सार्वजनिक यातायात संचालन गर्न सर्वसाधारणकाे माग

डिसी नेपाल
२० असार २०७७ ८:४८

काठमाडौं। सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएसँग सर्वसाधारणले सार्वजनिक यातायात सुचारु गर्न माग गरेका छन्। लकडाउन खुकुलो भएसँगै कार्यालय, अस्पताल जस्ता अन्य महत्वपूर्ण स्थानमा आवतजावत गर्न कठिन भएको भन्दै सार्वजनिक यातायात सुचारु गर्न सर्वसाधारणले सरकारसँग आग्रह गरेका हुन्।

डब्ल्यूएनओको मापदण्ड पूरा गरेर सवारी साधन संचालन गर्नुपर्नेमा सर्वसाधारणले जोड दिएका छन्। निजी सवारी साधन हुनेलाई मात्र सरकारले ध्यान दिएको तर सर्वसाधारणको हकमा कुनै पनि काम नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।

विशेष कामले टेकूदेखि कोटेश्वर पैदल हिँड्दै गरेकी स्वस्तिका तिमिल्सिना भन्छिन्। ‘मलाइ कोटेश्वर नपुगी नहुने छ, यस्तो सकस दिनुभन्दा त केही व्यवस्था गरेर सार्वजनिक यातायात संचालन गरिदिनु पर्छ। सम्बन्धित निकायले सर्वसाधारणको समस्याका बारेमा पनि ध्यान दिनुपर्छ।’

उपत्यकामा कार्यालय खुलेसँगै कर्मचारीलाई आवतजावतमा समस्या भएको छ। बसुन्धारा बस्दै आएकी पूजा रिमाल भन्छिन्, ‘मेरो कार्यालय अनामनगरमा छ। दुई विकल्प कि जागिर छोड्नुपर्यो कि जसरी पनि पुग्नै पर्यो। हामीलाई कतिसम्म समस्या छ त्यो राज्यले किन बुझ्दैन। सार्वजनिक यातायात खुलाउनुपर्छ।’

सामान्य फुटफाटमा व्यापार गर्ने व्यापारीको पनि गुनासो उस्तै छ। कुपोन्डोलमा मकै बेच्दै जीवन निर्वाह गर्ने सन्जिवनी तिमल्सिना भन्छिन्, ‘बिहान मकै लिन कालिमाटी हिडेर जानुपर्छ फेरि भारी बोकेर हिँडेरै आउनुपर्छ। निजी यातायात संचालन गर्न मिल्ने, सार्वजनिक यातयात संचालन गर्न किन नमिल्ने?’

धादिङ घर भएका संजय राईको पनि भनाइ उस्तै छ। उनले भने, ‘लामो समय भैसक्यो अब बन्द होइन विकल्प खोज्नुपर्छ। खै कस्तो तयारी छ सम्बन्धित निकायको तर सार्वजनिक यातायात खोलिनुपर्छ।’ उनले थपे, ‘मेरो काम हुन्छ म प्रत्यक दिन सितापाइलादेखि बागबजार हिँडेर जान्छु।’

नुवाकोट घर भइ माछापोखरी बस्दै आएकी बसन्त तिवारी भन्छन, ‘कसैलाई दिनदिन हस्पिटल धाउनु छ। म आफैंलाई समस्या छ। कार्यालय पनि खुलिसके। सार्वजनिक यातायात खोलिनुपर्छ। कुनै विकल्प निकालेर योजनाबद्ध तरिकाले संचालन गर्न सकिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *