निजी विद्यालयले शुल्क लिने भनेपछि अभिभावक तनावमा

डिसी नेपाल
९ असार २०७७ ११:५७

नुवाकोट। लकडाउनले गर्दा लामो समयदेखि शिक्षण संस्था बन्द छन्। सरकारले वैकल्पिक रुपमा पठन पाठन गराउन आग्रह गर्दै आएको छ। तर लामो समयदेखि शिक्षण संस्था बन्द पनि निजी शिक्षण संस्थाले शुल्क तिर्न अभिभावकलाई ताकेता गरेपछि आफूहरु मारमा गर्ने गुनासो गरेका छन्।

लकडाउनको समयका आम्दानीको स्रोत नहुँदा विद्यालयको शुल्क कसरी बुझाउने भन्ने अभिभावकमा चिन्ता परेको छ।  नुवाकोट विदुर– ३ मा निजी विद्यालय अध्ययरत सुप्रीया वस्तीकी अभिभावक भन्छिन्, ‘लकडाउन भएको लामो समय भयो। आम्दानीको स्रोत नहुँदा बिहान बेलुका छाक टार्न मुस्किल छ। श्रीमान कमाउन जानुभएको पनि काम रोकियो। यस्तो समयमा छोरीलाई नै नपढाइ कसरी शुल्क तिर्न सकिन्छ?’

काम नभएपनि कसरी चुल्हो बालौं भन्ने चिन्ता भएका बेला विद्यालये शुल्क लिने कुराले झन चिन्ता थपिएको उनको भनाइ छ।

बालबालिकालाई एकदिन पनि विद्यालय नपठाएको तर शुल्क तिर्नुपर्ने भन्ने बिषय बालुवामा पानी खनाएको जस्तै हुने भन्दै नुवाकोट बेलकोटगढी नगरपालिकास्थित भिमेश्वर बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक रन्जिता न्यौपाने भन्छिन्, ‘ यसरी त हामी सिधै मारमा पर्छौं, बच्चालाई सुखले बोर्डिङ पढ्न पठाएको होइन। हामीलाई छाक टार्न पनि गाह्रो छ। एकदिन बच्चालाई स्कुल नपठाइ शुल्क तिर्नु भनेको जानिजानी बालुवामा पानी हाल्नुजस्तै हो।’

प्राय सामान्य परिवारबाट बालबालिकाको भविष्यको चिन्ता गर्दै निजी विद्यालय भर्ती गरेका अभिभावकलाई ठूलै संकट आइलागेको अभिभावकले बताएका छन्।

बैरिनीस्थित सक्सेस विद्यालयमा कक्षा चारमा पढ्दै गरेका सुरज वस्तीका अभिभावक केदार वस्ती भन्छन्, ‘हामी सामान्य परिवारका हौं। छोराले पढाइमा ठूलो प्रगति गर्लाजस्तो लागेर मात्रै निजी विद्यालय पठाएको हो। धेरै परिश्रम गरेर पढाएका छौं। काठमाडौंमा सामान्य ट्याम्पु चलाउँथे, त्यो पनि बन्द भयो। अब कसरी विद्यालय शुल्क तिर्नु?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *