चुरा (कथा)

म्यासेजरमा म्यासेज आएर उनलाई पर्खेर बसेको रैछ । घरको कामले भ्याइ नभ्याइ हुन्थ्यो जौमायालाई । कतिदिनमा आज फेसबुक खोलेकी थिइन् ।

एकाबिहानै घरको धूरीमा काग कराएको थियो । अहिले नै यस्तो खुसीको समाचार हेर्न पाइन् । अफलाइन म्यासेजमा विनयले लेखेको थियो – म अर्को हप्ता आउँछु पियारी, मलाई लिन काठमाण्डौको एयरपोर्टमा आउ है काली । विनय अफलाइनमा थियो रातो बत्ती स्थिर भएर बलेको थियो तर यो खवरले जौमायाको हृदयमा उज्यालो भएर अन भयो खुसीको हरियो बत्ती पिलिक पिलिक ।

झ्यालबाट बाहिर हेरिन्, आकाशमा कालो बादल माडारिइरहेको थियो तर संसारै उज्यालो लाग्यो जौमायालाई । आखिर खुसी भन्नु पनि मनको त रहेछ नि । घामजूनले उज्यालो पार्न नसकेको उनको मन आज खुसीले हाँसेको छ, नाचेको छ । आफ्नो मनको मान्छे आउँदैछ भन्ने समाचारले पुलकित भएकी छन् जौमाया ।

कोठा बाहिर निस्किएर सासुलाई सुनाइन्– आमा अर्को हप्ता उहाँ नेपाल आउनु हुन्छ रे, काठमाण्डौ एयरपोर्टमा लिन आउ भन्नु भएको छ । छोरी सुहानी आँगनमा खेलिरहेकी थिइन् । छोरीलाई सुनाइन् तिम्रो बाबा आउने रे छुनुमुनु । दुइ बर्षकी छोरी खुसी हुँदै – ‘मेलो बाबा आउने, मेरो बाबा आउने’ भन्दै उफ्रदै खेल्न थालिन् ।

सासुले ओठ लेप्रयाइन् र भनिन् – ‘अहो लोग्ने आउँछ भनेर भूइँमा न भाँडामा भै छस् है नकटी । मेरो छोरो आउने हो, तेरो लोग्ने भन्दा पहिले मेरो छोरो हो, बुझेस् ब्याङ्ग्री । जा खुरुक्क घरको काम गर, बढारकुढार राम्रोसँग गर, घर पुछ, घरको काम असरल्ल छ । तेरा हर्कत तेरो पोइलाई सुनाइदिउँला नि फेरि । याद राखेस्, मास्टरनी भएँ भनेर धेरै चुमुकचुमुक गर्ने होइन गुरुङकी छोरी ।

मैले रिन धन गरेर पठाको हो दुबइ । मेरो त एउटै छोरो हो बुझिस् । चिना हेराउनीले नि मेरो छोराको दुई व्याको संजोक छ भनेको छ । राम्ररी काम गरिनस् भने तँ गुरुङकी छोरीलाई पाखा लाएर आफ्नै जातकी बुहारी भित्र्याउँछु नि, ख्याल राखेस् पतुर्नी । राम्रोसँग रिझाएस् हामीलाई ह्याँ ।’

नन्दहरु आ–आफ्ना कोठाकाट बाहिर निस्किएर भाउजुलाइ बचन लगाए – ‘यसलाई डर नभको सासुको अगाडि लोग्नेको कुरा गर्छे, हाम्रो दाइ आउने हो बुझिस् ।’ यस्ता कुरा जौमायालाई घिउभात जस्तो भएको थियो, एक कानले सुनेर अर्को कानले उडाइदिन्थिन् । मन दुख्थ्यो तर कस्ले पढ्थे र उनको मन ? झगडा गर्दिनथिन् तर जून जस्तो उज्यालो अनुहार, आँखाभित्रै आँसु लुकाएर हाँसेरै घरको काम गर्नु उनको दैनिकी भएको थियो ।

करोडौको सम्पत्ति थियो तर पनि सधैँ केही छैन भनिरहथिन् सासु । सासुले चाहेको भए छोरालाइ विदेश नपठाएर नेपालमा नैं उसको इच्छा अनुसार पढ्न र अघि बढ्न सक्थ्यो । घरको मूली आमाले नै धन भएर पनि मन नभएको बहाना गरे पछि विनयलाई जबरजस्ती विदेश जानु पर्यो आफ्नी दुइ जीउकी कलिली श्रीमती त्यो घरमा छोडेर । तर दरिद्र मन र सोच भएको त्यो घर सधैँ अशान्त मात्र भैरह्यो ।

विनयका बाबु कतारमा भएकोले आमा र छोरीको रजाइँ थियो घरमा । जौमायाका नराम्रा कुराहरु गरेर, उनको बारेमा नराम्रो छाप पारिदिएर बोल्नै दिँदैनथे सासु र नन्दहरुले सुसुरासँग पनि ।

नन्दहरु एउटी आफूभन्दा दुई बर्ष जेठी, एउटी एक बर्षले कान्छी । नन्दभाउजुहरु उस्तै उमेरका थिए भनौं । दुवै जना पढ्दैथिए तर उनीहरुको मनमा शिक्षा र चेतनाको एउटै बीउसम्म देखिँदैनथ्यो । उनीहरुमा भाउजुप्रतिको ईष्र्याको विष यतिविधि घोलिएको थियो कि नारी जातिको नाममा कलंक नै थिए भन्दा पनि फरक पर्दैन । सासु पनि सात कक्षा पास थिइन् । लोग्नेकै धनमा रजाइँ गर्दै थिइन् तर बुहारीलाई चाँही फुटेको अँखाले पनि देखिसहँदैनथिन् ।

स्वास्नी पाल्ने हिक्मत नभको मान्छेले स्वास्नी ल्याउछ भनेर छोरालाई पनि अनेक गाली गर्थिन् आमाले । छोरोको बोली नबिक्ने घरमा बुहारीको त बोली नै बन्द थियो । गर्भावस्थामा मासु खान मन लागेको कुरा सासुलाई भनिन् तर सासुले बचन लगाउँथिन्– हामीले सुत्केरी हुँदा झोलभात त खान पाएनौँ, यसलाई मासु खान पर्ने, खान मन हुनीले आफैँ कमाएर ल्याउनुपर्छ ।

छोरी सुहानी जन्मँदा पनि यसले बच्चा पाइ अब हाम्रो दाइले आफ्नी छोरीलाई मात्र माया गर्छ भनेर भाउजुलाई जाबी छोरी पाउनी ठिस आइमाईसम्म भने नन्दहरुले । भान्सा छुनहुँदैन भनेर भान्सामा छिर्नै नदिने, छोरीलाई पनि सासुले खान नदिएर कति छाक त पेट बटारेर सुत्नु परेको छ जौमाया र छोरीलाई । धनी घरकी गरिब बुहारी थिइन जौमाया ।

सुत्केरी अवस्थामा पनि कस्तो संस्कार त्यो घरमा ? मार्बल लगाएको चिसो छिँडीमा पातलो ओढ्ने, ओच्छ्याउने दिएर गुन्द्रीमाथि सुत्न लगाइन् सासुले । आमा मन पनि किन यस्तो ढुंगा जस्तो कडा हुन्छ होला मनमनै सोचिन् र आफ्नी आमाले भाउजुहरुलाई सुत्केरी बेलामा गरेको स्याहारसुसार सम्झिइन् ।

उनकी सासु घिउ गनाउँछ, ज्वानो गनाउँछ भनेर भात पनि आधा काँचो र सुँघ्दा घिउको बासमात्र हो कि झैँ गरेर खान दिन्थिन् । अरु बेलामा मासु जति पनि खाने सासुलाई मासु गनाउँथ्यो, उनी सुत्केरी हुँदा । तेल गनाउँछ भनेर थोरै तेल तताएर जुनेलीलाई दिन्थिन् र भन्थिन्, हामीले तेल नलगाइ तीनटा बच्चा हुर्काइयो, अर्घेला त कति गए कति, अचेलकालाई तेल मालिस गर्नु पर्ने । हाम्रा त सासु नि बेलैमा बितिन् कस्ले खान लाउन दिने ? यस्लाई मैले दिइराछु र सुख पाइछ । जूनेलीले सासुको कुरा सुनिन् अनि जौमायालाई टिठ लाग्दो गरेर हेरिन् र मनमनै विचार गरिन् – यस्ती सासु भएकोभन्दा त नभएकै जाती।

तेल लगाउने जुनेली दिदीले भन्थिन् – आमा हजुरकी बुहारी बलियो बनेपछि भोलि पर्सी बुढेसकालमा त हजुरको सेवा गर्छिन् नि । सासुले कालो मुख बनाउँदै भन्थिन् – इस गर्छे सेवा यो ढंग नभकी आइमाइले । केही काम आउँदैन यो गुरुङकी छोरीलाई । डंडेलीकी छोरी सत्रसय फाँटको बजारको पक्की घरमा बस्न पाकी छ अनि भूँइमा न भाँडामा भकी छ जडौरी आइमाई । आफ्नी बुहारीलाइ केके भनेकी होलिन् सासुले – तेल लगाउनी जूनेली दिदीले जिब्रो टेकिन् यस्तो सुनेर ।

घरको रंग बिग्रिन्छ भनेर आगो पनि बरण्डामा बाल्न दिदैनथिन् सासुले । मलाइ त धुवाँ गनाउँछ भन्दै नातिनी र बुहारीको छेउमै पर्दैनथिइन् सासु । तर नातिनीलाई नुहाएको, बुहारीलाई तेल, पाउडर लगाएको जस्तो गरेर फोटो खिचेर फेसबुकमा पोष्ट गर्दथे सासु र नन्दहरुले । विदेशमा भएका बाबु, दाजु पनि दंग परे, यस्तो विधि माया देखेर । फोटो देख्नेहरु सबैले भने – आहा कति मायागरेका सासु र नन्दहरुले बुहारीलाई । भित्री रहस्य कस्लाई के थाहा र ?

विदेशमा हुनु भएको जौमायाको बुबापनि नातिनीको फोटो हेरेर दंग पर्नु भयो । कस्तो राम्रो पढाइ थियो जौमायाको । पढेर आफ्नो नाम राख्छे र केके न हुन्छे, भनेर आशा गरेकी छोरी आफ्नो नाक काटेर एक्कासी पोइला जाँदा पहिले रिसाए पनि अहिले जौमायाको बुबा पनि घरपरिवार त असल परेछन् भनेर खुसी हुनु भयो र जौमायाकी आमालाई फोन गर्नुभयो । छोरीको घरका मान्छेको चाला सबै बुझेकी जौमायाकी आमाले बाबुलाई पिर पर्ला भनेर केही भनिनन्, बस बुबाको कुरा सुनिरहिन् मात्र ।

उनले भाउजुहरुलाई कति माया गर्दथिन्, भाउजु सुत्केरी हुँदा र भदा भदैनीहरुलाई तेल लगाइदिने र थाङ्ना धुने पनि गर्दथिन् । त्यो ठकुरी क्षेत्रीको घरको संस्कार त्यस्तो हो कि व्यवाहार त्यस्तो हो बुझ्न सकिनन् जौमायाले । तर सँगै घर भएका माइला सासुससुराकी बुहारीलाई गर्भावस्थामा दुध किनेर खुवाएकी थिइन् माइली सासुले, बुहारीलाइ जे मनलाग्यो त्यही ल्याएर दिन्थे । माइली सासु, नन्द आमाजु बुहारीसँग मिलेर काम गरेको देखेकी थिइन् जौमायाले ।

हेर न माइला बाउकी बुहारीलाई दुध किनीकिनी खान दिएका । भोलीपर्सी बुहारीले टाउकामा टेक्छे अनि था हुन्छ भन्दै नन्दहरुले आफ्नी आमालाई उचाल्थे– बुहारीलाई त डर देखाएर, तर्साएर पो राख्नु पर्छ है आमा ।

नन्दहरुले जौमायालाई अत्याचार गर्दा आफू पनि अर्काको घरमा जानु पर्छ भन्ने कुरा भुसुक्कै बिर्सन्थे । भाउजुलाइ त केही दिएनन् फुपुहरु माइत अउँदा पनि सधैं नमिठा बचन लगाउँथे –उल्फाको धन फूपूको श्राद्ध । तर आफ्ना मावलीहरु आए भने अति खुसी हुन्थे ।

छोराछोरी पाउनेले कमाएर खुवाउनु, हुर्काउनु पर्छ आफैंले । डंडेलीकी छोरी ढिडो खाएर हुर्केकी केको भात पच्थ्यो र भन्दै बचन लगाउँथिन् सासु । तर उनको माइतीमा कहिल्यै ढिंडो खाएको याद छैन जौमायालाई । सासुकै माइती बरु कहिल्यै घाम नलाग्ने विकट गाउँमा थियो । जे भन्यो त्यही खाएर, लाएर, पुलपुलिएर, पढेकी, बढेकी एक्ली छोरी थिइन् जौमाया ।

गुरुङकी छोरी भए पनि संस्कार राम्रो थियो जौमायाको माइतीमा । सासु र नन्दले जति गाली गरे पनि झगडा गरिनन्, रिसाइनन् जौमाया बरू संधै सेवा र सत्कार गरिरहिन्, नमिठो बचन लगाइनन् । आमाले भनेको सम्झन्थिन्, सोच्थिन् – रिसले खा आफू, बुद्घिले खा अरु । अठार बर्षकी जैमायामा पनि कति छिटो परिपक्वता देखियो । उमेरले भन्दा समय र परिस्थितिले मानिसलाइ पक्का बनाउँदो रहेछ ।

सुत्केरी भएको दुई महिनामा जौमायालाई रगतपच्छे भयो, सासुलाई सुनाइन् । तर उल्टै सासुले गाली गरिन् – तँ छाले नौटंकी आइमाइलाई के भएर बग्छ हँ रगत ? के काम गरिछस् तैंले ह्याँ ? धान परालको भारी बोकिछस् कि घाँसको भारी बेकिस् हँ ? पक्की घरमा बस्न पाएकी छ, यसलाई खान पाएर मातो लागेको छ । काम गर्नको अल्छीले अनेक बाहाना गर्छे डंकिनी । बिरामी भए माइत जा न । यो घराँ कहिल्यै बिरामी हुन पाइदैन बुझिस् । कुकुरलाई घिउ नपचेको नि – नन्दहरुले थप्थे । गालीको अर्को रुप हेर्नु थियो भनें जौमायाका सासु र नन्दलाइ हेरे पुग्थ्यो ।

गाउँको भकारो सोहोर्नु पर्ने, दिनदिनै गोबर माटोले पोत्न पर्ने घरमा बिहे हुनु पर्थ्यो अनि थाहा पाउँथी । हेर यो सबै सम्पत्ति मेरा छोरीलाई दिन्छु बुझिस्, तँ हाँडीघोप्टेलाई दिम्ला नि भन्दै सराप्थिन् जौमायालाई । नन्दहरुले अमाको कुरामा हो मा हो मिलाउँथे – यो हाम्रो भाग खोस्न अएकी अलच्छिनी अइमाइलाई केही नदिनु है आमा । हामीले खाइनखाइ बनाएको घर हो यो, तैले रजाइ गर्लिस् खुब ।

किन आफ्नै सासु आमाले एउटै बुहारी माथि यस्तो रिस र ज्यादती गर्न सक्छिन् हँ ? कैले काहीँ त जौमाया मनमनै सोच्थिन् – विनयकी सौतेनी आमा पो हुन् कि यिनी ?

सासुले जौमायालाई भन्थिन् – छोरीहरुलाई केही काम लगाउनु हुँदैन, उनीहरुले रोजेको कोठामा सुखले बसाउनुपर्छ । भोलि बिहे गरे पछि कस्तो घर पर्छ के थाहा ? सुत्केरी जौमायालाई चाहिँ कहिल्यै घाम नलाग्ने कुनाको छिडीको कोठामा राखेका थिए । सासुले भन्थिन् – उ त्यो हिमालको चिसोमा कहिल्यै तातो घाम लाग्छ र ? त्यो बाँदर लड्ने भिरमा पनि बच्चा जन्मे, हुर्केका छन् क्यारे । सासुका यस्ता बचनले जौमायाको मुटुमा ढ्यांग्रो ठोक्थ्यो ।

जौमायाले मीठो मसिनो, खान त के हेर्न सुघ्न पनि पाउँथिनन् । तर जौमायालाई हरेक कुरामा ताल्चा लगाइएको थियो । मीठा खाने कुरा र घिउ सासुको कोठामा राखिएको हुन्थ्यो । मेरा छोरीले खान पर्छ भन्दै सासुले घिउभात खुवाउँथीन् छोरीलाई मात्र । जौमाया केवल थुक घुटुघुटु निलेर भोको नजरले हेर्दथिन् र माझ्नलाई चिल्ला जुठा भाँडा उनका भागमा पर्दथे ।

कति पटक सासु र नन्दहरु बजार गएर मम, समोसा खाएर घरमा आएर कति मिठो थियो आजको खाजा भन्दै सुनाउँथे तर घरमा दुःख गरेर बसेकी जौमायालाइ बासी भात र दाल तरकारी टकार्दिन्थिन् सासुले ।

कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि, उनीहरूको सोचले जे भ्यायो, त्यही गरे । हैट, यस्तो जुनी त कुकुरको पनि हुँदैन होला, जस्तो जौमायाले भोग्दै थिइन् । जिउँदै थिइन् त केवल विनयको माया र माइतीको इज्जत सम्झेर जिउँदै थिइन् भनौं ।

बर्षमा एकपटक तीजमा सारी त किनिदिन्थिन् सासुले । बजारबाट बाटोमा आउँदा बुहारीको लागि किनिदिएको सारी भन्दै अरुलाई देखाउँदै आउँथिन् । हात्तीको देखाउने र लुकाउने दाँत फरक भए जस्तै सासुको यस्तै चालाले आजित भएकी थिइन् उनी। जौमाया कहिल्यै घरबाट निस्केर कसैसँग भनेको भए पो घरमा कस्तो व्यवहार छ भन्ने कुरा अरु गाउँलेलाइ थाहा हुनु र ।

तीजको दिनमा झपक्कै गहना र टिकापोते र सारीमा सजिएर ढल्कँदै नाचेकी जौमायालाई देखेर गाउँलेले भन्थे – कति माया गरेका बुहारीलाई, छोरा विदेशमा भए पनि । मनको बह कसैलाई नकह, जौमाया खुसी नैं देखिन्थिन् सबैको अगाडि । मेरो बाबुले बनाएको घर भन्दै खुट्टा बजारेर हिड्थे नन्दहरु पनि । आफ्नो लागि घर आफैँ बनाउनु पर्छ, हामीले आफैँ बनायौँ, तिमीहरु पनि आफैँ बनाओ ।

विनयले कमाएर पठाएको पैसाको मुख देख्न पाइनन् जौमायाले, कसरी जग्गा जोड्नु र घर बनाउनु अनि आफू पालिनु र बच्चा पाल्नु त नि ? धनको मुख हेर्ने भए उहिल्यै छोडेर जान्थिन् होला जौमायाले । यस्ता पापीको खली खपेर किन बस्थिन् होला र ?

बिहे गरे पछि छोरी ज्वाइलाई माइतमा भित्र्याएका थिएनन्, बिहे गरेको एक दुईमहिनामै विदेश गएको विनय नेपाल आएपछि साइत हेरेर माइतमा भित्र्याउने कुरा थियो ।

माइत जाउँ भने जाने बाटो फुकेको छैन, मर्नु न बाँच्नुको जीवनभयो जौमायालाई । कहिले काहीँ त मरिदिउँ जस्तो लाग्थ्यो । सिलिङबाट घाँटीमा बाँधेको पासो पनि छोरीको मुख हेरेर, विनयको माया सम्झेर र माइती सम्झेर पासो खोलेकी थिइन् पटकपटक जौमायाले ।

हरे कहिल्यै नसोचेको र कल्पनासम्म नगरेको जिन्दगी भोग्दै थिइन् जौमाया । आखिर विनयको मायाले जैमायालाई केबाट के बनाएर राख्यो आज । लोग्नेको माया नि थिएन भने त कसरी बस्दी हुन् त्यो घरमा ।

मायामा नैं संसार अडेको छ भन्थे तर गरिबीसँग मायाले पनि हार्दाे रहेछ । आफ्नो कमाइ नभएकोले गर्भावस्थामा र सुत्केरी अवस्थामा पनि माया नगरेका सासु र नन्दले अब कहिल्यै माया गर्लान् भनेर सोच्ने बाटो रहेन जौमायालाई । कहिलेकाहीँ माइतीले खाने कुरा नल्याइदिने र पैसा नदिने भएको भए भोकै मर्थिन् हेला जौमाया ।

छोरी नजन्मिदै त सबै सहिन् तर छोरी जन्मिएपछि र छोरी धेरै बिरामी हुँदा समेत सासुले माया नगरेपछि सोचिन् – आफ्ना छोरीलाइ यती धेरै माया गर्ने सासुले नातिनीलाइ चाहीँ किन यति धेरै हेलागरेकी होलिन् । पहिले सासु र नन्दहरुले जति गाली गरे पनि सहंदै आएकी जौमायाले नातिनीलाई पनि माया नगरेका हुन् भन्ने कुरा बुझेपछि बल्ल उनको घैंटामा घाम लाग्यो – उनलाई सासुले पक्कै मन पराएकी रहिनछिन् ।

विनयले पनि आमाको कुरा सुन्छ । अमाकै करले विदेश गएको छ, मसँग राम्रो च्याट गरेपनि आमाको कुरा मान्छ होला र दोश्रो बिहे गर्छ होला भनेर डराउँथिन् ।

एक मन सोच्थिन् –केटा मान्छेको मन न हो, आमाको कुराले उसको मन फेरिन के बेर र ? अर्को मनले सोच्थिन् – मेरो विनयले मलाइ धोका दिन सक्दैन ।

अन्याय गर्नु भन्दा अन्याय सहनु महापाप हो –उनले कतै पढेकी या त सुनेकी थिइन्, यो भनाइ झट्ट सम्झिइन् ।मैले अन्याय सहेँ तर यस्तो घरमा मेरी छोरी हुर्किन सक्दिन, मेरी छोरीलाई यस्ता राक्षस सासु र नन्दको छायाँबाट जोगाउनु पर्छ । अब मैले केही गर्नुपर्छ । उनले नजिकैको विद्यालयमा गएर जागिरको लागि कुरा गरिन् । जौमायाको खुबी देखेका हेडसरले बिद्यालय व्यवस्थापन समितिसँग कुरा गरे । उनले कुरा गरेको भोलिपल्ट नै बिद्यालयले उनलाई तत्काल राहत कोटामा अंग्रेजी शिक्षकमा नियुक्ति दियो ।

भएको छ राम्रैको लागि भएको छ भनेर महाभारतमा श्रीकृष्णले भने झैं, हरेक नराम्रो घटना राम्रो दिनको आगमनको लागि हुने रहेछ । समय भन्दा बलवान र भाग्य भन्दा ठूलो केही पनि छैन । त्यसैले समय भन्दा अघिकेही पनि पाइदैन रहेछ । जौमाया आफ्नो बुद्धिको उपयोगले लक्ष्यको मार्ग पहिल्याउन सफल भइन् ।

बल्ल जौमायाले आत्मसुखको सास फेर्न पाइन् । विद्यालयमा मेहेनत गरेर पढाइन्। त्यहिको कलेजमा एघार कक्षामा भर्ना भएर पढ्न पनि थालिन् । छोरीलाई आफूसँगै बिद्यालयमा लिएर गइन् र प्ले ग्रुपमा भर्ना गरिदिइन् ।

जौमायाले आफ्नो खुट्टामा उभिएर बिद्यालयमा पढाउन थालेपछि अझ बढी रिस गरिरहेकी थिइन् सासुले र तिललाई पहाड बनाउन नन्दहरू पनि त थिए नि । विदेशमा भएको छोरालाई फोनबाट अनेक बहाना पारेर कुरा लगाउँथिन् – स्कूल जान्छे, कोकोसित गफगर्दै घर फर्किन्छे । तेरी स्वास्नीको चाल ठीक छैन है छोरा, घरको काम पनि गर्दिन । अस्ती मुकुन्द सरसँग गफ गर्दै कहाँ गएर आकी हो कुन्नी, टाउको भरी अविर दलेर साँझपख घर फर्केकी थिई । मेरो टाउकामा टेक्नी भकी छ तेरी स्वास्नी आजकल ।

विनयले जौमायाको मन विचार गर्न र इमोबाट आँखा जुधाउँदै सोध्यो जौमायालाई – अस्ती कहाँ गएकी थियौ पियारी ? जौमायाले भनिन् –अस्ती विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको थियो, मुकुन्द सर रमैले बिद्यार्थी लिएर गएका थियौँ श्री सर्वोदय मा.वि.मा । हाम्रो विद्यालय प्रथम भयो र अविर लगाएर आएकी थिएँ कालु ।

ल बधाइ, यस्तै प्रगती गरिराख हैनेप्टी भन्दै जिस्किदै कुरा गरिरह्यो विनय । जौमाया विनयको मायाले भरिएकी थिइन्, गफ गर्दै निदाइन् । छोरी काखमा च्यापेर इमो अफ गर्न बिर्सिएकी जौमाया र छोरीलाई धेरैबेर धित मरुन्जेल हेरिरह्यो, विनयले उतैबाट इमो आफ गर्यो । दुवै जना बुझ्ने भएकाले हरेक समस्या सुल्झाउन सजिलो हुन्थ्यो । आखिर विश्वास र भरोसामा नैं चलेको छ यो संसार ।

बिद्यालयमा पढ्दा चञ्चले, मायालु र जून जस्तै गोरी जौमायालाई देखेर प्रायः सबै लोभिएका थिए । पढ्नमा पनि अति तेज, कक्षमा पहिलो मात्र हुने, खेल प्रतियोगीतामा पनि पहिलो हुने विद्यालयको साथै गाउँको नाम नै उंचो राखेकी थिइन् जौमायाले । ओल्लो गाउँ पल्लो गाउँ र परपरका गाउँसम्म उनको नाम फैलिएको थियो । जौमायाजस्ती छोरी पो छोरी भनेर सबैले सह्राउँथे उनलाई ।

सबैको नजर उनी माथि थियो तर उनको नजर उनी पढ्ने बिधासदन उच्च माविकै कक्षा एघारमा पढ्ने विनयको आँखामा गएर रोकियो । उनको मन पनि विनयको मुटुमा गएर बास बस्यो । दश कक्षा पढ्दै गरेकी गुर्सिनी केटी र क्षेत्री केटाको मनको गाँठो कसिलो हुँदै गयो । विनय पनि पढ्नमा तेज थियो, खेलमा पनि उत्तिकै अब्बल थियो ।

तर के गर्नु चन्द्रमामा पनि दाग हुन्छ भनेझैं यती सानै उमेरमा उनीहरु मायामा यतीविधि चुर्लुम्म डुबे कि त्यहाँबाट उम्किन गाह्रो भयो र आज यस्तो अवस्था भयो ।

गाउँमा चाडपर्वहरुमा मेला लाग्छ । त्यो बेलामा पनि शिवरात्रीमा कर्पुटार मन्दिरमा ठूलो मेला लागेको थियो । उनीहरु दुवैजना खेलमा भाग लिएका थिए । त्यो रात ठाडो भाका हेर्ने भनेर उनीहरु सहित साथीहरु पनि त्यहीँ बसे, रमिता हेरेर । विनय र जौमाया भनें सुटुक्क मन्दिर नजिकैको मकै बारीमा गएर बसे । दुइजना यती धेरै नजिक भए कि भगवान आएर छुट्याए पनि नछुट्टिने अवस्थामा पुगे । भोली पल्ट बिहान विनयले साथीहरु साक्षी राखेर आफ्नै हातको बुढी औंला चिरेर रगतको सिन्दुरले जौमायाको सिउँदो रंग्याइदियो ।

साथीहरुको सहयोगले जौमायालाई घरमा ल्यायो विनयले । अल्लारे मोराहरु के कुरा गर्छौ यस्तो भनेर विनयकी आमाले गाली गरिन् । तर उनीहरु दुबैजनाले अब छुटिएर बाँच्न सक्दैनौं भने पछि विदेशमा भएका विनयका बालाई फोन गरे र जौमायाको माइती पनि बोलाए । गाउँलेहरु र जौमायाको माइती मिलेर सल्लाह गरे । सामान्य सिन्दुर पोते गरेर जौमायालाई विनयको घरमा भित्र्याइदिए तर उमेर नपुगेकोले अहिले नै बिहे दर्ता नगर्ने शर्तमा ।

जौमायाका बाबु कडा मिजासका थिए । त्यस डंकिनीको मुखै हेर्दिन । एउटा फूल फुट्यो फुट्यो भनेर जौमायाकी आमालाई फोनमा भने । दाजुहरुले चाँहि बहिनीलाई अति माया गर्दथे, त्यसैले बाबुलाई फकाए । त्यो बेला दाजुहरु र बाबु विदेशमा थिए ।

केही खान नरुच्ने, बढेको पेट, लजाउँदै पछ्यौरी ओढेर विद्यालय जान्थिन् जैमाया । कसैले घृणा गर्थे, कसैले माया देखाउँथे, कसैले गाली गर्थे, कसैले बिचरा भन्थे, कसैले जिस्क्याउँथे । तर मिल्ने साथीहरू सर मिसहरुले चाँहि माया र सहयोग गर्थे उनलाई । उनलाई हेरेपछि सबैको मनमा फरक–फरक भाव आउँथ्यो ।

कसैकसैले यस्तो पनि भनेको सुन्थिन् – हेर बुद्धि नपुगेर यती छिट्टै पोइ चाहिएको यस्लाई । आफ्नो गल्ती भएपछि के गर्नु ? अघि चेते चेते नहि, पछि चेते होते नही भने झैँ उनी त्यो भवसागरमा डुबिसकेकी थिइन्, जहाँबाट उम्कन अब कहिल्यै सक्दिनथिन् जौमाया ।

दश कक्षामा बडो दुःखले पढिन् र एसएलसी दिइन् । सासुको र नन्दहरुको गाली र हप्की खाँदै, घरको काम गर्दै पढे पनि एसएलसी ए प्लसमा पास भइन् जौमाया । बच्चा जन्माउँदा पनि सासुले ढोका थुनिदिएर बाहिर गइन् । उनी कोठामा एक्लैरुदै, रिङ्दै, आमा हो मरे नि भन्दै खम्बामा आड लगाएर, बल गरेर बल्लबल्ल बच्चा जन्माइन् । बच्चा रोएको आवाज आए पछि बल्ल सासु कोठाभित्र आइन् । ए कूलको छोरो जन्माउली भनेको त छोरी पो जन्माइछ यो गुर्सिनीले भनेर सासुले नाक मुख खुम्च्याउँदै चिसै पानीले बच्चालाइ नुहाइदिइन् । बच्चा जन्मँदा बगेको रगत र सालनाल आफैं सकिनसकी घिस्रिदै सफा गरिन् जौमायाले ।

हेलांको पराकाष्टा हेर्नु थियो भने त्यो बेला जौमायालाई हेरे पुग्थ्यो । सायद पशुलाई पनि त्यस्तो व्यवहार गरिदैन होला । माइतीबाट ठूली भाउजु जौमायालाइ भेट्न आइन् र नानी त धेरै कमजोर हुनु भएछ, दुव्लाउनु भएछ नि । सासुले भनिन् –‘हामीले गाउँबेसी गरेर बच्चा पायौं, यस्लाई त हाइ सन्चो छ, केही काम छैन, बसेर घिचेकी छ । कुन्नि किन दुब्लाकी हो तिम्री नन्द ? किरा फट्यांग्राले नि पाउँछ बच्चा भनेर भाउजुलाइ धरी अनेक अनेक कुरा भनिन् सासुले । यो सुनेर भाउजु लाई नमीठो लाग्यो र केही पैसा नन्दको हातमा लुकाएर थमाइदिएर रुदै घर फर्किइन् भाउजु पनि ।

बच्चाजन्मँदा जौमायाको आमा आइन् भेट्नलाई । आमाको मन मानेन र सासुलाइ सोधिन्–यो चिसो छिँडीमा किन राख्नु भएको सम्धिनी मेरी छोरीलाई ? सासुले जौमायाको आमाको मुटुमैं च्वास्स तिर हानेर भनिन् हाम्रो घरको संस्कार यस्तै हो, गुरुङको घराँ जस्तो रछ्यान झैं सरावरी गरेर राख्दैनौं हामी सुत्केरीलाई ।

हाम्रा छोराछोरी हामीले आफैं हुर्कायौं, यिनीहरुले पनि आफैं गुहुमुत धोएर हुर्काउनु पर्छ भन्दै आमालाइ सुनाइन् सासुले । सासुको कुराले मन अमिलो भएर आयो–आमा छोरीका आँखा एकै पटक रसाए । जौमायाको आमाले भन्नु भो – मेरी छोरी लैजान्छु, के भन्नु भएको सम्धिनी यस्तो कुरा ? यस्तो सुनिएको छ मेरी छोरीको ज्यान । सम्धी र ज्वाइ पनि घरमा हुनुहुन्न । भोलि मेरी छोरीलाई केही तलमाथि भयो भने राम्रो हुंदैन है सम्धिनी, होस गर्नुस् । तपाईंको बेहोरा थाहा पाए पनि घरका कसैलाई भनेको छैन । हाम्री छोरी बढी भएर तपाईंको छोरोलाई दिएको होइन । यति भनेर घर फर्किइन् जौमायाकी आमा।

आमाले ल्याएको खाने कुरा र मासु पनि चूलो जूठो हुन्छ भनेर जौमायालाइ खान नदिइ तेल लगाउने दिदीलाइ खान दिइन् सासुले । मन बसेको घर पो मन्दिर त, मन नबसेको घर त चिहान सरी हुँदो रहेछ । एकैछिनको सानो गल्तीले फूल जस्ती सुन्दर जौमायाको जूनी आज नर्कमा डुव्यो । आफ्नै कर्म र भाग्यलाइ दोष दिन्थिन् जौमाया । त्यति राम्रो पढ्ने र फुटबल खेल्ने विनय र जौमायाको जीवनले यसरी कोल्टे फेर्ला भनेर अड्कल सम्म गरेका थिएनन् होला गाउँ भरीका र चिन्ने जान्ने कसैले पनि ।

चिन्नेलाइ श्रीखण्ड, नचिन्नेलाइ खुर्पाको बिँड भनेझैँ भयो जौमायाको जीवन त्यो घरको लागि । विनय विदेशमा गएकोले बच्चा पनि अर्कैको हो भनेर लान्छना लगाएर घरबाट निकाल्न पनि अति कोसि गरे सासु र नन्दले । नातिनीलाइ हेर्दै मामा त साख्यै हुन्छ रे, बुबा त साख्यै हो कि होइन आमालाई सोधेर था हुन्छ भन्थिन् सासुले । हेर्नु न आमा हाम्रो घरको कसैसँग मिल्दैन भदैनीको अनुहार भनेर उचाल्थे आमालाई पनि नन्दहरुले । सुहाना काटीकुटी उसकै बाको अनुहारकी छ भनेर गाउँलेले भन्थे ।

कपडा धुने र नुहाउने साबुनपनि लुकाएर राख्थिन् सासुले । पँधेरामा पानी लिन र कपडा धुन जाँदा सासु र नन्दको बेहोरा थाहा पाएका केही गाउँलेहरुले उनलाइ सोध्दथे– यस्ती चण्डाल्नी, दश जिब्रे सासु भएको घरमा तिमी कसरी टिकेकी छौ नानी ? गुरुङकी छोरी अति सोझी, अती ज्ञानी । उनी फिस्स हाँसी मात्र रहन्थिन्, तर मनभित्र पीडाको पानी भकभक उम्लन्थ्यो ।

उनले घरको बारेमा पँधेरामा र गाउँमा केहीकुरा गर्दैनथिन् तर सासु र नन्दहरुले कसैसँग उनी बोलेको देखे भने घरको कुराकाटी भनेर पिट्न सम्म झम्टन्थे जौमायालाई । सानै उमेरकी भए पनि सहनशीलताकी प्रतिमूर्ति नै थिइन् जौमाया ।

उनी भित्रभित्रै कुँडिएर रुन्थिन् । कागको हुलमा बकुल्लो । बोली बिक्ने ठाउँमा पो बोल्नु । माइतीमा कसरी भन्नु यस्तो कुरा । माइतीको मन तोडेर विनयसँग आउनाले आज यस्तो हालत भएको छ । कस्लाई पोख्ने मनको बह ? जौमाया आफैं भित्र उकुसमुकुस हुन्थिन्, रून्थिन्, कराउथिन्, चिच्याउँथिन् तर विदेशमा भएको विनयलाइ पिर पर्छ भनेर सुनाउंदैनथिन् यस्तो दुःख । तर विनयले आफ्नी आमाको बानी बुझेकोले जौमायालाई केही पैसा हरेक महिना आइएमइ गर्न थालेको थियो ।

तीजको दिनमा जौमायाले रातो सारी, गलामा रातो र हरियो पोते झपक्क लगाइन्, सारीले घुम्टो ओढेर मनमनैं लजाइन् । मन्दिर गइन्, नाचगान गरिन् । उनलाई हातभरी चुरा लगाउन अतिमन पर्दथ्यो । तीजको बजारमा राता बुट्टे चुरा किनेर हातभरी लगाइन् । पोतेको झुत्तो, राता टिकाका पत्ता पनि किनिन् । सासुको लागि पनि टिका, चुरा र पोते, नन्दहरुको लागि काँटा किनिन् र बुबाले विदेशबाट पठाएको चट्ट परेको हाते झोलामा राखिन् ।

जौमाया गाउँले दिदीबहिनीहरुसँगै रमाउदै, गीत गाउदै घर फर्किइन् । घर पुगेर अब विनय आएपछि झ्याइँ झ्याइँ बाजा बजाएर बिहे हुने दिनको कल्पना गर्दै कपडा फेर्दा पनि ऐनामा हेरिन् र मुस्कुराइन् । यता जौमाया भोलि त विनयलाइ लिन काठमाण्डौ जाने हो भन्ने सोचेर मनमनैं पुलकित हुँदै कपडा फेरिन् ।

त्यो दिन पनि उनको पछाडि मान्छे लगाएर उनको चरित्र हत्या गराउन खोजेका थिएसासु र नन्दहरुले । त्यो भ्रामक खबर विदेशमा विनय र ससुरा टेक बहादुरको कानसम्म पुर्याएकी थिइन् सासुले फोनबाट । नेपाल आउने उत्साहले सपिङ मलमा सामान किन्दै थिए बाबुछोरा । अचानक बेहोस भएर ढलेको विनय अब कहिल्यै ब्यूंतिएन ।

हस्पिटल लगेर पोष्टमार्टम गर्दा पनि केही रोग देखिएन, सामान्य मृत्यू भनेर रिपोर्ट आयो । सायद भगवान पनि उनीहरुले बुहारी माथि गरेको कुकृत्यबाट आत्तिएका थिए कि । उनीहरुकै कडा परीक्षा लिए भगवानले र उनीहरु परीक्षामा विफल भए । अति गर्नु अत्याचार नगर्नु, पापैपापको घडा उल्टै उनीहरुमाथि नैं पोखियो ।

जून घरमा नारीको सम्मान हुंदैन, त्यो घर बर्वाद हुन्छ भनेको सांचो रहेछ । त्यो घर स्वर्ग होइन नर्क समान हुदो रहेछ । अचानक फोनमा यस्तो खवर सुनेर उनी लत्र्याकलुत्रुक भइन् र अर्धचेत भइन्। दुखद खवर गाउँभरी आगो जसरी फैलिइसकेछ, उनले पनि बेहोसीमै क–कसलाइ फोन गरिन् थाहा छैन । तुरुन्तै गाउँमा गाडी रिजर्भ गरेर केही आफन्तहरु उनको परिवार लिएर एयरपोर्ट पुगे । एयरपोर्टमा अरू पनि आफन्तको लासको कफिन बुझेर हेरेर अंगालो मार्दै रोइरहेका थिए । जौमाया र उनकी सासुको रूवाइको क्रन्दन देख्नेहरुको पनि त्यहाँ आँखा ओभाना थिएनन् ।

यस्तो कारुणिक दृष्य देखेर मन कस्को नरोला र । आंखाबाट आंशु कस्को नझर्ला र । विनयका बुबाले विदेशबाट आफ्नै छोरालाई काठको बाकसमा लिएर स्वदेश फर्कंदा बाबु मन कस्तो भयो होला ? एक्लो छोराको आफ्नैं हातले दागबत्ती दिँदादिँदै बेहोस भए उनी । छोराको सुख र खुसी भन्दा ठूलो सम्पत्ति भन्ने सोचेकी विनयकी आमाको आफ्नो एक मात्र छोरा गुमेपछि घैंटामा घाम लाग्लाकि नलाग्ला हँ ?

सबैकुराको जवाफ समयले दिंदो रहेछ । के कारणले विनयको ज्यान गयो, यो रहस्यको पर्दा खुलेको छैन आजसम्म पनि । जौमायाको शिरबाट सिन्दुर पखालिदिए, शरीरबाट रातो रंगका कपडाहरु, पोते काडिदिए र नदिमा बगाइदिए अनि सेतो कपडा लगाइदिए । जौमायाले हिजो मात्रै हातभरी लगाएका राता चुरा झड्याम झड्याम फुटेको आवाज कानले सुन्नैं नसक्ने गरी आयो र एकैछिनमा बागमतीको पानीको आवाजसँगै मिसिएर गयो ।

बस् चारैतिर शुन्यता, चारैतिर शुन्यता, चारैतिर शुन्यता । के–के सोच्यो तर के–के हुंदो रहेछ यो जिन्दगी । कसैले अनुमान लगाउन नसकिने खेल रहेछ यो जिन्दगी । बागमती मसानघाटको छेउमा विनयको शरीर चितामाथि आगोले दनदनी जलेर धुवाँ र खरानी भइरह्यो । बिना आगो जल्दै र छट्पटिँदै वियोगको पीडाले अर्धचेत भएकी जौमायाको मुखबाट आवाज निस्किइरह्यो– नाइ नाइ नाइ‘.मलाइ एक्लै छोडेर नजाउ ‘. विनय विनय विनय  ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो