भिक्षा पात्र (कथा)

डिसी नेपाल
२० असार २०७७ ८:३०

तृष्णाका गह्रौं पाइला बगलामुखी मन्दिरतिर लम्कँदै छन् तर जिउ भारी छ, मुटुको ढुकढुकी बढिरहेछ एकनास ।

‘आज पनि सधैंझैं नै हुनेछ’, उसलाई लागिरहेको छ, ‘उस्तै र उही प्रक्रिया दोहोरिनेछ— देखिनेछे, बोल्नेछे, थोरै हाँसेजस्तो गर्नेछे अथवा नारी सुलभ मुस्कुराउनेछे, थोरै लजाएजस्तो गरी टाउको निहुराउनेछे ।’ सधैं यस्तै गर्थी ऊ, गर्दै आएकी पनि छ ।

उसलाई सधैंजसो गर्दै आएका यी क्रियाकलापदेखि डर छैन, असहज लाग्दैन । ऊ अभ्यस्त छे यी क्रियाकलाप गर्न तर पनि उसका पाइलामा सधैंभन्दा बढी कम्पन उत्पन्न भएको छ; टाउको त हिजै साँझदेखि भारी थियो । बाध्यता छ, जे भए पनि ऊ जानै पर्छ बगलामुखी मन्दिरपरिसरमा खुब सावधानीपूर्वक ।
पूजा गर्न, धार्मिक सहिष्णुता र आस्थाले सतृष्ण नभई बिनाउत्साह परिचालित भई ऊ ।

‘सधैंझैं प्रक्रिया दोहोरिनेछ आज पनि । हातलागे शून्य’, आत्माले भविष्यवाणी गर्यो विगतझैं— लुगा लगाऊ छानेर उत्ताउलो नदेखिने गरी, कपाल कोर तेल लगाएर अनि सीमान्त उचाइभन्दा धेरै तल रहेर शृङ्गार गर । तोकिएको ठाउँमा पुग र त्यही मात्र गर, जेजे आपूmभन्दा ठुलाले अराउँछन् । लामो समयदेखि यसै गर्दै आएकी छे ऊ ।

आखिर जति नै सतर्क र सचेत भए पनि उसले त्यही सुन्नुपर्छ— ‘हुँदैन, अहिले विचार छैन, केही दिन सोचौंला; होची, अग्ली, मोटी, दुब्ली, अनुहारमा दाग; छोरी धेरै, घर नराम्रो, आफन्त कोही भन्सारमा नभएका, चिया खाने कप नभई गिलास त्यो पनि आकार नमिलेका, बैठकको सजावट….।’ छुट्टाछुट्टै मानवीय आकृतिको भिन्नाभिन्नै दृष्टिकोण । क्रिया–प्रतिक्रिया जेजस्ता आए पनि परिवारको अभिलाषा पूरा गर्न तृष्णा आपूmलाई बेपर्बाह त्यसरी नै ढाल्दै गई । जेजे र जसोेजसो भन्छन्, त्यही गर्दै गई ।

स्नातकोत्तर सकेपछि जागिर खाने रहर थियो उसको । अध्ययन सकी तर जागिर खाने रहरचाहिँ पूरा भएन ।

“छोरीमान्छेले जागिर खान परेको छैन । पढिस्, भइहाल्यो । अरुले कमाएर ल्याएको राम्रोसँग पकाएर खान दिने, पाहुनापाछाको राम्रो सत्कार गर्ने, घरआँगन सफा राख्ने, श्रीमान्को स्याहारसुसार, सासूससुरा, नन्दआमाजूको मानमनितो….। जीवन चलाउनै पर्छ, अब बिहे गर्ने ।” परिवारको दबाब थियो ।

‘के, नारीलाई स्वतन्त्रताको हक छैन ? जति नै शिक्षित भए पनि किन हामी सधैं वस्तुको रुपमा किनबेच हुन्छौं ? अनावृत्त आवरणमा च्यापिनुपर्ने सधैं ? मन परे दुई पैसाको सिँदुरमा किनेर लान्छन्, नपरे छोड्छन् ।

कतिन्जेल तराजुमा अस्तित्व तौलिएको हेरेर बस्ने ? आफूखुसी मैले कुनै जागिर खान पाउँदिनँ ? आत्मनिर्भरताका लागि परिवारसँग विद्रोह किन नगरुँ ? इच्छाहरुलाई कतिन्जेल निमोठिरहूँ ?’ आत्मबलसँगै आएका यस्ता सोच बाहिर निस्कन दिएन परम्परावादी संस्कारले ।

‘छोरीमान्छे कम बोल, लोग्ने, घरपरिवारका अरुले भनेको मान र उनीहरुलाई कहिल्यै अपमान नगर’ —यस्तै अर्ती र उपदेशको थाक, संस्कार अनि मान्यताको सीमोल्लङ्घन गर्न कसरी सक्थी ? त्यसैले बिहे गर्न राजी भई ।

स्नातक तेस्रो वर्षमा अध्ययनरत थिई । अपरिचित आकृति देखा प¥यो एक दिन कक्षामा । अगिल्लो साँझ उसको बिहेको कुरा चलेको थियो । अन्तरआत्मामा भय भए पनि साथीहरुबीच प्रसङ्गवश उठेका सवालमा स्वाभाविक प्रतिक्रिया जनाउँदै गई । घर पुगी । सोेधखोज भयो ।
“कलेजमा कोही नयाँ मान्छे देखिस् ?”

“अँ, देखें ।”

“कस्तो थियो ?”

“थाहा छैन ।”

“देखिनस् ?”

“देखें तर ख्याल गरिनँ । कलेजमा धेरै मान्छे आउँछन् । कति जनाको ख्याल गर्नु ?”

“ए ! राम्रै भयो । छोरीमान्छेले शिर ठाडो गरेर लोग्नेमान्छेको अनुहार हेर्नु हुन्न पनि ।” आमाको कडा विचार थियो । उत्साहपूर्वक घरमा सबैले चर्चा गर्न थाले बिहेको— “‘एमए’ पढेको रे, के हो सरकारी जागिर पनि खान्छ रे, निकै असल छ घरपरिवार….” तर उसलाई भने पटक्कै मन परेको होइन— ‘खै कहाँ के नमिलेको नमिलेको ।

त्यसले मात्रै मन पराएर हुन्छ त ? मैले मन पराउनु पर्दैन ? नाइँ, गर्दिनँ म त त्योसँग बिहे । छ्या… त्यस्तोसँग पनि…।’ बिस्तारै उसलाई त्यो अपरिचित मान्छेप्रति घृणा उत्पन्न हुँदै गयो । एक सातापछि थाहा भयो, ‘हुन्न रे, मन परेन रे उसलाई तृष्णा ।’

‘किन ?’

‘उत्ताउली, बढी हाँस्ने ।’

तृष्णाको हर्षको उछ्वास पुलकित भयो । आपूmलाई स्वतन्त्र भएको महसुस गरी उसले— खुला, एकदमै खुला, स्वतन्त्र, भर्खरै जेलबाट छुटेको कैदीझैं । न हातमा हतकडी न खुट्टामा नेल तर घरमा सबैले उसलाई गाली गर्न थाले— ‘यत्तिका गाली गर्दागर्दै, सम्झाउँदा सम्झाउँदै उत्ताउली हुनुपर्ने, धेरै हाँस्नुपर्ने, खुरू खुरू पढेर आउनु नि, किन इत्तरिनु ?’ १५ दिन उसलाई कलेज जान दिइएन ।
क्रम उही थियो, दोहोरियो । प्रतिक्रिया आयो— ‘बोल्दै नबोल्ने, घोसे रहिछ ।’

फेरि घरमा रडाको मच्चिन थाल्यो— ‘दुई दुईवटा सुपुत्र गुमे !

‘के गर्ने ? बोल्ने वा नबोल्ने ? हाँस्ने वा रूने ? केही गर्दा सुख छैन !’ तृष्णा आफैसित रिसाउन थाली । निसासिन थाली मनभित्र खेलेका तर्कनाहरुबाट । रात–दिन एउटै लाग्न थाल्यो, उज्यालो–अध्याँरो, आराम–थकान, हाँसो–खुसी सबै एकनास तर यो निस्सन्दिग्ध अवस्थाबाट पार हुने सम्भावना थिएन । परिवारलाई उसको बिहे गर्नुपर्ने अभिभारा झनै टड्कारो बन्दै गयो । त्यसैले रोकिएन हेर्नेहरुको भिड— कालो, गोरो, अग्लो, होचो, रोजगार, बेरोजगार, धनी, घरानिया, डाक्टर, इन्जिनियर….., वर्ग छुट्ट्याउनै कठिन ।

लामो समयदेखिको पारिवारिक इच्छा सायद अब पूरा हुन लाग्यो । ऊ कलेजबाट भर्खरै घर फर्केकी थिई । सँघारमा पाइला राख्न नपाउँदै उसले नदेख्नुपर्ने देखी, नहेर्नुपर्ने उसका आँखाले हेरे तिनै आँखालाई । ऊ डराई, जघन्य अपराध गरेझैं । दुवै गालाबाट रगत चुहिएलाजस्तो भयो । जाडोको समय भए पनि असिनपसिन भई ऊ ।

सम्झी, फेरि उसलाई परिवारले गाली गर्नेछ, त्यो नजरले विश्लेषण गर्नेछ अर्को नयाँ कोणबाट, एउटै लेखलाई समालोचकहरुले फरकफरक दृष्टिकोणबाट विवेचना गरेझैं । ‘को हुँ म ? मेरो अस्तित्व ? किन सधैं मलाई बिक्रीका लागि रत्नपार्कमा राखिएको सामान बनाइन्छ ? मानवीय अस्तित्व छ भन्ने किन ठान्दैनन् मान्छेहरु ?

केवल पुरूषका लागि खेलौना, पसलमा राखिएको सामान, जसले पनि खरिद गर्न सक्ने, छानीछानी, तौलीतौली ! के नारी हुनुमै आफ्ना सबै इच्छा–अभिलाषालाई तिलाञ्जली दिनुपर्ने ? साध्यका लागि साधन मात्र ?’ पीडित अस्तित्वको चलायमान भावना आखिर जहाँ पुगे पनि सत्य र यथार्थ तितै थियो । आफ्नै कोठाबाट कान थापेर सुनिरही उसले त्यो नजरको प्रतिक्रिया ।

“नानीले केही काम पनि गरेकी छन् कि ?”

“अहँ, छैनन् ।” बुबाले भने ।

“पढाइ मात्र ठुलो मानिँदैन, सँगै त्यसको अभ्यास पनि भए राम्रो” बुबा केही बोलेका थिएनन्, उसैले भन्यो, “हिजोआजका महिलाहरु अनुजीवी होइन, स्वनिर्भर हुन चाहन्छन्, पहिलाजस्तो पुरूषको आम्दानीमा उनीहरु रमाउन सक्तैनन् । त्यसैले उनीहरुले चाहेको, खोजेको वातावरण दिन सक्यो भने सुखद दाम्पत्य जीवन प्राप्त गर्न सकिन्छ, परिवार सुखी हुन्छ ।”

ऊ झ्यालको सानो चरबाट देखिरहेकी थिई— टाउको निहुराएका बुबाको अनुहार रातो भयो, आमाको अनुहार सोहोरिएको र दाजुको अनुहार नैराश्यले भरिपूर्ण । बुबाले केही बोल्न नपाउँदै फेरि उसैले थप्यो, “हुन त नानी असल छिन्, पढाइ राम्रो रहेछ, केही काम पनि गरेकी भए सुनमा सुगन्ध हुन्थ्यो ।

त्यसो त पछि काममा लगाए पनि हुन्थ्यो तर कामको अनुभव गरिसकेका महिलाहरु बढी व्यावहारिक हुन्छन् । नानीलाई अब कुनै राम्रो काम खोजेर लगाउँदा हुन्छ नि । मेरो सल्लाह मात्रै हो । पछि अरु राम्रो अवसर मिल्न सक्छ । यस सम्बन्धमा मेरो निर्णय तपाईंहरुको इच्छाविपरीत पनि हुन सक्छ । त्यसैले चित्त नदुखाउनुहोला ।”

आफ्ना कुरा एकोहोरो भनिसकेर सँगै आएका बाबु, काकासँगै बिदाइको अविवादन लिएर ऊ बाहिरियो । वातावरण निकैबेरसम्म शान्त र स्तब्ध रह्यो । टाउको उठाएर बोल्ने आँट थिएन कसैमा । त्यसपछि झन्डै २–३ महिना बिहेको प्रसङ्ग उठेन ।

पछि थाहा पाई उसले— इन्जिनियरको नजर रहेछ त्यो । ‘कस्तो उच्च विचार ! वास्तवमा आदर्श व्यक्ति हो ऊ, उदार भावना सम्पूर्ण महिलाप्रति, समयको माग बुझेको । उच्च स्थानमा पुगेकाहरु सबै त्यस्तै होलान् ? अहँ, होइन, ऊ हजारौंमा एक ।

अलौकिक मानवअस्तित्व, सरल व्यक्तित्व उच्च विचार, जसमा पुरूषत्वको अहम् पटक्कै छैन । एकै पटक मात्र बोल्न पाएको भए ? तर होइन, मेरो बोली झन् उसलाई झर्को लाग्न पनि त सक्थ्यो, नबोलेकै ठीक । ऊसँग साक्षात्कार हुने महिलाको आगत ? आहा ! क्या सुख, क्या आनन्द, मायालु र दयालु पनि उत्तिकै होलाजस्तो छ । कस्तो नरम र मिठो शैलीमा बोलेको थियो ऊ ।’

तृष्णाको मस्तिष्कमा त्यही आकृति नाचिरहन्थ्यो । हो, त्यही इन्जिनियरको आकृति— त्यही अहम्बिनाको मान्छे । त्यही सँघारमा जुधेका नजर अनि झ्यालको चरबाट कान थापेर सुनेका शब्दहरु ।

रात बित्यो, दिन ढल्यो । क्रम जारी नै रह्यो । बिपनामा विस्मृत त्यो घटना सपनामा सञ्चारित हुने गथ्र्यो सधैंजसो । उही आकृति आउँथ्यो नजिक, बोल्दैनथ्यो, कुरा गर्न नपाउँदै फेरि टाढिन्थ्यो । हो, बिपनामा दृष्टिबाहिर रहेको त्यो प्रतिबिम्ब सपनामा सधैं ढोकाको सँघारमा देखा पथ्र्यो र क्षणभरमै विलीन हुन्थ्यो ।

हजारौंले तौलेका थिए उसलाई तर तौलने उसको प्रक्रिया फरक थियो । उसले पनि नतौलेको त होइन तर उसको शैली मन प¥यो तृष्णालाई । गाली त तितै हो तर मिठो खाले तितो— ‘नमिठो अनुभूति र तितो सत्यमा पनि सहानुभूति ? अनि शुषुप्त माया ?

को हो ? किन म उसबारे यति धेरै सोच्ने गर्छु ? नचाहेरै र नसम्झेरै पनि कताकता कोप्छ उसको सम्झनाले चसक्क मलाई । आखिर मेरा ग्राहकहरुमध्येकै एउटा ग्राहक, जसले तौलेर छोड्यो । ऊ मेरो शुभचिन्तक, मित्र कसरी बन्न सक्छ ? उसो भए यो उसैको सम्झना सञ्चार किन ?’

विचारहरुको द्वन्द्व समाप्त भएका थिएनन् तर ऊ मन्दिर पुगिसकेकी थिई— दिदी, बुबा अनि दाजुसँगै ।

मन्दिरभित्र पूजा गरेर बाहिर निस्किई । एउटा ग्राहक थियो मन्दिरपरिसरमा । केही पर गएर ऊ उभिई दिदीसँगै । केही समयपछि एउटा पुरूष आवाज कानमा ठोक्कियो— “अहिले जाऔं, उहाँहरुले दुई–तीन दिनपछि खबर गर्नुहुन्छ रे ।” सायद कौतुक आवाज हुनुपर्छ । ऊ फेरि एक पटक झस्किई ।

फेरि मस्तिष्कमा सञ्चार भए विगतका घटना, जो आगत लाग्छ उसलाई । फेरि एक पटक च्यापिन्छे ऊ विगत र आगतबीच— थिचिन्छे, अचेटिन्छे । केहीबेरअगि मन्दिरभित्र बिताएको क्षण थोरै भए पनि शान्तिपूर्ण थियो । अहिले फेरि उही अशान्त र आक्रान्त परिस्थिति । नैराश्यले भरिएका चार आकृति घर फर्कन्छन् ।

“यदि उताबाट ‘हुन्छ’ भने भने तैंले बिहे गर्नुपर्छ ।” आमाको आवाजले कोठा प्रवेश गर्छ ।

“गर्दिनँ ।”

“किन ?”

“मलाई मन परेन ।”

“बुढी भइसक्ता पनि अझै रोजेर बस्ने ?” आक्रोश थियो आमाको आवाजमा ।

“किन ? केटाले मन नपराउन हुने, मैले नहुने ? थाहा छ तपाईंलाई, मलाई कति जनाले मन पराएनन् ? त्यतिबेला मेरो मन पराइले सार्थकता पायो ?” थाहै नपाई उसको अन्तरमनको पीडा फुस्कियो । चारै आँखामा आँसु भरिए । जबाफमा आमासँग कुनै शब्द थिएन ।

एकैछिनको मौनतापछि केही नबोली आमा कोठाबाट बाहिरिइन् । आखिर उही भयो, जुन तृष्णाले सोच्तै आएकी थिई । परिवारले फेरि एक पटक मौनताको खास्टो ओढ्यो । मानिसलाई पनि सामानभैmँ मूल्याङ्कन गर्ने ग्राहक सङ्ख्यामा वृद्धि भयो तर पीडामा कमी भएन । तृष्णाको पीडादायक बिपनामा एक अंश शान्ति मिल्थ्यो त्यतिबेला, जतिबेला उत्तमोत्तम, उदार व्यक्तित्वसँगको साक्षात्कार हुन्थ्यो, केवल सपनामा ।

अनि सूर्योदयसँगै फेरि उसको मनमा त्यही आकृतिप्रति सहानुभूति जाग्थ्यो । ऊ नचाहेरै पनि सोच्न बाध्य हुन्थी— क्रम उही छ । रत्नपार्कमा सामान किन्न आउने ग्राहकको भिड घटेको छैन । ऊ सोचिरहेकी छे ‘एउटै ग्राहक एउटै पसलमा दुई पटक आइदिए कस्तो हुन्थ्यो !’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *