नेपालबाट आतंकवादी आक्रमणको खतरा देखाउँदै बिहारका सबै जिल्लामा हाइअलर्ट !

डिसी नेपाल
१५ असार २०७७ ११:४४

काठमाडौं। बिहारमा आतंकवादी घुसपैठको खतरालाई मध्यनजर गर्दै स्पेशल ब्रान्चले राज्यका सबै जिल्लामा हाइअलर्ट जारी गरेको बताइएको छ । समाचार एजेन्सी एएनआइको रिपोर्ट अनुसार तालिबान र जैश-ए-मोहम्मदका आतंकवादी नेपाल सीमाबाट बिहार प्रवेश गर्न सक्ने खतरा देखाइएको छ । पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले ५ देखि ६ जना आतंकवादीलाई पठाउने योजना बनाएको रिपोर्टमा दावी गरिएको छ । यी आतंकवादीलाई पाकिस्तानी सेनाले प्रशिक्षित गरेको पनि दावी गरिएको छ ।

पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा तनाव बढेको छ । यससँगै भारतमा नेपालविरुद्ध प्रोपोगाण्डा फैलाउन सुरु भएको छ । हिजो मात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न आदेश दिएका थिए । उत्तर प्रदेशसँगै बिहारले पनि हाइअलर्ट जारी गर्नुलाई नेपाललाई समस्यामा पार्ने नियतको रुपमा लिइएको छ । नेपालमा सबैभन्दा धेरै सामान बिहार–नेपाल सीमाबाट आउँछ । त्यसपछि सबैभन्दा धेरै आयात हुने उत्तर प्रदेशसँग जोडिएका नाकाबाट हो ।

भारतका नेपालसँग जोडिएका प्रदेशले यस्तो गर्नुलाई भोलि नाकाबन्दी लगाउने बाटो सहज गर्न खोजेको रुपमा पनि विश्लेषण गरिएको छ । अहिले आतंकवादी आक्रमणको आशंकाको नाममा हाइअलर्ट जारी गरिएपछि भविष्यमा नाकाबन्दीका लागि बलियो विकल्प हुने रुपमा भारतले अलर्ट जारी गरेको हुन सक्ने आशंका गरिएको छ । भारतले नेपाललाई समस्यामा पार्न सबैभन्दा बलियो हतियारको रुपमा नाकाबन्दीलाई प्रयोग गर्दै आएको छ ।

रिपोर्टमा दावी गरिएअनुसार भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को कन्ट्रोल रुममा एक धम्कीपूर्ण इमेल आएको छ जसमा गृहमन्त्री अमित शाह र भाजपाका अन्य नेताहरुलाई आतंकवादीको हिट लिस्टमा रहेको भनिएको छ । स्पेशल ब्रान्चको तर्फबाट जारी गरिएको आइअलर्टमा कश्मिरी आतंकवादीहरु जैश-ए-मोहम्मद, अल कायदा जस्ता संगठन, पाकिस्तान, तालिबान र अफगानिस्तानका मुस्लिम कट्टरपन्थीको गतिविधिमा निगरानी गर्न भनिएको छ ।

हाइअलर्टमा इस्लामिक आतंकवादी संगठनहरु, लेफ्ट विंगका उग्रवादीहरु, पूर्वोत्तरका विद्रोही संगठनहरु र जुन भीभीआइपीहरुलाई खतरा हुन सक्छ उनीहरुमाथि निगरानी गर्न भनिएको छ । कुनै पनि क्षेत्रमा भीभीआइपीको भ्रमण पूरा हुँदासम्म आफ्नो इलाकामा गिरानी राख्न पनि भनिएको छ । धम्कीपूर्ण पत्र पठाउने र भीभीआइपी लोकेसनको आसपास संदिग्ध स्तिथिहरुमा घुम्नेहरुमाथि पनि निगरानी गर्न भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *