‘राष्ट्रिय अरनिको सम्मान’ प्रदान

डिसी नेपाल
९ असार २०७७ २०:५४

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले आज विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ । कोभिड–१९ सङ्क्रमण जोखिमका कारण आज दुई अलगअलग कार्यक्रम गरी पुरस्कार र सम्मान प्रदान गरेको नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

यसपालि कलाकार शङ्करनाथ रिमाल र शन्तकुमार शाक्यलाई जनही रु एक लाख नगदसहित राष्ट्रिय अरनिको सम्मान प्रदान गरिएको हो । नाफाले रु २५ हजार राशिको ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार’ प्रा डा लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार’ केशवराज खनाललाई प्रदान गरेको छ ।

गत वैशाख २ गते ललितकला प्रदर्शनीका क्रममा वितरण गर्ने भनिएको उक्त पुरस्कार कोभिड–१९ का कारण रोकिँदै आएको थियो । प्रदर्शनीलाई अब वैकल्पिक (भर्चुअल) माध्यमबाट गर्ने तयारी गरिएको कुलपति कर्माचार्यले जानकारी दिए ।

प्रदर्शनीका लागि सङ्कलन भएका कलाकृतिको मूल्याङ्कन गरी अन्य विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिएको छ । यसअनुसार राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकलातर्फ कास्कीका मिलन शेरचन, मूर्तिकलातर्फ ललितपुरका सुरेश तुलाधर, आधुनिक मूर्तिकलातर्फ भक्तपुरका भुषण दुवाल, परम्परागत चित्रकलातर्फ भक्तपुरका कृष्णराम घेमेसु, आधुनिक चित्रकलातर्फ पर्वतका गणेश जिस, लोककलातर्फ धनुषाका लक्ष्मण मण्डल, वास्तुकला तथा सिर्जनात्मक कलातर्फ काठमाडौँका प्रमिला लामालाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ६० हजार छ । अन्य १५ जनालाई रु २५ हजार राशिको ललितकला विशेष पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै प्रादेशिक पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट मोरङका कौशिला राई, प्रदेश नं २ बाट सप्तरीका रुविकुमार कर्ण, वाग्मती प्रदेशबाट काठमाडौँका प्रकाश मिजार, गण्डकी प्रदेशमबाट कास्कीका दलबहादुर गुरुङ, प्रदेश नं ५ बाट रुकुमका आकाश बुढामगर, कर्णाली प्रदेशबाट मुगुका मीनबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट कैलालीका गणेशदेवी चौधरीलाई पुरस्कार प्रदान गरिएको नाफाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *