वालुवाटार जग्गा खरिदमा आफ्नो संलग्नता नरहेको एनआरएनए पूर्वअध्यक्ष भट्टको स्पष्टीकरण

डिसी नेपाल
१६ असार २०७७ १३:२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले संघको मुख्यालय रहेको बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा खरिद प्रक्रियामा आफ्नो कुनै पनि संग्लनता नरहेको सफाइ दिएका छन् । एउटा भर्चुअल अन्तर्वार्तामा पूर्वअध्यक्ष भट्टले कार्यालय भवन आफूले नेतृत्व गरेर निर्माण गरेको तर जग्गा खरिद प्रक्रियामा आफू संलग्न नभएको बताएका हुन् ।

भट्टले एनआरएनए भवन निर्माणका लागि जग्गा खरिद गर्दा आफूले कुनै पनि दलालसँग नभेटेको दावी समेत गरेका छन् । उनले भवन निर्माण गर्नुअघि विभिन्न जग्गा दलालसँग भेट गरेको आरोप निराधार भएको बताए। ‘जग्गा कोसँग खरिद गरिएको हो, कोसँग डिल भएको त्यसबारे मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘ठेकेदारसमेत मैले डिल गरेको व्यक्ति होइन । भएको जग्गामा भवन मात्र मैले बनाएको हुँ । अनावश्यक विवादमा मेरो नाम किन जोडिन्छ, मैले बुझ्न सकेको छैन ।’ उनले जग्गा विवादमा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाए ।

उनी अगाडि भन्छन–‘जो सोझो उसैको मुखमा घोचो, जग्गा बैना भइसकेपछि मेरो संयोजकत्वमा कमिटी बनेको हो, त्यो कमिटीले पास गर्नुपर्ने प्रावधान राखिएको रहेछ’ उनले भने ‘भुक्ने कुकुरले टोक्दैन, तिनीहरु आफूभित्रको डर लुकाउन भुकेका मात्र हुन् । मैले समाजका लागि सच्चा काम गरेको छु, त्यसैले मलाई कुनै डर छैन । व्यक्तिगत फाइदाका लागि मैले व्यापार व्यवसाय गरेको छु ।’

एनआरएनएको भवन निर्माणका लागि जग्गा खरिद गर्दा शेष घले अध्यक्ष र भवन भट्ट उपाध्यक्ष थिए । भट्टकै संयोजकत्वमा भवन निर्माणका लागि जग्गा खरिद समिति गठन गरिएको थियो । संघले उक्त जग्गा १२ करोड ७२ लाख रुपैयाँमा खरिद गरेको थियो । तीन रोपनी एक आना क्षेत्रफलको जग्गामा संघको भवन बनिसकेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *