलाई एक लाख पुरस्कार

डिसी नेपाल
१७ कार्तिक २०८३ १८:३७

काठमाडौं। नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ।

कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली मौलिक परम्परालाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ। भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ भने अंग्रेजी उपशीर्षक वा अंग्रेजी भाषाको स्वराङ्कन अनिवार्य गरिएको छ।

सहभागीले भिडियो सार्वजनिक गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साथै, इन्स्टाग्राममा @nepaltourism र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पृष्ठलाई ट्याग गर्नुपर्नेछ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभको लिङ्क [email protected] मा इमेल गर्नुपर्नेछ। भिडियो मौलिक सिर्जना हुनुपर्ने र प्रतियोगितामा सहभागी हुने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ।

दशैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा देशभरका एक सय स्थानमा लिङ्गे पिङ राखिएको थियो। कुकुर तिहार रिल प्रतियोगितालाई पनि नेपाली संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयासका रूपमा अघि बढाइएको बोर्डले जानाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *