संरक्षणकोे पर्खाइमा अकला गुफा

डिसी नेपाल
५ असार २०७७ १६:३१

कावासोती । नवलपुरको पहाडी क्षेत्र अन्तर्गत पर्ने बौदिकाली गाउँपालिका –२ डेढगाउँको अकला गुफाको संरक्षण र प्रर्वद्धन नगरिदा ओझेलमा परेको छ । पर्यटनको सम्भावना रहेको यो गुफा करिब ८० मिटर लम्बाइको छ । गुफाको एक भागबाट अर्कोभागमा निस्किदा धेरै जसो स्थानमा उठेरै पार गर्न सकिन्छ ।

मुख्य प्रवेशद्धार र भित्री भागमा सरसफाई नहुँदा पर्यटक भित्र प्रवेश गर्न खोज्दैनन् । बर्षामा भलपानीसहित प्लाष्टिकजन्य फोहर र माथिल्लो भागबाट फोहर सहितको पानी पस्दा यस क्षेत्रलाई दुर्गन्धित बनाउने गरेको छ । यसको व्यवस्थापन र सरसफाईमा भने कसैको ध्यान जान सकेको छैन् । चमेराको बथानसहित भित्री भित्तामा देखिनेकलात्मक आकृतिले गुफाको आकर्षण बढाएको छ ।

गुफाको संरक्षणको लागि अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण समिति बनाइएको छ । पर्यटकीय संभावनाको क्षेत्र बन्न सक्ने भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागि समिति निर्माण बनाएर काम थालिएको समितिका अध्यक्ष हरि सारुमगरले बताए । अकलादेवी मन्दिरसँगै गुफा छ । मन्दिर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुफासम्म पु¥याउन सके गुफाको महत्व बढने समितिका अध्यक्ष सारु मगरले बताए । निर्माणाधिन कालिगण्डकी करिडोरसँगै गुफा रहेको छ । यसको व्यवस्थापन, भित्र अध्यारोमा बत्तिको व्यवस्था गर्न सके डेढगाउँसम्म आउनेहरुका लागि यो अवलोकनको प्रमुख स्थान बन्नसक्ने उनले बताए।

गुफासहित अकलादेवी मन्दिर संरक्षण तथा व्यवस्थापनका लागि डिपिआर तयार गरी केन्द्रीय योजनामा समावेश गराउने पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । यसको विकासको लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट रु। ४० लाख बजेट विनियोजन भएको अधिकृत सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *